बेलर किड्स क्यास्टलमा ३५ विद्यार्थी दीक्षित

0
Shares

काभ्रे। 

बनेपामा रहेको बेलर इन्टरनेशनल एकेडेमीले संचालन गरेको मण्टेश्वरी किण्डर गार्डेन ‘किड्स क्यास्टल’ बाट १२ औ समूहका बालबालिकाहरु दीक्षित भएका छन् । हरेक वर्ष विद्यालयले कक्षा १ मा जाने विद्यार्थीहरुलाई दीक्षित गराउँदै आएको छ । दीक्षित विद्यार्थीहरु युकेजी उर्तिण भएका हुन् ।

‘बालबालिकाहरुलाई सानैदेखि नैतिकवान, चरित्रवानसँगै शिक्षित बनाउन दीक्षित कार्यक्रम आयोजना गरिएको हो’–विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाले भन्नुभयो–‘शिक्षा उपलब्ध गराएर मात्रै बालबालिकाहरुलाई असल नागरिक बनाउन सकिँदैन । किड्स क्यास्टलले बालबालिकाहरुको सर्वाङ्गीण विकासका निमित्त महत्त्वपूर्ण योगदान पु¥याएको छ ।’

दीक्षित कार्यक्रममा ३५ जना बालबालिकाहरुले परिचयात्मक कार्यक्रममा आफूले सिकेको, भविष्यमा आफूलाई मन पर्ने पेसा, अहिलेको रुचि र अवस्थासँगै पारिवारिक र विद्यालयको विषयमा धारणा राखेका थिए । किड्स क्यास्टलकी प्रिन्सिपल सविना कारञ्जितले बालबालिकाहरुको सिकाईमा उनिहरुको क्षमता र दक्षतालाई पक्रेर उनीहरूलाई सही मार्गमा अघि बढ्न सक्ने अवस्था हासिल गराउन सक्नु नै महत्त्वपूर्ण रहेको बताउनुभयो । भर्खर विद्यालय आउन थालेका बालबालिकाहरुलाई असल संस्कार, अनुशासन र चरित्रवान् बनाउन मन्टेश्वरी शिक्षा प्रभावकारी रहेको प्रिन्सिपल सविना कारञ्जितले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका डाइरेक्टर पवन थापा, विद्यालयकी प्रिन्सिपल इन्दु थापा, नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले बालबालिकाहरुलाई असल मार्ग र सकारात्मक सोच तथा चिन्तनमा बदल्न मन्टेश्वरी कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।