सेवा-प्रवाहलाई नागरिकमैत्री बनाएका छौं : प्रमुख प्रशासकीय अधिकृत अधिकारी



-दीपक अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
उत्तरगया गाउँपालिका, रसुवा

तपाईंको स्थानीय तहले विकास निर्माण र सेवा–प्रवाहलाई कसरी अगाडि बढाइरहेको छ ?

जनसरोकारका विषयमा नागरिकँंग प्रत्यक्ष सम्बन्ध राख्ने तथा प्रत्यक्ष रूपमा नागरिकले अनुभूति गर्ने सरकार हो स्थानीय सरकार । यसैले सेवा–प्रवाहलाई नागरिकमैत्री बनाएका छौं । सहज तरिकाले निरन्तर र सन्तुलित ढंगबाट कार्यान्वयन गरी उत्तरगयाले विकास निर्माणका सन्दर्भमा सहभागितामूलक योजना प्रणालीलाई अवलम्बन गरेको छ । अहिले कार्यसम्पादनको मुख्य समय भएकाले अघिकांश स्थानमा विकास निर्माणका योजनाहरू सञ्चालन भइरहेका छन् ।

बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न के–कस्ता योजना बनाउनुभएको छ ?

आवश्यक कर्मचारी संयन्त्र र सामुदायिक संयन्त्र परिचालित गरिएको छ । अल्पकालीन योजनाका लागि कार्यविधि निर्माणमार्फत सञ्चालन गरिएको छ । दीर्धकालीन प्रभाव रहने कार्यक्रम कार्यान्वयनका सन्दर्भमा भने सहभागितामूलक विधिबाट गरिएको छ । जसमा कानुन तथा कार्यक्रम निर्माण, सरोकारवालाहरूसँग छलफल तथा गुरु योजना निर्माण गरी आवधिक योजनाको कार्यसम्पादन गर्ने योजना रहेको छ ।

उत्तरगयामा बेरुजु र सार्वजनिक खरिदको अवस्था चाहिँ कस्तो छ ?

पेस्की बेरुजुले प्रारम्भिक प्रतिवेदनमा केही देखिए तापनि निर्माण सम्पन्न पश्चात् सो बेरूजु हट्नेछ । अन्य प्रकृतिको बेरुजुको अवस्था सन्तोषजनक नै छ । सार्वजनिक खरिद प्रक्रिया प्रचलित कानुनबमोजिम नै सञ्चालन भएको छ ।

बेरुजु घटाउन के गरिरहनुभएको छ ?

विगतमा उत्पन्न बेरुजुलाई नदो¥याउन विशेष कार्य भइरहेको छ । विगतका कमजोरी र सुझावका अधारमा न्यून बेरुजु रहने गरी नियमित कार्यसम्पादन भइरहेको छ । स्पष्ट कानुनी प्रावधान नभएकाले स्थानीय तहमा रहेका फारकफरकका आधारमा कार्यरत कर्मचारीको मनोबल र लगाव उच्च बनाउन भने सकिएको छैन ।

जनप्रतिनिधि विकास निर्माण, सेवा प्रवाह, सुशासन स्थापित गराउन कत्तिको संवेदनशील भएको पाउनुभएको छ ?

निर्वाचित भएको एक वर्ष पनि भएको छैन । तर पनि सीमित स्रोत र साधनका बाबजुद उत्कृष्ट परिणाम ल्याउन उहाँहरू लागिरहनुभएको छ । दिगो विकाससहित प्रभावकारी सेवा प्रवाह र सुशासन स्थापित गराउन जनप्रतिनिधिहरू संवेदनशील नै भएको पाएको छु । समय–समयमा जनप्रतिनिधि र कर्मचारी एकै ठाउँमा बसेर सम्पूर्ण पक्षको समीक्षा गर्ने पनि गरेका छौं ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

दुवैबीच सहयोगी भाव, मित्रवत् गुणसहितको जिम्मेवारीबोध हुनु आवश्यक छ ।

विकास निर्माणमा जनसहभागिता कत्तिको पाउनुभएको छ ?

आवश्यकताको आधारमा नागरिकसँग समन्य भइरहेको छ । प्रत्यक्ष सरोकार राख्ने प्रकृतिका योजनामा सहभागीमूलक ढंगबाट छनोट गरिएकाले जनसहभागिताको अवस्था सकारात्मक नै छ । अध्ययन, रोजगारी आदिका कारण क्षमतायुक्त जनशक्ति गाउँपालिकाभन्दा बाहिर रहेकाले जनसहभागिता र उपभोक्ताको योगदान भने कमजोर रहेको छ ।

जनसहभागिता जुटाउन के योजना बनाउनुभएको छ ?

जनसहभागिता जुटाउन योजना छनोट प्रक्रियामा सहभागिता तथा सम्भाव्यतालाई ध्यान दिने योजना छ । विगतका कार्यहरूको समीक्षासहित स्थानीयस्तरमै गएर अभिमुखीकरण गर्ने पनि योजना छ ।

-प्रस्तुति : सरस्वती न्यौपाने

प्रतिक्रिया दिनुहोस्