धार्मिक पर्यटकको पर्खाइमा चर्नावती त्रिवेणी धाम

प्रचार र प्रवर्द्धनका लागि जेठ ७ गतेदेखि १५ गतेसम्म नवाह महायज्ञ

0
Shares

दोलखा ।

प्राचीन,ऐतिहासिक तथा पौराणिक स्थल दोलखा जिल्लाको शैलुङ्ग गाउँपालिका वडा नं.७ मा अवस्थित चर्नावती त्रिवेणी धाममा आगामी जेठमा बृहत् श्रीदेवी भागवत नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । चर्नावती त्रिवेणी विकास तथा प्रवर्द्धन संघले उक्त जानकारी दिएको हो ।

महायज्ञ व्यवस्थापन मूल समारोह समितिका संयोजक तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले धामको प्रचारप्रसार गर्न तथा तीर्थाटन क्षेत्रको रुपमा संरक्षण र विकास गर्न जेठ ७ गतेदेखि १५ गतेसम्म नवाह सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

संयोजक श्रेष्ठले नवाह ज्ञान महायज्ञमा प्रतिष्ठित संस्कृतिविद् प्रा.डा.कान्ता भट्टराईले अमृतमय कथाका साथ सो क्षेत्रको धार्मिक एवं पौराणिक विवेचना गर्नुहुने बताउनुभयो ।

नेपाल सरकारका पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले तामाकोशी नदी किनारमा अवस्थित चर्नावती धाम रहेको ठाउँमा त्रेता युगमा राम– सिताको पाइला परेको विश्वास रहेको बताउनुहुन्छ । चर्नावती धाममा तामाकोशी, गोपिखोला र चरङ्गेको त्रिवेणी रहेको बताउँदै उहाँले पवित्र भूमिको प्रचारप्रसार तथा संरक्षण र विकासमा महायज्ञले थप टेवा पुग्ने बताउनु भयो ।

पुर्वमन्त्री समेत रहनुभएकी विदुषी प्रा.डा.कान्ता भट्टराईले नेपाल देवभूमि र ऋषिभुमि रहेको बताउँदै नेपालमा जन्म भएकोमा सबैले गर्व पर्नुपर्ने बताउनुहुन्छ । चर्नावती धामलाई काशी– गया र देवघाट भन्दा पवित्र स्थल मानिन्छ भन्दै उहाँले यसबारे धार्मिक ग्रन्थमा समेत उल्लेख भएको बताउनुभयो ।

मूल समारोह समितिका सदस्य सचिव तथा शैलुङ्ग गाउँपालिकाका निवर्तमान अध्यक्ष भरत दुलालले सो क्षेत्रको महत्वबारे चर्चा गर्दै रामले वनवासका क्रममा दिबगंत हुनुभएका पिता दशरथको यही श्राद्ध गर्नुभएको संस्कृतिबिद्को भनाई रहेको बताउनुभयो ।त्रिवेणीमा सिताले स्नान गरेको विश्वास समेत रहेको बताउँदै यस क्षेत्रको प्रचार र प्रबद्र्धनका लागि जेठ ७ गतेदेखि महायज्ञको आयोजना गरिएको बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति तथा प्रा.डा.जगमान गुरुङ दोलखा जिल्ला महान् तपस्वीहरूको ध्यानभुमि,ज्ञानमुमि र तपोभुमि रहेको बताउनुहुन्छ ।धार्मिक ग्रन्थमा समेत उल्लेखित यस धाम प्रसिद्ध कालिन्चोक देवीको मन्दिरको जलकुण्ड हुँदै चरणमा बगेको खोला भएकाले चरणावती नाम भएको उहाँको भनाई छ ।

हाल चर्नावती त्रिवेणी धाममा झन्डै तीन करोड रुपैयाँको लागतमा ज्येष्ठ नागरिक सेवा केन्द्र बनेको छ ।४० रोपनी खाली पर्ती जग्गामा बनेको केन्द्रको संचाल नयाँ आर्थिक वर्षबाट सञ्चालन गरिने संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले बताउनु भयो ।

किंवदन्ती अनुसार वनवासको समय राम– सिता चर्नावती धाममा आएका थिए । चर्नावती धामलाई काशी– गया र देवघाट भन्दा पवित्र स्थल मानिने गरेको स्थानीय समाज सुधारक ,शिक्षासेवी तथा सहकारीकर्मी रामकृष्ण बुढाथोकी बताउनुहुन्छ ।

चर्नावती धाममा ज्येष्ठ नागरिक सेवा केन्द्र बन्नु महत्वपूर्ण रहेकोले यसको सञ्चालनमा सबैले सहयोग गर्नुपर्ने संघका सल्लाहकार तथा  समाजसेवी शोभित उप्रेतीले बताउनुभयो ।