आफ्नै सहकर्मीमाथि गोली चलाउँदा ५ को मृत्यु, ८ जना घाइते

0
Shares

अमेरिकाको केन्टकी राज्यमा एक जना बैंकका कर्मचारीले गोली हानेर पाँच जना सहकर्मीको हत्या गरेका छन् ।

द न्युयोर्क टाइम्सका अनुसार लुइभिल सहरको ओल्ड नेशनल बैंकका कर्मचारीले सहकर्मीमाथि सोमबार राइफलले गोली हानेका हुन् ।

गोली लागेर बैंकका बरिष्ठ उपाध्यक्षको पनि मृत्यु भएको छ। घाइते भएका ८ जनामध्ये दुईको अवस्था गम्भीर छ ।

गोली हान्ने कर्मचारी कोनर स्टर्जनको पनि मृत्यु भएको छ । उनले आफैंलाई गोली हानेका हुन् कि प्रहरीको गोली लागेर मारिएका हुन भन्ने खुलेको छैन ।

२५ वर्षका स्टर्जन गत वर्षमात्र उक्त बैंकमा पूर्णकालीन कर्मचारी नियुक्त भएका थिए । त्यसअघि उनले बैंकमा इन्टर्नसिप गरेका थिए ।

सहकर्मीमाथि उनले किन गोली हाने भन्ने कारण खुलिसकेको छैन । स्रोतलाई उद्धृत गर्दै सिएनएनले  स्टर्जनलाई जागिरबाट निकालिएको सूचना दिएको उल्लेख गरेको छ ।

स्टर्जनले गोली हानेको दृश्य आफ्नो सामाजिक सञ्जालबाट लाइभ गरेका थिए ।

अमेरिकामा कानुनी रूपमै बन्दुक किन्न र राख्न पाइन्छ । बन्दुक सबैका पहुँचमा हुने भएकाले  बेलाबेलामा गोली काण्डका घटनाहरू भइरहन्छन् । -एजेन्सी