जनस्तरबाट सञ्चालित सामुदायिक क्याम्पसमा राज्यको लगानी बढाउन माग

0
Shares

काठमाडौं । जनस्तरबाट सञ्चालित सामुदायिक क्याम्पसका लागि राज्यले लगानी बढाउनुपर्ने माग गरिएको छ । नेपाल पब्लिक क्याम्पस सङ्घको आसन्न १५औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा सामुदायिक क्याम्पसको सञ्चालनका लागि प्रादेशिक र केन्द्रीयस्तरमा पब्लिक विश्वविद्यालय स्थापना हुनुपर्नेमा पनि जोड दिइएको छ ।

सङ्घका गण्डकी प्रदेश संयोजक एवं तनहुँको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हडखलेले उच्चशिक्षा क्षेत्रमा विद्यार्थीको विदेश पलायन र कक्षा छाड्ने प्रवृत्ति रोक्न सामुदायिक क्याम्पसले तयार गरेका कार्यक्रमका आधारमा सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।

उहाँले उच्च शिक्षाको एक तिहाइ हिस्सा ओगट्ने सामुदायिक क्याम्पसलाई प्राविधिक एवं बजारको माग अनुसारका उच्च शिक्षाका कार्यक्रम सञ्चालनको अवसर प्रदान गर्ने गरी सम्बन्धनको नीति ल्याउन सुझाव दिँदै प्राविधिक विषयको सम्बन्धन निजी कलेजलाई मात्रै दिइँदा शिक्षामा व्यापारीकरण बढेको गुनासो गर्नुभयो ।

हाल मुलुकमा उच्च शिक्षा प्रदान गर्ने एक हजार चार सय ४० शिक्षण संस्था रहेकामा एक सय ५० आङ्गिक, पाँच सय ३७ सामुदायिक र सात सय ५३ निजी रहेका छन् । त्रिभुवन विश्वविद्यालयमा मात्रै एक हजार एक सय ४४ क्याम्पस छन् भने तीमध्ये ६१ आङ्गिक, पाँच सय २८ सामुदायिक र पाँच सय २४ निजी कलेज सञ्चालित छन् ।