पुराना दलहरुलाई झट्का

0
Shares

यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनले परम्परावादी दललाई ठूलो झड्का लागेको छ । ठूला दल भनिएकाहरुको काम कारबाहीबाट आजित भएका दललाई जनताले उठ्नै नसक्ने गरी दनक दिएका छन् । लामो इतिहास बोकेका दलहरुले विगतमा गरेको कामलाई मूल्याङ्कन गर्दै जनताले ती दलप्रति मतदानको माध्यमबाट आक्रोश पोखेका छन् । यो चुनावले दलहरुलाई गर या मरको अवस्थामा पु¥याइदिएको छ । जनताको मनोभावनामाथि लामो समयदेखि खेलबाड गर्दै आएका दललाई जनताले निर्वाचनमार्फत पाठ मात्र सिकाएका छैनन् अब पनि नसच्चिने हो भने आउँदो चुनावमा परम्परावादी दलहरु इतिहासको पानामा सीमित नहोलान् भन्न सकिँदैन । मुलुकमा भएका ठूला–ठूला परिवर्तनमा सहभागी भएका दलहरुको यो हबिगत हुनुमा को दोषी हुन् ? अब विश्लेषण गर्ने बेला आइसकेको छ ।

इतिहास जित्नेको लेखिन्छ, हार्नेको होइन । यी परम्परावादी दलहरुलाई हार्ने छुट छैन तर उनीहरुको काम गराइको अवस्था हेर्ने हो भने जित्ने अवस्था देखिँदैन । आफूले आफैँलाई सच्याएर लैजानुको विकल्प पनि छैन । अबको ४ वर्षमा दलहरुले जनताको मन जित्ने काम गरेनन् भने देशभर नै घन्टी नबज्ला भन्न सकिँदैन । आसेपासेमा मात्रै सीमित हुँदै जनताको इच्छा र आकांक्षामाथि कुठाराघात गर्ने दलहरुलाई जनताले ब्यालेटमार्फत दिएको जवाफलाई नजरअन्दाज गर्न खोजिए मुलुक अर्को भयंकर संकटतर्फ नजाला भन्न सकिँदैन ।

कुनै राजनीतिक उद्देश्य नै नबोकेको राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासनको नारालाई उछालेको भरमा जनतालाई आफूतिर आकर्षित गर्न सफल भएको छ । उनीहरुको राजनीतिक उद्देश्य के हो भन्ने अहिलेसम्म प्रस्ट भएको छैन । मुलुकमा नाम कमाएका चर्चित व्यक्तिलाई आफ्नो पक्षमा ल्याएर रास्वपाले उम्मेदवार बनाउन थालेको छ । यसले के संकेत गर्दछ भने, पार्टीमा लामो समय योगदान गरे पनि अवसर नपाएका युवाहरु भटाभट उक्त पार्टीप्रति आकर्षित हुनु पक्कै राम्रो होइन । दलहरुले हिजो के गरेका थिए भन्ने कुरालाई जनताले नजरअन्दाज गर्न थालेका छन् । अब दलहरुले आजको आवश्यकता के हो, जनताले के खोजेका छन् भन्ने कुरालाई सम्बोधन गर्न सकेनन् भने पार्टीहरुमा ठूलो भूकम्प नजाला भन्न सकिँदैन । अब दलहरु सच्चिने कि सक्किने भन्ने दुई विकल्प मात्रै बाँकी रहेको छ । त्यसैले दलहरु अब सच्चिनुको विकल्प छैन । जनताले उठाएका आवाजलाई सम्बोधन गर्नेतर्फ दलहरुको ध्यान जान जरुरी देखिन्छ ।

हिजो के भएको थियो ? त्यो इतिहास भइसकेको छ । अब नयाँ शिराबाट दलहरुले मुलुकलाई अघि बढाउनुपर्ने देखिन्छ । मुलुकको आवश्यकता के हो ? जनताले के खोजेका हुन् ? त्यसलाई सूक्ष्म ढंगले अध्ययन गरेर अघि बढे मात्रै दलहरुको विगतको साखलाई जोगाउन सक्लान्, नत्र इतिहासमा यी दलले पनि सरकार चलाएका थिए भन्ने अवस्था नआउला भन्न सकिँदैन । त्यसैले दलहरुले सोच्ने बेला आएको छ ।