एसईई दिने नक्कली विद्यार्थीको ताँती- एकैदिन १९९ नक्कली परीक्षार्थी पक्राउ, अधिकांश नातेदार

0
Shares

विराटनगर । एसईई परीक्षा सञ्चालन भइरहँदा मोरङमा एकै दिन ठूलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्लाका विभिन्न विद्यालयबाट एसईई परीक्षा दिँदै गरेका १ सय १६ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार बिहीबार मोरङको ग्रामथान गाउँपालिकास्थित सरस्वती माविमा ५२, केराबारी गाउँपालिकास्थित सार्वजनिक माविमा १२७ र सुन्दरहरैँचा नगरपालिकास्थित जनता माविमा २० जना परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।

बुधबार मोरङको ग्रामथानस्थित सरस्वती माविमा १ युवतीलाई नक्कली परीक्षार्थीका रूपमा पक्राउ परेपछि प्रहरी र मोरङको शिक्षा विकास तथा समन्वय इकाइले परीक्षामा निगरानी बढाएको छ । प्रहरी प्रवक्ता दाहालका अनुसार प्रहरीले बुधबारबाटै परीक्षा भइरहेको केन्द्रमा सूक्ष्म ढंगबाट आफ्नो निगरानी बढाउने क्रममा नक्कली विद्यार्थी पक्राउ गरेको हो । यससँगै परीक्षा दिन लगाउने गिरोह नै सक्रिय भएको हुन सक्ने आशंकाबाट प्रहरीले अनुसन्धान शुरू गरेको उहाँले बताउनुभयो ।

बुधबार खुलातर्फ विज्ञानको परीक्षामा नक्कली विद्यार्थी पक्राउ परेसँगै बिहीबार सामाजिक शिक्षाको परीक्षा दिने क्रममा यति ठूलो संख्यामा नक्कली विद्यार्थी पक्राउ परेका हुन् । मोरङका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख टंक गौतमले परीक्षा दिएका र पक्राउ परेकालाई कानुनी कारबाही हुने जानकारी दिनुभयो । पक्राउ गरिएका अधिकांश विद्यार्थीको प्रवेश पत्रमा नाम सही भए पनि फोटो उप्काएर नक्कली विद्यार्थीले परीक्षा दिँदै आएको खुलेको उहाँले बताउनुभयो ।

डीएसपी दाहालका अनुसार नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको छ । घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाइ मोरङका प्रमुख गौतमको टोली पुगेको छ । परीक्षा भइरहेका बेला जाँचकीले प्रवेशपत्रको फोटोमा शंका लागेपछि परीक्षार्थीको जन्ममिति सोधेका थिए । तर, भन्न नसकेपछि केरकार गर्दा उनीहरू नक्कली परीक्षार्थी रहेको फेला परेका हुन् । बुधबार मोरङको ग्रामथान गाउँपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालयबाट एसईईको परीक्षा दिइरहेकी २८ वर्षीया सुस्मिता लिम्बूलाई प्रहरीले नियन्त्रणमा लियो । उनलाई अर्काको नाममा परीक्षा दिएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी नक्कली परीक्षार्थी भएको पुष्टि भएपछि बिहीबार थप अनुगमन बढाइयो ।

अनुगमनका क्रममा ठूलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परे । आज मोरङमा १९९ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख गौतमले पक्राउ परेका नक्कली परीक्षार्थी सम्बन्धित विद्यार्थीका नातेदार भएको बताउनुभएको छ । ‘पक्राउ पर्नेहरूमा अधिकांश सम्बन्धित विद्यार्थीका नातेदार छन्’, उहाँले भन्नुभयो– ‘कोही आफन्त, कोही साथी छन्, सबै नजिकका चिनजानका मान्छे छन् ।’ उहाँले भाषा शिक्षण गराउने र ट्युसन सेन्टरहरू अत्यधिक भएको जिल्ला भएका कारण मोरङमा धेरै नक्कली परीक्षार्थी देखिएको हुन सक्ने बताउनुभयो । उहाँले एउटा विद्यार्थीको नाममा अर्को विद्यार्थी गएर परीक्षा दिने कुरा शिक्षाको जटिल विषय भएको बताउनुभयो । उहाँले अन्य ठाउँ, अन्य जिल्लामा पनि यस्ता नक्कली परीक्षार्थी हुन सक्ने आशंका व्यक्त गर्नुभयो ।

यस्तै, मोरङ प्रहरीका प्रवक्ता दाहालले अर्काको नाममा जाँच दिन नपाउने कुरा शिक्षा ऐनमै निषेध गरिएको बताउँदै पक्राउ परेकाहरूको परीक्षा स्वतः रद्ध हुने बताउनुभयो । शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली–२०५९ मा अरूको नाममा परीक्षा दिनेलाई १ लाखसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । नक्कली परीक्षार्थीहरूलाई यही ऐनअन्तर्गत कारबाही हुने दाहालले बताउनुभयो । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि मोरङबाट १८ हजार १ सय १२ जना विद्यार्थी सहभागी छन् । जिल्लाभर ७१ वटा परीक्षा केन्द्रमा ७१ जना केन्द्राध्यक्ष रहेका छन् । सहायक केन्द्राध्यक्ष ११६ जना रहेका छन् भने परीक्षाका लागि ९३७ जना निरीक्षक खटिएका छन् ।

नियमिततर्फ १७ हजार २ सय ९५, प्राविधिक धारतर्फ ६ सय ४४, ग्रेडवृद्धि १ सय ७३, नियमित खुल्लातर्फ एक हजार ३२ गरी १८ हजार एक सय १२ जना परीक्षार्थी एसईई परीक्षामामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ । मोरङका १७१ वटा सामुदायिक र २२३ वटा संस्थागत गरी ३९४ वटा शैक्षिक संस्था एसईईमा सहभागी छन् ।