त्रिभुवन विश्वविद्यालयको क्यान्टिनको खाना असुद्ध



काठमाडौ । नेपालकै जेठो त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस र केन्द्रीय कार्यालय परिसरका क्यान्टिन तथा क्याफ्टेरियाका खानेकुरा नै अस्वस्थ भएपछि देशका अन्य कुन निकायमा सुद्धता पाईएला ?

गत जुलाइ महिनामा गरिएको खाद्य स्वच्छता सम्बन्धी अनुसन्धानको रिपोर्ट मंगलबार त्रिवि परिसरमा सार्वजनिक गरिएको थियो । रिपोर्टमा क्याफ्टेरिया तथा क्यान्टिनमा रहेका फ्रिजमा साल्मोनेला तथा लिस्टेरिया जस्ता फुड पोइजन समेत गराउन सक्ने ब्याक्टेरिया भेटिएकोछ । खाद्य सुरक्षा सम्बन्धी क्यान्टिन संचालकलाई ज्ञान समेत नभएको पाईएको रिपोर्टमा उल्लेख गरिएकोछ । त्रिवि परिसरमा रहेका ६ वटा क्यान्टिन तथा क्याफ्टेरियाहरु मध्ये एउटा क्यान्टिनमा मात्र खाद्यान्न बनाउँन प्रयोग गर्ने तेल मापदण्ड अनुरुप भएको रिपोर्टमा उल्लेख गरिएकोछ ।

रिपोर्ट सार्वजनिक गर्नेक्रममा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलुवाईले विभागले फुड हाइजिन र सेफ्टीबारे तालिम दिने गरिएको र यो तालिम विश्वविद्यालयका क्यान्टिनमा पनि दिन सकिने बताउँनुभयो । नेपालका खाद्य बजारमा १५ प्रतिशत अखाद्य पदार्थ भेटिने गरेको उहाँले बताउँनुभयो ।

उहाँले क्यान्टिन संचालनका लागि करार सम्झौता गर्दा नै फुड तथा हाइजिनको बुँदा राख्न समेत सुझाव दिनुभयो । खाद्य ऐन २०२३ संशोधनमा उल्लेख भए अनुसार अखाद्य मिसावट गरि विक्री वितरण गर्नेलाई पाँच बर्ष सम्म कैद वा पचास हजार सम्म जरिवाना दुबै सजाय हुने व्यवस्था रहेकोछ ।

त्रिवि केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख प्राडा ध्यानेन्द्र बहादुर राईले पुर्वाधार धेरै कमजोर भएका क्यान्टिनलाई क्रमिक रुपमा सुधार गर्ने र एउटा त्रिविकै नयाँ संरचना बनाउने कार्यक्रम रहेको जानकारी गराउँनुभयो ।

होलिस्टिक हाइजिनका कार्यकारी निर्देशक तथा कार्यपत्र प्रस्तुतकर्ता अशिम सिक्देलले उदेश्य पूर्ण नमूना छनौट विधिबाट ६ वटा नमुना क्यान्टिन छनोट गरी खान तयार भएका तथा भण्डारण गÞरी राखिएका खाद्य पदार्थको १० वटा गुणस्तर मापनका साइडबाट हेरिएको जानकारी दिनुभयो ।

सबैभन्दा पहिले लोकेसन पहिचान गरी क्यान्टिनको दर्ता, भण्डारण, किचन, प्याकेज, लेवलिङ, प्याकेजिङ तथा भेरिफिकेसन, क्रिटिकल कन्ट्रोल प्वाइन्ट, रेफ्रिजिरेसनको अवस्था कस्तो छ, ओभनको तापक्रम कस्तो अवस्थामा छ, तारेको खानेकुरा मात्र किन बढी छ, तारेको तेल पुन प्रयोग हुन्छ कि हुदैन, पाकेको खानेकुरा कसरी राख्ने गरेको जस्ता कुरा जुन अन्तराष्ट्रिय मान्यता अनुसार अडिट गरिएको जानकारी दिनुभयो ।

उक्त अनुसन्धानमा बेलायतको गुणस्तरीय प्रविधि प्रयोग गरी स्पोर्टमै रिजल्ट दिने गरी पकाउने तेलको गुणस्तर, पिउने पानी, भण्डारण गरिएको खाद्य पदार्थ र पाकेको खाद्य पदार्थ पनि हेरिएको थियो । सबैजसो क्यान्टिनमा तारेको एकैखाले खाजा र केहीमा चुरोट समेत बिक्री गर्ने गरेको भेटिएको थियो ।

खाद्य पदार्थ राख्ने फ्रिजको तापक्रम कोठाकै बराबर मात्र पाइयो, विजुली सेभ गर्ने नाँउमा फ्रिजमा सामान राखेपनि नियमित फ्रिज नचलेको भेटिएको थियो । पिउने पानी भने जारको डिएफटिक्युसी लेभल भएको देखिएकाले शुद्ध रहेको पाइएको थियो ।

कतिपय फ्रिजमा भने साल्मोनेला, तथा लिस्टेरिया जस्ता फुड पोइजन समेत गराउन सक्ने ब्याक्टेरिया भेटिएको थियो । स्वस्थ तथा स्वच्छता कायम गर्न सम्झौतामा नै क्वालिटीको कुरा राखिनुपर्नेमा सबै क्यान्टिनको सम्झौता नै नभेटिएको, पुर्वाधार कमजोर रहेको, मैदा र डिप फ्राई फुड बढी देखिएको, फ्रिज नचलेको, भाडा धुने पानी दुषित रहेकोले अब के गर्ने, फुडको हेल्थ र हाइजिनबारे तालिम आवश्यक रहेको निष्कर्श निकालिएको छ । त्यसैगरी पानी, विजुलीको उपलब्धताबारे विश्वविद्यालयले सोच्नुपर्ने समेत देखिएको उल्लेख गरिएकोछ ।

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले अनुसन्धानले खडा गरेका प्रश्नको जवाफ अब काम गरेर देखाउनुपर्ने, र बाहिरबाट अतिथी आउदा कफि खुवाउन समेत नसकेको बताउँनुभयो । उहाँले दक्ष कुनै कर्पोरेटलाई समेत मापदण्ड बनाएर टेन्डर मार्फत वा विद्यार्थीहरुको सहभागितामा काम गर्नुपर्ने बताउँनुहुन्छ ।

कार्यक्रममा एशियाली अनुसन्धान केन्द्र सिनासका कार्यकारी निर्देशक मृगेन्द्र बहादुर कार्की, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) का कार्यकारी निर्देशक प्राडा अर्जुन बराल, त्रिविका प्रोक्टर डा राजेन्द्र कोइरालाले समेत आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्