लागुऔषधसहित ७ जना पक्राउ

0
Shares

काठमाडौं ।

देशका विभिन्‍न स्थानबाट सातजना लागुऔषधसहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट अवैध लागूऔषध गाँजा ३ सय ५० ग्रामसहित सोही ठाउँ बस्ने काभ्रे घर भएका १७ वर्षीय किशोरसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

झापाकाे कनकाई नगरपालिका-२ जामुनखाडी सिमसारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय मिलिग्राम, नगद ३४ हजार रूपैयाँ र मोवाइल ३ थानसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय भानु दाहाल, ईलाम माई नगरपालिका-८ बस्ने ३९ वर्षीय आश बहादुर लिम्बु र ३२ वर्षीय उमेश राई रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीले भानु दाहालको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले मे.९ प ९२९६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

बर्दियाकाे बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ३० मिलिग्रामसहित सोही गाउँपालिका-२ सितापुर बस्ने ३९ वर्षीय रमेश बुढासमेत दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प ९४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।