राम्रो विज्ञ अपनाउनु नै समस्याको समाधान

0
Shares

हाम्रो मुलुकको ठूलो दुर्भाग्य भन्नु नै देश चलाउनेहरुले राम्रा–राम्रा विज्ञहरुको कुरा नसुन्नु नै मान्न सकिन्छ । यसबाहेक मानिसहरुको आचरण र राम्रो संस्कारको विकास नहुनु पनि हो । देश चलाउनेहरुलाई हे¥यो भने सधैँ कानमा कपास कोचेर बसेका हुन्छन् । देश चलाउनेहरुमा सधैँ आफ्नो मान्छेको चिन्ता, पार्टीका लागि आर्थिकको चिन्ता, आसेपासेको चिन्ता आदि नै देश उध्र्व गतिमा नजानुको कारण मान्न सकिन्छ । यो देशमा सधैँ काण्ड, आन्दोलन, कलह आदि भइरहेको देखिन्छ । यस्तैमा नेपालीहरुको जीवन गुज्रिराखेको छ । मुलुक नसुध्रनुको एउटा मुख्य कारण यसलाई पनि मान्न सकिन्छ । यस्तो अवस्थामा हामीले मुलुकको द्रुत विकास र रमाइलो मुुलुकको कसरी अपेक्षा गर्ने ? यी सबका लागि अझै समय नै नआएको हो वा भगवानकै आशिर्वाद नभएको हो ? यी कुराहरु भने बुझ्न गाह«ो भएको छ । तैपनि आशा गरौं, सकारात्मक होऊँ, एक दिन हाम्रो देश राम्रो कसरी नबन्ला त !

सरकारी कार्यालयको कुरा गर्दा, ठूला ओहदाका कर्मचारीहरु प्रायः दास मानसिकता लिएर आफ्नो जीवन बिताइराखेका हुन्छन्, कारण यहाँसम्म आउन यिनीहरुले माथिको आशिर्वाद पाएका हुन्छन् या माथिकाहरुलाई भेटी चढाएका हुन्छन् । यसका लागि यिनीहरुले निकै पापड बेलेका हुन्छन् । त्यसकारण यिनीहरुले देशका लागि हित, अहित दुवै काम गरिराखेका हुन्छन् । शायद यसैले होला देशका धनीहरुमा यिनीहरु पनि पर्न जान्छन् । तर यसको लेखाजोखा कसले गर्ने ? यहाँको कानुन, प्रधानमन्त्री वा यहाँका जनता ! जहाँसम्म लाग्छ कोही छैन, त्यसैले आजसम्म यिनीहरु शक्तिशाली भएर बसेका छन् ।

अहिले देशमा रहेका सर्वसाधारण, समाज, जनता आदिका कुरा गर्ने हो भने थरी–थरीका मानिस, अनेक सोच, पुराना संस्कारजस्ता कुराहरुमा बदलाव आउनुपर्ने देखिन्छ । कारण अन्धविश्वास, स्वार्थ, लालच, अल्लारेपन, ज्ञान तथा शिक्षाको कमीले गर्दा हामीले एउटै मात्र कुरा सिकेका छौं । त्यो हो कमाउने, पेट भर्ने, नकारात्मक र उदासीन कुरा लेख्ने÷पढ्ने । यो बाहेक फुर्सदमा एकले अरुलाई गाली थोपर्ने हो । त्यसकारण सर्वप्रथम हामी सच्चिऊँ र निःस्वार्थी भएर एकले अर्कालाई राम्रो बनाउने प्रयास गरौं । तर यसको लागि स्वार्थ, डर र अल्छी भावनालाई त्याग्न सक्नुपर्दछ । यति मात्र हामीले गर्न सक्यौं भने एउटा राम्रो संस्कारको विकास हुनुको साथै मुलुक पनि राम्रो हुँदै जाने हुन्छ ।

जबसम्म आचरणमा सुधार आउँदैन तबसम्म राम्रो भविष्यको कल्पना गर्नु बेकार छ । मानिस सक्षम हुँदै जाने हो भने देशका खराब नेता र कर्मचारीतन्त्रलाई लगाम लगाउन गाह्रो कार्य होइन । तर यहाँका मानिस नै सधैँ नेताहरुको दास हुन चाहने, खान, पिउन, कमाउनको लागि मात्र मरिहत्ते गर्ने हो भने भन्नु केही छैन । अहिले देशमा भइराखेको पनि यही नै हो ।

यो देशको विडम्बना र दुःख लाग्दो कुरा एउटा के छ भने, सर्वप्रथम सरकारलाई फाइदा हुने कुरा भयो भने दिमागले छिटो काम गरिहाल्छ र तुरुन्त भई नै हाल्छ । जस्तै– ई पासपोर्ट, इम्बोस्ड नम्बर, राष्ट्रिय परिचय पत्र, टेलिफोन नम्बर परिवर्तन आदि । यस्ता अरु पनि कार्य होलान्, त्यस्ता कार्य गर्न सरकार तथा सरकारी कर्मचारीहरु अति आतुर देखिन्छन् । यसको पछाडि के स्वार्थ छ ? त्यो हामीलाई थाहा छैन । हामी यो भन्दैनौं कि यी कार्यहरु गलत हुन् । तर हाम्रो भनाइ के छ भने, हाम्रो मुुलुकमा अहिलेको परिप्रेक्ष्यमा सामाजिक जटिल समस्या यति छन् कि सरकारले पहिला यस्ता कुराहरुमा ध्यान पु¥याउनु जरुरी छ । जस्तै– प्रशासनिक झमेला, सामाजिक सुनुवाइ, महँगी नियन्त्रण, अनावश्यक आयात कन्ट्रोल आदि । त्यसकारण सरकारी जिम्मेवार व्यक्तिहरुले यी कुराहरुका लागि जाँगरिलो हुनु जरुरी छ । जिन्दगीभर लोभी, लालची भएर नबसौं ।

एकपल्ट फेरि दोहो¥याएर भन्नुपर्दा अहिले पनि प्रायः मानिसको उद्देश्य नै देश बनाउनेतिर नलागी सरकारी कुर्सीमा जाने, पैसा कमाउने, मोजमजा गर्ने, परिवारको भविष्य सुनिश्चित गर्ने हो । तर हामी भन्छौँ कि जीवनमा पैसा कमाउनको लागि मानिस यति तल झरेर स्वार्थी पनि बन्नुहुँदैन । अहिले देशको अवस्थालाई हेर्दा हामीले यो भन्न सक्छौं कि देश बनाउन सरकारी कुर्सीमा नै जानुपर्दैन, बल्की गलत गर्नेलाई थर्काएर सामाजिक सेवा गर्न सकिन्छ । यसबाहेक एउटा मानिसले व्यक्तिगत तवरले पनि लेखेर, सम्झाएर, बुझाएर, सुझाव दिएर आदि कार्यबाट समाज तथा मुलुक परिवर्तन गर्न सकिन्छ । यी कुराहरुका लागि हामी किन चुकिराखेका छौं ? यसको लागि मानिसको स्वार्थी सोच बदल्नु जरुरी छ । यति कार्य पनि हामीले नगर्ने हो भने मानिस भएर हामीले जन्म लिएको के काम लाग्यो र ? हुन त पहिलाको अनुपातमा मानिसहरु चनाखो भएका देखिन्छन् तर अपुग छ । मुलुक राम्रो हुँदै जाने यसरी नै हो, नकि एकले अर्कालाई दोष र गाली गरेर हुने हो ।