करियल र मिलानको जित



लन्डन । स्पेनिस क्लब रियल मेड्रिड र इटालियन सिरी ए क्लब एसी मिलानले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा जित हासिल गरेका छन् ।

बुधबार राति भएको खेलमा रियलले इंग्लिस क्लब चेल्सीलाई पराजित गरेको हो । रियलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको चेल्सीमाथि २–० को सहज जित हात पारेको हो । रियलको जितमा कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरे । सान्टियागो बर्नबेउमा भएको खेलको २१औं मिनेटमा बेन्जेमाको गोलबाट रियलले १–० को अग्रता लिन सफल भयो । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भए । पहिलो हाफमा १–० ले पछि परेको पाहुना टोली चेल्सी दोस्रो हाफको शुरुमै १० खेलाडीमा समेटिन पुग्दा थप समस्यामा पर्न पुग्यो । ५९औं मिनेटमा बेच चिलवेल सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

खेलको ७४औं मिनेटमा परिवर्तित खेलाडी मार्काे एसेन्सियोले गोल गर्दै रियललाई २–० को जित दिलाए । ७१औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान छिरेका एसेन्सियोले चार मिनेटभित्रै भिनिको पासमा गोल गर्न सफल भएका थिए । यस जितसँगै सर्वाधिक १४ पटकको च्याम्पियन तथा साविकको विजेता रियलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब चेल्सीको मैदानमा १८ अप्रिलमा हुने खेलमा यही नतिजा कायम राख्न सके रियल सेमिफाइनलमा पुग्नेछ । चेल्सीलाई भने सेमिफाइनल पुग्न कम्तीमा ३–० को जितको खाँचो छ ।

त्यसैगरी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले पनि सिरी ‘ए’ प्रतिद्धन्द्धी तथा यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित ग¥यो । मिलानले घरेलु मैदानमा नेपोलीलाई १–० ले पराजित गरेको हो । मिलानको जितमा पहिलो हाफमा इस्माइल बेनासेरले गरेको गोल नै निर्णायक बन्यो । उनले ४०औं मिनेटमा राफयल लियोको पासमा गोल गर्न सफल भएका थिए ।

मिलानोमा बुधबार राति भएको खेलमा नेपोलीले घरेलु टोली मिलानमाथि बल पोसेसन राख्दै दवाब बढाएपनि गोल गर्न नसक्दा पहिलो लेगमा हार बेहोर्न पुग्यो । ७४औं मिनेटमा आन्द्रे फ्रान्क जाम्वो एनगुइसा चार मिनेटको अन्तरमा दोहोरो पहेलो बार्ड खाँदै मैदानबाट बाहिरिएपछि नेपोलीको खेलमा फर्कने सम्भावना टाढिएको थियो । यस जितले मिलानले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब १८ अप्रिलमा नेपोलीको मैदानमा हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सके मिलान सेमिफाइनलमा पुग्नेछ । नेपोलीलाई कम्तीमा २–० गोलअन्तरको जित आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्