विकट पालिकामा ‘महँगो’ एसईई 

४ सय ७५ विद्यार्थीको २३ लाख ७५ हजार खर्च

0
Shares

काभ्रे।

 जिल्लाको विकट पालिका महाभारत र खानिखोला गाउँपालिकामा रहेका तीन वटा परीक्षा केन्द्रमा १५ विद्यालयका ४ सय ७५ विद्यार्थीहरुका लागि एसईई महँगो बनेको छ । अपायक केन्द्रका कारण विद्यार्थीहरुले खाना र खाजाका लागि मात्रै २३ लाख ७५ हजार रुपैयाँ खर्च गरेका छन् ।

‘टाढा टाढाका विद्यालयबाट आएका विद्यार्थीहरुका लागि डेरा लिएर बस्नु पर्ने अवस्था छ’–गोकुले माविका प्रधानाध्यापक पदम तिमल्सिनाले भन्नुभयो–‘परीक्षामा सहभागी विद्यार्थीहरुले खाना र खाजाको मात्रै नगद ५ हजारका दरले एकमुष्ट खर्च गर्ने गरेका छन् ।’ विद्यार्थीहरुको सहयोगका लागि विद्यालय आसपासका अभिभावकहरुले डेरा भाडा नलिने मात्रै हैन बिहान ४ बजे देखि उठेर नास्ता तयार गरिदिने गरेका छन् ।

विद्यार्थीहरुको सहजताका लागि बिहानको नास्ता, खाना, दिउसोको खाजा र साँझको खाना उपलब्ध गराए बापत ११ दिनको ५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएका छन् । ‘सस्तो, गुणस्तरीय र सहज रुपमा परीक्षा केन्द्रको विद्यालय आसपासका अभिभावकहरुले सहयोग पु¥याउनु भएको छ’–गोकुले मावि परीक्षा केन्द्रमा सहभागी परीक्षार्थी रिना मगरले भन्नुभयो–‘घरमै बसेर एसईई दिन पाएको भए यो खर्च र दुख ब्यहोर्नु पर्दैन थियो कि ?’ विद्यार्थीसँग उनका अभिभावक र विद्यालयका शिक्षक पनि सँगै छन् । त्यसो हुँदा एसईई परीक्षाका लागि मात्रै खाना र खाजामा सोही क्षेत्रमा यो अवधिमा करिब ३० लाख रुपैयाँ नगद कारोबार भएको तथ्याङ्कले देखाएको छ ।

महाभारत गाउँपालिकामा गोकुले मावि र जनकल्याण माविमा परीक्षा केन्द तोकिएको छ भने खानिखोला गाउँपालिकामा जनविकास माविमा ताल्ढुंगामा केन्द्र तोकिएको छ । गोकुले माविमा जनकल्याण मावि घर्तिछापका ३३, जनविकास मावि ताल्ढुंगाका ५२, कालीदेवी मावि गोकुलेका ३०, भैरव मावि धापका २५, जनमोहन मावि बनखुका ६०, कुमारी मावि जगथलीका २५ गरी २ सय ४३ जनामा २ सय ३८ विद्यार्थी सहभागी छन् । त्यस्तै जनकल्याण मावि घर्तिछापमा सिद्धेश्वरी मावि फोक्सिङ्गटारका ३९, गोकुले मावि गोकुलेका ३३ र ग्रामोन्नती मावि बुढाखानी किल्लाका ४८ गरी १ सय २० जना विद्यार्थी सहभागी छन् ।

खानिखोला गाउँपालिकाको जनविकास मावि ताल्ढुंगामा बालविकास मावि फलामेटारका १९, जनहित मावि मिल्चेका १९, बुद्ध मावि मिल्चेका १६, शारदा मावि साल्धाराका १६, धार्नेज्योती माजी धार्नेका २६ र भृकुटी मावि सौरेका १६ गरी १ सय १२ जना विद्यार्थी सहभागी छन् । परीक्षामा सहभागी सबै विद्यार्थीहरु परीक्षा केन्द्र डेरामा छन् । परीक्षा केन्द्रबाट धेरै टाढा पर्ने विद्यालय र विद्यार्थीका घरका कारण उक्त समस्या भोग्नु परेको परीक्षामा सहभागीहरूले बताएका छन् ।

परीक्षाको अनुगमनका लागि महाभारत र खानिखोला पुग्नु भएका शिक्षा समितिका प्रमुख दीपक कुमार गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले अब्यवहारिक परीक्षा केन्द्रका बारेमा आगामी वर्ष परामर्श गरेर केन्द्र तोकिने बताउनु भयो । पूर्वाधार अभावका बाबजुत बालबालिकाहरुको बसाई र परीक्षाको तयारीले गुणस्तरीय परीक्षामा समेत विद्यार्थीहरुले प्रश्न उठाएका छन् ।