होटल संघ पोखरा नेपाल र अमेरिकी राजदूत थम्पसनबीच छलफल



कास्की।  

होटल संघ पोखरा नेपाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आपसी सहकार्यका विषयमा हालै पोखरामा छलफल भएको छ । सो अवसरमा संघका महासचिव राजेन्द्र ढकाल र टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पोखराको पर्यटकीय अवस्थाका बारेमा जानकारी गराएका थिए ।

अमेरिकी नागरिक र अमेरिकी पर्यटकको सुरक्षाप्रति आफूहरु संवेदनशील रहेको बताउँदै महासचिव ढकालले विगतमा अमेरिकी दुतावासँग संघ नजिक रहेर काम गरेको र भविष्यमा पनि त्यस्तो सहकार्यप्रति आफूहरु आसावादी रहेको भनाई राखे । पछिल्लो समयमा नेपाल घुम्न आउने अमेरिकी पर्यटकको संख्यामा बढोत्तरी देखिएको पनि उनले अवगत गराए ।

सुन्दर पर्यटकीय नगरी पोखरामा राजदूत डिन र अमेरिकी दूतावासका अधिकारीहरुलाई स्वागत गर्न पाउँदा संघ खुसी भएको बताउँदै ढकालले औपचारिक रुपमै पोखरा छिटै नेपालको पर्यटकीय राजधानी बन्ने जानकारी गराए । सुन्दर ताल, हिमाल र विविध संस्कृति यहाँको विशेषता रहेको पनि महासचिव ढकालले सो अवसरमा बताए ।

झन्डै चार दशकदेखि संघले पर्यटकीय सेवा सुविधालाई गुणस्तरीय बनाउनेतर्फ काम गर्दै आएको स्मरण गराउँदै ढकालले यस क्षेत्रको होटल उद्योगमा मात्र पाँच खर्ब रुपैयाँ लगानी रहेको जानकारी गराए । रोजगारी सिर्जना गरी देशको अर्थतन्त्रमा टेवा पुर्‍याउँदै गरिबीको अन्त्य गर्ने  संघको उद्देश्य रहेको पनि उनले बताए ।

कोभिड १९ पछि पोखराको पर्यटन क्षेत्र पनि मारमा परेको बताउँदै उनले पर्यटकीय सेवा सुविधामा कुनै कमी नहुने गरी अप्ठ्यारो अवस्थामा पनि आफूहरुले सेवा गरिरहेको सुनाए । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले सेवा सुरु गरिसकेको र पृथ्वी राजमार्गको स्तरोन्नती पनि केही अवधिमा सकिने बताउँदै ढकालले पर्यटकीय पूर्वाधारका हिसाबले पोखरामा कुनै समस्या नभएको बताए ।

पोखरामा अमेरिकाका ब्लगर, ट्राभल राइटर र पत्रकारहरुलाई निमन्त्रणा गर्न र भ्रमण गराउनका लागि दूतावाससँग आवश्यक सहकार्य गर्न संघ तयार रहेको पनि ढकालले जानकारी गराए । पोखराको पर्यटन क्षेत्रमा लगानीका लागि अहिलेको उपयुक्त समय भएको बताउँदै उनले द्विपक्षीय व्यापारिक लाभका लागि संघले आवश्यक भूमिका खेल्न सक्ने सुनाए ।

कार्यक्रममा राजदूत थम्पसनले पदयात्रामा जाने पर्यटकका लागि पथप्रदर्शक अनिवार्य गरिएको विषयप्रति चासो व्यक्त गरेका थिए । तत् पश्चात् टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पर्यटकको सुरक्षाको लागि पथप्रदर्शको व्यवस्था गरिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्