दुर्घटना न्यूनीकरणका लागि प्रशिक्षण

लुम्बिनीमा ११६४ वटा सवारी दुर्घटना हुँदा ५५१ जनाको मृत्यु

0
Shares

बुटवल। 

सवारी दुर्घटनाबाट हुने मानवीय तथा अन्य भौतिक क्षतिलाई कम गर्न सकिने उपायहरू पत्ता लगाई व्यवहारमा लागु गर्न यातायात मजदुरहरुलाई अभिप्रेरित गर्ने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको छ ।

तालिममा सिकाइएका कुराहरु व्यवहारमा लागु भए नभएको अनुगमन गर्न विशेष समिति निर्माण गरिने र स्थलगत अनुगमनले नियम उल्लङ्घन गर्ने चालकहरुलाई कारबाही समेत गरिने पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ ।

प्रालिका अनुसार नेपालका सडकहरुमा भइरहने बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण र यसबाट हुने मानवीय क्षतिलाई कम गर्ने उद्देश्यले बुटवलमा यातायात मजदुरहरुलाई तालिम सञ्चालन गरिएको  हो ।

नेपालमा दिन प्रतिदिन सवारी साधनको सङ्ख्या र दुर्घटना बढ्दै गएकोले पश्चिम नेपाल बस व्यवसायी प्रा.लि बुटवलले बिगतमा सञ्चालन गरेको आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण प्रशिक्षण कार्यक्रम पुनः सुरु गरेको बताइएको छ ।

दुर्घटना न्यूनीकरणका लागि चालक तथा परिचालकहरूलाई अनुशासित र मर्यादित बनाई धनजनको क्षति रोक्न सकिन्छ भन्ने हेतुले तालिमको आयोजना सुरु गरेको आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण प्रशिक्षण कार्यक्रमका संयोजक नारायण घिमिरेले बताउनु भयो ।
चालक तथा मजदुरहरुलाई पेसाप्रति सचेत र जिम्मेवार बनाउने तथा यातायात क्षेत्रलाई मर्यादित र अनुशासित बनाई समाजमा सुरक्षित यात्रा सेवा प्रदान गर्न यो तालिम कोशेढंगा साबित हुने घिमिरेको भनाई छ ।

यस प्रकारको तालिम निरन्तर रुपमा सञ्चालन गरिने बताउँदै संयोजक घिमिरेले समय समयमा फिल्डमा पुगेर समेत अनुगमन गरिने र तालिममा सिकाइएका कुराहरु कार्यान्वयन नभएमा तत्काल कारबाही समेत गरिने बताउनु भयो । त्यसका लागि चालक तथा परिचालक अनुशासित मर्यादित बन्ने सवारी चालक अनुमति पत्र, विलबुक, सवारीको यान्त्रिक अवस्था, यात्रुप्रति गरिने व्यवहारआदीको समेत चेक जाँच हुने संयोजक घिमिरेले प्रस्ट पार्नु भयो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले सडकमा मुख्यतया: ४ कारणबाट सवारी दुर्घटना हुने बताउनु भयो  ।

प्रहरी निरीक्षक भण्डारीले लुम्बिनी प्रदेशको गत आर्थिक वर्षमा १हजार १ सय ६४ वटा सवारी दुर्घटना भएका छन् ।

जसमा चालकको लापवाहीबाट ९ सय ५९ वटा दुर्घटना भएको जनाइएको छ । जसमा मानिहरुको मृत्यु ५ सय ५१ र दुर्घटनामा कुल १हजार ७ सय २० जना घाइते भएको भण्डारीले बताउनु भयो । प्रहरी निरीक्षक भण्डारीका अनुसार १ सय ३० वटा बस र माइक्रो दुर्घटना भएको जुन ८दशमलव११ प्रतिशत रहेको छ । यस्तै बुटवल क्षेत्रमा भएका विभिन्न ६१ वटा दुर्घटनामा ५ जना मानिसको मृत्यु, ११ जना गम्भीर घाइते भएका थिए भने यस क्षेत्रमा ट्राफिक नियम उलङ्घन गर्ने ५ सय ९४ वटा सवारीलाई जरिवाना समेत गरेको जानकारी समेत गराएका छन् ।

पश्चिम नेपाल बस व्यवसायीका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले प्रत्येक वर्ष सवारी दुघटनामा करोडौँ रकम खचिनु परेको बताउँदै यसलाई केही हदसम्म यस्ता तालिमहरूले कम गर्ने बताउँदै कुशल र दक्ष चालकको नेपालमा कमी रहेको बताउनु भयो । सरकारले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआउँदासम्म यातायात व्यवसायी र यातायात क्षेत्रको विकास हुन नसक्ने बताउनु भयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका कृष्ण कँडेलले पेसालाई मर्यादित बनाउनका लागि चालक, परिचालक र हेल्परले आफूहरूलाई अनुशासित बनाउनु पर्ने बताउनुभयो ।