आफिजद्वारा जारी लिगमा पहिलो ह्याट्रिक, आफिज एक्लैको ५ गोल



काठमाडौं । जारी शहिद स्मारक ए डिभिजन लिग २०७९ मा पहिलो ह्याट्रिक भएको छ । जारी लिगमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बने नाइजेरियन फरवार्ड ओलावाले आफिज । खुमलटार युवा क्लबविरुद्ध च्यासल मैदानमा उनले ५ गोल गर्दै मच्छिन्द्र क्लबलाई ७–३ को शानदार जित दिलाए । डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र यो जितसँगै उपाधि रक्षा गर्नेमा अग्रसर पनि भएको छ ।

पहिलो हाफमै २ गोल गरेका आफिजले दोस्रो हाफमा ३ गोल गरेका थिए । खेलको २४ औं मिनेटमा आफिजले गोल गर्दै १–० को अग्रता दिलाए । सुरज विकको लामो पासलाई अफिजले नियन्त्रणमा लिएर खुमलटारका डिफेन्डर सान्विल कोस्टालाई बिट गर्दै पेनाल्टी क्षेत्रभित्र बल लगेर गोल गरेका थिए ।

यसपछि आफिजले २९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । चेन्चो ग्याल्सेनको पासमा उनले विपक्षी गोलकीपर देब लिम्बुसँग वान भर्सेस वानमा गोल गरेका थिए । इन्ज्युरी समयको तेस्रो मिनेटमा विमल घर्तिमगरले अर्को गोल थप्दा मच्छिन्द्र पहिलो हाफमै ३–० को अग्रतामा रह्यो । गोलकीपर देवले जोगाएपनि बल फर्कियो र विमलले बललाई नियन्त्रणमा लिएर गोल गरेका थिए ।

आफिजले दोस्रो हाफको ५६ औं मिनेटमा पेनाल्टी गोलमार्फत् ह्याट्रिक पूरा गर्न सफल भए । विमलले गोलकीपर देवलाई छल्याएर गरेको प्रहार पदम भट्टराईले हातले रोकेका थिए । रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । आफिजले उक्त पेनाल्टीमा गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाए ।

६१ औं मिनेटमा मेसुके ओलोमोउले खुमलटारका लागि गोल गर्दै गोलअन्तर ४–१ मा खुम्च्याएका थिए । उनले स्टेफन बिनोङको पासमा पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । तर, आफिजले एक मिनेटमै अर्को गोल गरे । उनले पुजन नगरकोटीको पासमा गोल गरेका थिए । यो उनको खेलमा व्यक्तिगत चौथो गोल थियो । यो गोलले मच्छिन्द्रको अग्रता ५–१ भएको थियो । आफिजले ६८ औं मिनेटमा व्यक्तिगत पाँचौ गोल गरेपछि मच्छिन्द्रको अग्रता ६–१ भएको थियो ।

एता खुमलटारका लागि ७५ औं मिनेटमा स्टेफानले पेनाल्टीमा गोल गर्दै गोलअन्तर ६–२ मा खुम्च्याए भने ८१ औं मिनेटमा मेसुकेले अर्को गोल गर्दै गोलभिन्नता ३–० मा पु¥याएका थिए । तर, मच्छिन्द्रले फेरि एक गोल थपेपछि खुमलटारले खेलमा फर्र्कने सम्भावना पनि सकिएको थियो । विजय भुजेलले ८६ औं मिनेटमा गोल टोलीको सातौं गोल गरे ।

यो जितसँगै मच्छिन्द्रले ८ खेलमा १२ अंक जोडेको छ । जसमा, ३ खेलमा जित हासिल भएको छ । टोली २ स्थान सुधार गर्दै छैटो स्थानमा पुगेको छ । यस्तै नवप्रवेशी टोली खुमलटारको ८ खेलबाट ७ अंक रहेको छ । जारी लिगमा पाँचौ हार बेहोरेको यो टोली दशौं स्थानमा रहेको छ ।

आर्मीको जित

त्रिभुवन आर्मी क्लबले सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा जावलाखेल युथ क्लबलाई ३–१ ले हराएको छ । यो जितसँगै आर्मी १२ अंकसहित तीन स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लियो । आर्मीलाई जित दिलाउन जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले गोल गरेका थिए । पराजित जावलाखेलको १४ अंक रहेको छ । टोली दोस्रो स्थानमा यथावत रहेको छ । जावलाखेलको हारले १ अंकको अग्रतामा मनाङ शीर्ष स्थानमै बनिरहेको छ ।

आर्मीका लागि कप्तान जिलेस्पीले पहिलो हाफमा गोल गरेर अग्रता दिलाएका थिए । नवयुगले पेनाल्टीमा ५५ औं मिनेटमा गोल गरेपछि आर्मीले २–० को अग्रता लिएको थियो । जावलाखेलका सुनिल खड्काले ८२ औं मिनेटमा गोल फर्काएर गोलअन्तर २–१ मा खुम्च्याएका थिए । यसपछि आर्मीका लागि सुदिलले गोल थपेका थिए ।

प्रतिक्रिया दिनुहोस्