युनेसको र विश्व प्रेस जगतसँग ईञ्जाको ऐक्यबद्धता

0
Shares

वाशिंगटन डिसी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय सञ्जाल इञ्जाले संसारभरी छरिएर रहेका सञ्चारकर्र्मीहरू तथा प्रेस र अभिब्यक्ति स्वतन्त्रताप्रेमी सवैलाई शुभकामना व्यक्त गरेको छ ।

विश्वमा सरकारहरू प्रेस जगतप्रति अनुदार हुँदा एकातिर जनताको सूचना पाउने मौलिक हक कुन्ठित भैरहेको छ भने अर्र्कोतिर चौथो अंगको रुपमा रहेको सञ्चारले निर्वाधरूपमा अभिव्यक्ति स्वतन्त्रतामार्फत समाजलाई योगदान दिन नसकेको हुँदा यतातर्फ ईञ्जाले विश्वका सरकारहरूको ध्यानाकर्षण गराएको छ ।

युनेस्कोले यस पटक मे २, ५ सम्म अमेरिकाको न्यूयोर्कमा “भविष्यको अधिकार सुनिश्चितता, मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता” भन्ने नारासहित प्रेस स्वतन्त्रता दिवस मनाइरहेको छ । यस सभामा संसार भरिका पत्रकारहरू, सञ्चारसम्बन्धी संस्थाहरू, अभियन्ताहरूका साथै सरकारी प्रतिनिधिहरूको पनि सहभागिता रहेको छ ।

सञ्चार जगतको स्वतन्त्रता, पत्रकारमाथिको आक्रमण विरोधी गतिविधिहरू र मिडियाको भविस्यबारे युनेस्को र संसारका सञ्चार सम्बद्ध संस्थाहरूले चलाउने अभियानहरूमा ईञ्जाले ऐक्यबद्धता जनाएको छ ।

इञ्जाले शुभकामना सन्देशमा अगाडि भनेको छ, पत्रकारहरूको सुरक्षा र पेशागत हकहितको लागि सरकार, राजनीतिक पक्ष र समाजका हरेक क्षेत्रबाट सहयोग हुन जरुरी छ ।

पेशागत कामको शिलसिलामा युक्रेनलगायत संसार भरि विभिन्न ठाउँमा भएका द्वन्द्वहरूमा अनाहकमा मारिएका रिपोर्टरहरू र अन्य विविध कारणले मारिएका सञ्चारकर्मीप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै इञ्जाले पत्रकारहरूको सुरक्षामा ध्यान दिन सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।

साथै सञ्चार जगतलाई पनि समाजमा मर्यादित र जिम्मेदार भएर भूमिका निर्वाह गर्न इञ्जाले आग्रह गरेको छ ।