टेलरिङ व्यवसायबाट १० जनालाई रोजगारी (तस्बिरसहित)

0
Shares

म्याग्दी ।

पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरकी महिला उद्यमी हिरा शेरपुञ्जाले टेलरिङ व्यवसायबाट १० जनालाई रोजगारी दिनुभएको छ । आजभन्दा १८ वर्ष अगाडि टेलरिङ व्यवसाय सुरु गर्नुभएकी उहाँले अहिले आफूसहित १० जनालाई रोजगारी दिनुका साथै मनग्य आम्दानी गर्दै आउनुभएको हो ।

बाबियाचौरमा राजीव टेलर्स एण्ड लेडिज टेलरिङ सेन्टर स्थापना गरी सञ्चालन गर्नुभएकी महिला उद्यमी शेरपुञ्जालाई टेलरिङ सेन्टरमा कपडा कटिङ गर्न र सिलाउन भ्याइनभ्याई छ । पछिल्लोपटक उहाँले टेलरिङ व्यवसायलाई गार्मेन्ट उद्योगको रुपमा अगाडि बढाउनुभएको छ । सुरुमा ५० हजार रुपैयाँको लगानीमा एउटा मेसिनबाट उहाँले टेलरिङ व्यवसाय सुरु गर्नुभएको थियो ।

महिला उद्यमी शेरपुञ्जाले अहिले मासिक रुपमा टेलरिङ व्यवसायबाट ६० देखि ७० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको जानकारी दिनुभयो । उहाँले हाल तातोपानी कुण्डका लागि आवश्यक पर्ने कपडा तथा विद्यालय र कलेजस्तरका शिक्षक तथा विद्यार्थीहरुको पोशाकहरु सिलाउँदै आइरहनुभएको छ । उहाँको टेलरिङ व्यवसायमा अहिले १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सिलाइकटाई व्यवसायबाट प्राप्त आम्दानीले बाबियाचौरमा आफ्नै घर बनाएको, छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाएको, घरखर्च चलाएको र बचत गरेको शेरपुञ्जाले बताउनुभयो ।

टेलरिङ सेन्टरमा नियमित रुपमा विद्यालय तहका शिक्षक तथा विद्यार्थीको पोशाक, तातोपानी कुण्डमा स्नान गर्ने समयमा लगाउने महिला र पुरुषको सेट कपडा, कोट पाइन्ट, सर्ट पाइन्ट, कुर्ता सुरुवाल, लेङ्गा, फरिया, व्लाउजलगायत महिला र पुरुषका लागि आवश्यक सबैखाले कपडाहरु सिलाउने गरेको महिला उद्यमी शेरपुञ्जाले जानकारी दिनुभयो । उहाँले सुरुमा दरबाङमा तीन महिने सिलाइकटाई तालिम सिकेपछि सदरमुकाम बेनीमा पनि पुन: तीन महिनासम्म सिलाइकटाइको तालिम लिनुभएको थियो । राजीव टेलर्स एण्ड लेडिज टेलरिङ सेन्टरमा सिलाउने कामदारहरुले बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म काम गर्दै आइरहेका छन् ।

आगामी दिनमा टेलरिङ सेन्टरलाई गार्मेन्ट उद्योगको रुपमा विकास गरेर धेरैभन्दा धेरै कामदारलाई रोजगारी दिने योजना रहेको महिला उद्यमी शेरपुञ्जाले सुनाउनुभयो । टेलरिङ व्यवसायलाई उहाँका श्रीमान् भूपेन्द्र जुग्जालीले पनि सहयोग गरिरहनुभएको छ । सिजन चलेको समयमा महिनामै १०/१२ लाख रुपैयाँसम्म कारोबार हुने टेलरिङ व्यवसायमा वार्षिक रुपमा कुल २६ लाख रुपैयाँभन्दा बढी कारोबार हुने गरेको उहाँ बताउनुहुन्छ । बाबियाचौरमै टेलरिङ व्यवसाय सञ्चालन भएसँगै स्थानीय ग्राहकहरुलाई राहत समेत मिलेको छ ।

टेलरिङ व्यवसायबारे थप जानकारी दिँदै महिला उद्यमी शेरपुञ्जाले भन्नुभयो– ‘सानो लगानीबाट सुरु गरेको पेशा अहिले १८ वर्ष पुग्यो । पेशालाई अगाडि बढाउँदै जाँदा समय र ठाउँको माग तथा प्रविधिको विकाससँगै स्तरोन्नति गरेकी छु । पहिला दलित समुदायले मात्रै सिलाइकटाई गर्ने हुँदा कतिपयले मलाई मगर भएर पनि दलितले गर्ने काम गरेको पनि भने । तर अरुले जेसुकै भने पनि पैसा कमाउन आफूसँग भएको सिप गरेकी हुँ ।’

शेरपुञ्जाको टेलरिङ सेन्टरमा अहिले बाबियाचौर, अर्मन, दरबाङलगायत विभिन्न ठाउँबाट कपडा सिलाउने अर्डर आउने गरेको छ । बढ्दो प्रविधिको नयाँनयाँ विकास तथा समयको मागअनुसार मेसिनहरु थप गरिएको छ भने पूर्व मन्त्री नरदेवी पुनले सिलाई मेसिन सहयोग गरेको टेलरिङ सेन्टरले जनाएको छ ।