राज्यले ग्रेटवाल देखेन : पुजारी शेखर

0
Shares

नवलपरासी। 

वाल्मीकि आश्रम सीता पातल प्रवेश स्थलका पुजारी शेखर सुबेदी राज्यले ग्रेटवाल नदेखेकाे बताउनुभयो । सुबेदीका अनुसार रामायण  कालदेखि  प्रसिद्ध  नेपालको दक्षिण तर्फ  ग्रेटवाल झैँ रहेको  महर्षि आश्रम क्षेत्र  विकासमा राष्ट्रको  नजर नपर्नु दुःखद  हो ।
सुबेदीको कथनमा आश्रम भनेको विद्यालय  हो, प्राचीन समयमा प्राथमिक शिक्षा लिन काशी , बनारस तथा वृन्दावन आदिमा गुरूकुलहरू थिए ।
त्याे भन्दा माथिकाे शिक्षा जनकपुर जस्ता राजश्री आश्रममा दिइन्थ्याे तर उच्च शिक्षा भने महर्षी आश्रममा मात्र पाईन्थ्याे । वाल्मीकि आश्रम त्यस्तै एक प्रसिद्ध महर्षि आश्रम हो, जुन पौराणिक काल देखि यहाँ ग्रेटवाल जस्तै  उभिएकाे छ ।

सुवेदीले वाल्मीकि आश्रम यथार्थमा आधारित धर्म स्थल रहेको बताउँदै  याे भूमिमा  ऋषिमुनिले आफ्ना अध्ययन र अनुसन्धानबाट ठूला ठूला धर्मग्रन्थ तयार पार्ने गरेको बताउनुभयो ।

राष्ट्राध्यक्ष,क्षेत्राधिपतिले यस कुरालाई मनन गरेर बृहत्तर वाल्मीकि आश्रमको विकासमा लाग्न ढिलाइ गर्न नहुने पुजारी सुबेदीको भनाइ  रहेको छ ।

पुजारी सुबेदीले बताएझैँ बाग्मती प्रदेशको दक्षिण पश्चिम सिमानामा ओझेल परेर रहेको धार्मिक तीर्थ स्थल हो वाल्मीकि आश्रम ।

पछिल्लो समय यस धार्मिक  तथा पौराणिक स्थलको विकासमा माडीका बासिन्दा  लागि परेका छन् ।

चितवनको माडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष अमित कुमार लामा  वाल्मीकि आश्रममा पिउने पानी,बाटो, शिक्षा, स्वास्थ्य,बिद्युत् र शाैलालय जस्ता न्यूनतम आवश्यकता परिपूर्ति गर्न लागि रहेको बताउनुहुन्छ । उहाँकै पहलमा झन्डै २ किमी परकाे सीता कुवाबाट यहाँ पिउने पानीको व्यवस्था  मिलाइएको छ, शौचालयका लागि नजिकैको छिमेकी वडा पूर्वी नवलपरासीको विनयी त्रिवेणी ६ ले सहयोग गरेको छ ।

वडाध्यक्ष लामा भन्नुहुन्छ, नेपाल तर्फबाट बनेको झोलुङ्गे पुल देखि आश्रम सम्म जोड्ने बाटो निर्माणका लागि निकुञ्ज कार्यालय कसरासंग समन्वय गरि सर्वे गर्ने प्राविधिक टोली सहित शनिवार आश्रम आई पुगेको छु । वाल्मीकि आश्रम पुग्नका लागि नारायणी नदीमा झोलुङ्गे पुल बनेको छ, पुलकाे निर्माण कार्य सकिएको वर्ष दिन पुग्दा पनि यहाँ आवागमन सुचारु हुन सकेकाे छैन ।

कारण वाल्मीकि क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेकोले पुलसँगै निकुञ्जकाे सुरक्षा व्यवस्थाका लागि पाेष्ट निर्माण कार्यमा ढिलाइ हुनु र जङ्गल क्षेत्रमा सहज बाटोको ट्र्याक बनी नसक्दा पुल मार्गको पहुँच रोकिएको यसका जानकारहरू बताउँछन् ।

वडाध्यक्ष लामाले वाल्मीकि क्षेत्रका स्थानीय बासिन्दा तथा श्रद्धालुहरूलाई चाहिने प्राथमिक तथा आकस्मिक स्वास्थाेपचारकाे व्यवस्था छिट्टै मिलाइने बताउनुभयाे ।
वाल्मीकि आश्रम वरपर करिब १२ घर धुरी मानिसहरूको बसोबास रहेको छ । यहाँ झन्डै २० जना जति बालबालिका विद्यालय शिक्षाबाट वञ्चित रहेका छन् ।
ती बालबालिकालाई आश्रम परिसरमै रहेको सशस्त्र प्रहरी पाेष्टका शैक्षिक योग्यता प्राप्त राष्टसेवककाे सहयाेगमा समय मिलाएर पठन पाठनका लागि पहल गरिएको वडाध्यक्ष लामाको भनाई रहेको छ ।

वाल्मीकि क्षेत्रमा दशकौँदेखि मन्दिरकाे रेखदेख, सम्भार तथा फूल प्रसाद बिक्री बितरणकाे आय आर्जनबाट यहाँका अधिकांश घर परिवारले आफ्नो गुजारा चलाउँदै आएका छन् । तिनै परिवारका सदस्य बालबालिकालाई  पठनपाठन गर्न अभिभावकले काेठा खोजेर कि त  त्रिवेणी बजार या भारतीय नगरहरूमा लैजानु पर्ने  स्थिति यहाँ रहेको छ  ।  भौगोलिक कठिनाइका कारण प्रशासनिक तथा स्थानीय पञ्जिकरणकाे सुविधा भने छिमेकी नवलपरासी पूर्वकाे विनयी त्रिवेणी गाउँ पालिकाले दिँदै आएको छ ।

भूगोलका हिसाबले माडी १ पर्ने वाल्मीकि आश्रम क्षेत्र सम्बन्धित वडा कार्यालयबाट करिब ५० किमी दक्षिण पश्चिममा पर्दछ ।
भूगोल आफ्नै हो तर एउटै वडामा रहेको वाल्मीकि आश्रम पुग्न गण्डकी र लुम्बिनी प्रदेश हुँदै चितवन सहितका ३ जिल्ला पार गर्नु पर्ने माडी बासीलाई बाध्यता रहेको छ ।

यसै क्रममा वडाध्यक्ष लामा वाल्मीकि आश्रम आउने प्राचीन बाटोको खोजीमा आफू लागि परेको बताउँदै वडा भित्रैबाट पैदल यात्रीका लागि ट्र्याक खोल्ने प्रयास रहेको बताउनु हुन्छ । सँगसँगै माडी वडा नम्बर १ का बासिन्दाले धार्मिक पर्यटक भित्र्याउन स्थानीय रामेश्वर क्षेत्रमा रहेका प्राचीन तथा पुरातात्त्विक  स्थललाई समेटेर चारधाम क्षेत्रकाे अवधारणा अघि बढाएका छन् ।

यहाँको परशुराम कुण्ड, गाेद्दक अष्टभुज क्षेत्र, त्रिवेणी स्थित ठाकुरद्वार र वाल्मीकि आश्रमलाई समेट्दै चारधाम बनाइएको गाेद्दक क्षेत्र विकास समितिका सदस्य एवं स्थानीय रेवेश्वर शिवमन्दिर धार्मिक सेवा समितिका अध्यक्ष रामजी सापकोटा बताउनुहुन्छ ।

तीर्थालुहरू नेपाल भारत दुवै देशका

धार्मिक पर्यटनको केन्द्र वाल्मीकि आश्रम दर्शन तथा अवलोकनका लागि नेपाल तथा भारतबाट हजाराै तीर्थालुहरू आउने गर्दछन् । जसमा भारतीयहरूको संख्या उल्लेख्य रहेको छ स्थानीय बासीको भनाइमा त्रिवेणीधाम आउने नेपाली श्रद्धालुहरूमा वाल्मीकि आश्रम पुग्ने चाहना हुँदा हुँदै पनि बाटोको कठिनाइले फर्कने गर्दछन् ।

भारतको पटनाबाट परिवार सहित आउनु भएकी रितु देवीले  राम कथामा वर्णित वाल्मीकि क्षेत्र पौराणिक र वास्तविक तीर्थ स्थल भएको बताउनुहुन्छ ।
सीताजीको जन्मदिन जानकी नवमी पर्व पारेर देशको झापा,नेपालगन्ज, पोखरा, भरतपुर लगायतका क्षेत्रबाट वाल्मीकि आश्रम पुगेका तीर्थालुले आश्रम स्थलको महिमा एकै स्वरमा सुनाए ।

पवित्र तीर्थ स्थल त्रिवेणीधामकाे नजिक रहेर पनि नेपाली भूमिबाट वाल्मीकि क्षेत्र पुग्न भौगोलिक कठिनाइ रही आएको छ ।
तीर्थालुहरू भैसालाेटन स्थित नारायणी नदीको पुल तरेर भारतीय भूमि हुँदै या गण्डक बाँधको विशाल ताललाई डुङ्गाको सहारामा छिचोलेर वाल्मीकि आश्रम पुग्ने गर्दछन् ।
त्यसमा पनि डुङ्गाबाट जाने यात्रीले करिब ४० मिनट लामो जङ्गल भित्रकाे गाेरेटाे बाटो हिड्नु पर्दछ भने भारतीय भूमि हुँदै जानेहरूले वाल्मीकि नगर र त्यहाँ तैनाथ सुरक्षाकर्मीको अनुमति लिएर साना सवारी मार्फत वाल्मीकि आश्रम पुग्दछन् ।

वाल्मीकि आश्रमका आकर्षण

यहाँ रामायणमा वर्णित महर्षि वाल्मीकिको आश्रम,अष्ठासी हजार ऋषिमुनिले यज्ञ गरेको हवन कुण्ड, लवकुश जन्मस्थल, शिक्षा ग्रहण स्थल, लवकुशले घाेडा बाधेकाे ठाउँ , सीताजीको भान्सा स्थल, अमृत कुवा, सीता पातल प्रवेश स्थल जस्ता ऐतिहासिक धराेहरहरू रहेका छन् ।

यस्तै वाल्मीकि आश्रमका पिठाधिस  राम शरण गिरी वाल्मीकि आश्रममा त्रेता युगका मुर्ती सहितको इतिहास सहजै देख्न सकिने बताउनुहुन्छ ।