स्याङ्जामा रेडक्रसद्वारा प्राथमिक उपचार तालिम



स्याङ्जा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाले भीरकोटका १८ वटा विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई प्राथमिक उपचार तालिम दिएको छ । दुई दिनसम्म पब्लिक ऐकेडेमी मावि र बालोदय माविमा सञ्चालन गरिएको तालिममा ५८ जना शिक्षक र विद्यार्थीहरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम दिइएको प्रशिक्षक घनश्याम पौडेलले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय युवा समन्वय परियोजना जापानको आर्थिक सहयोगमा सञ्चालित तालिममा प्राथमिक उपचारको सिद्धान्त, प्राथमिक उपचारका चरणहरु, आकस्मिक उपचार, घाउ चोटपटक, जलन, सर्पदंश, जोर्नी तथा खुट्टाको चोटपटक लगायतका विषयमा तालिम दिइएको थियो । तालिममा जिल्ला सभापति दिनेश अर्याल, मित्र लम्साल, घनश्याम पौडेल, विष्णु सुवेदी गैह्रे र लक्ष्मी थापाले प्रशिक्षण दिनुभएको थियो ।

रेडक्रसका जिल्ला सभापति दिनेश अर्यालले रेडक्रस मानवताको सेवामा जुट्ने संस्था भएकाले प्राथमिक उपचारमा सिकेका कुरा विद्यालयमा र आपत् विपत्तिमा परेकाको उद्दार गर्न सदुपयोग गर्न आग्रह गर्नुभयो ।

तालिममा सहभागी कालिका आधारभूत माविका शिक्षक सोवित बहादुर गोदारले पहिलो पटक प्राथमिक उपचारको तालिम लिन पाएकोमा खुशी व्यक्त गर्नुभयो । विद्यालयमा प्राथमिक उपचार तालिम निकै उपयोगी हुने उहाँले बताउनुभयो ।

तालिममा सहभागी बालोदय माविका विद्यार्थी शिव अर्यालले जीवनोपयोगी सीप सिक्न र मानवताको सेवामा जुट्ने अवसर दिएकोमा रेडक्रसलाई कृतज्ञता प्रकट गर्नुभयो । तालिममा सहभागी सबै विद्यालयलाई प्राथमिक उपचार कीटसहितको प्राथमिक उपचार झोलासमेत प्रदान गरिएको थियो ।

तालिमको एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको छ । कार्यक्रममा शाखाका जिल्ला सभापति दिनेश अर्यालले प्राथमिक उपचार तालिमले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले रेडक्रसको महत्वपूर्ण सिपमध्ये प्राथमिक उपचार सिप एक भएको भन्दै तालिममा सहभागीहरुले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । प्रशिक्षक घनश्याम पौडेलले रेडक्रसको स्वयमसेवी भावनाको विकास गर्न र आजीवन सदस्य बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै बालोदय माविका प्रिन्सिपल अमृत अर्यालले रेडक्रसले समुदायमा विपद् प्रतिकार्य (राहत, उद्धार, पुनर्लाभ), रक्तसञ्चार, एम्बुलेन्स, प्राथमिक उपचार तथा आँखा उपचार, खानेपानी सेवालाई निरन्तर जारी राखेकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी खेमराज खनाल र कौशिका रोकाहाले तालिममा सिकेका अनुभवहरुलाई व्यवहारमा उतार्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्