फोहोरमा राजनीति नहोस्



एक सातादेखि तीन भीभीआईपी निकायमा फोहोर उठ्न सकेको छैन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अराजक गतिविधिको कारण फोहोर उठ्न नसकेको हो । सिंहदरबार र बागदरबारको सम्बन्ध सुमधुर राख्नुको साटो चिढ्याउन खोज्नु पूर्ण गलत हो । मेयर साहले एक सातादेखि शीतलनिवास, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर संकलन रोकेपछि समस्या बढेको छ । फोहोर संकलन र ढुवानी हुन नसक्दा तीन निकायको फोहोरको डुंगुर थुप्रिएको छ । तीन निकायमा करिब १५ टन फोहोर थुप्रिएको छ । फोहोर व्यवस्थापन गर्ने विषयमा कामपा वातावरण विभाग निरीह बनेको छ । विभागका अधिकारीले मेयरको निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै तीन निकायको फोहोर संकलन र ढुवानी नगर्न निर्देशन दिएको छ । संघीय राजधानीमा भीआईपी क्षेत्रको फोहोर निजी कम्पनीले व्यवस्थापन गरिरहेको छ ।

मेयर साहले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै चार दिनअघि १४ वटा मन्त्रालयले माग पूरा गर्न नसकेको भनी सामाजिक सञ्जालमा १४ बुँदा माग पोस्ट गरेका थिए । मेयरको धारणा आएको भोलिपल्ट मन्त्रिपरिषद्को बैठकमा मेयर साहको धारणाको विरोध भएको थियो । बैठकपछि सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले मेयरको अराजकतालाई प्रोत्साहन गर्न नहुने बताएकी थिइन् । केन्द्रीय सरकारको निर्देशन अटेर गरी अराजक गतिविधि गरिरहँदा मुकदर्शक बनेको गृह, फोहोर व्यवस्थापनमा मुख्य भूमिका खेल्ने शहरी विकास मन्त्रालय किन चुप बसेका हुन् ? भन्ने प्रश्न उठेको छ । सामाजिक सञ्जालमा आएको विषयलाई एजेन्डा बनाउने सरकारले मेयर साहको गतिविधि नियन्त्रण गर्न सकेको छैन । शहरी विकासमन्त्री सीता गुरुङले कामपाले फोहोर व्यवस्थापनमा अवरोध गर्न नहुने धारणा राखेकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग सीधै वार्ता गरी माग पूरा भएपछि मात्र फोहोर उठाउने अडान दोहो¥याएका मेयर साह अहिले सीधै प्रधानमन्त्रीसँग वार्ताको प्रतीक्षामा छन् ।

सरकार र काठमाडौं महानगरपालिकाबीच वाकयुद्ध चलिरहँदा मेयर साहले बिहीबार फेरि अर्को स्टाटस लेखेर सरकारलाई कडा चेतावनी दिएका छन्– ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’ मेयरको यो स्टाटसले सरकारले वार्ता होइन, अराजक गतिविधि गर्ने साहलाई कारबाही गर्र्नुपर्छ भन्ने प्रश्न उठेको छ ।

फोहोरमैलाजस्तो अत्यावश्यक वस्तु संकलन र ढुवानीमा अवरोध गर्न नपाइने उल्लेख छ । आवश्यक सेवामा निषेध गर्न नपाइने कानुनको धज्जी उडाउँदासमेत सरकार मुकदर्शक बन्नु अनि मेयर साहको अराजक गतिविधिलाई टुलुटुलु हेरर बस्नु कदापि स्वीकार्य हुँदैन । राज्यविरुद्ध मनपरि गर्ने जो–कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । होइन भने यस्ता अराजक गतिविधि गर्ने स्थानीय तहको संख्या बढ्न सक्छ । गएको शुक्रबार सुकुम्बासी बस्ती हटाउन पुग्दा कमपालाई सुरक्षा निकायले असहयोग गरेपछि कामपाले फोहोर संकलन गर्न रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्