५ किलोमिटर दौडमा मिजार पहिलो



हेटौंडा । नया“ वर्षमा नेपाली कांग्रेस तथा नेपाल तरुण दल हेटौंडा–६ नम्बर एकाईंको आयोजनामा शुभकामना खुला ५ किलोमिटर दौड प्रतियोगिता भएको छ ।

प्रतियोगितामा पहिलो सञ्जीव मिजार, दोस्रो उमेश गोङ्बा, तेस्रो शेखर स्यांतान भए । पहिलो हुनेले नगद १५ हजार, दोस्रोले १० हजार र तेस्रोले नगद ५ हजार रुपिया“ प्राप्त गरे । मकवानपुरका ५७ धावकको सहभागिता रहेको प्रतियोगितामा २ बालक र २ महिलालाई प्रोत्साहनस्वरुप नगद ५ सय प्रदान गरिएको थियो । नेपाल तरुण दल वडा अध्यक्ष कमल कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता थियो ।

मकवानपुरको थाहा नगर खेलकुद विकास समितिको आयोजनामा पनि बिहीबार भएको खुला दौड प्रतियोगितामा पुरुषतर्फ विकास लो र महिलातर्फ सुष्मा घलान विजयी भएका छन् ।

नगरपालिकास्तरीय खुला महिला तथा पुरुष दौड प्रतियोगितामा पुरुषतर्फ थाहा नगरपालिका–११ का लो प्रथम भएका हुन् । उनले निर्धारित ५ किलोमिटर दुरी २० मिनेट ५५ सेकेण्डमा पूरा गरेका थिए । महिलातर्फ ३ किलोमिटर निर्धारित दुरी १४ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै थाहा–१२ कि घलान प्रथम भइन् ।

पुरुषतर्फ निखिल बर्तौलाले निर्धारित दुरी २१ मिनेट १५ सेकेन्डमा पूरा गर्दै दोस्रो भए भने २१ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै लवशेर घिसिङ तेस्रो भए । महिलातर्फ निर्धारित दुरी १५ मिनेट २१ सेकेन्डमा पूरा गर्दै सन्ध्या गोले दोस्रो र १५ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै आशा तामाङ तेस्रो भइन् ।

प्रथम भएका खेलाडीले जनही १२ हजार नगदसहित शिल्ड र मेडल प्राप्त गरेका छन् । दोस्रो र तेस्रो हुनेले क्रमशः ८ हजार र ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा पुरुषतर्फ २१ र महिलातर्फ ११ खेलाडीले सहभागिता जनाएका थिए । थाहा नगर उपप्रमुख भरत गोपाली, थाहा नगर खेलकुद विकास समिति संयोजक टीकाराम स्यांतानले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्