फुटबलर सुमित सम्मानित

0
Shares

पोखरा । हालै सिनियर राष्ट्रिय टिमबाट डेब्यु गरेका सुमित श्रेष्ठ उर्फ मेस्सीलाई पोखरामा सम्मान गरिएको छ ।

काठमाडौंमा सम्पन्न थ्री नेसन्स कपमा सिनियर टोलीबाट डेब्यु गरेका पोखराका सुमितलाई स्पोट्र्स क्यासलले सम्मान गरेको हो । पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका स्पार्टस् क्यासलका सञ्चालक इश्वर गुरुङ र विजया गुरुङले फुटबलर श्रेष्ठलाई खादा माला तथा सम्मानपत्र सम्मान गरेका हुन ।

गुरुङले उदीयमान खेलाडी श्रेष्ठको उज्जल भविष्यको कामना गर्दै छोटो समयमानै सिनियर टोलीमा पर्दै डेब्यु समेत गरी उपाधी जित्न सफल भएकोमा सम्मान गरेको बताए ।

उनले श्रेष्ठलाई बाल्यकालदेखि नै हातेमालो गर्दै आएको स्मरण गर्दै अहिले आएर श्रेष्ठ आफ्नो सपना नजिक पुगेको उल्लेख गरे । ‘यिनीहरुलाई मैले सानैदेखि हातेमालो गर्दै आएको छु, उनले भने, ‘थ्री नेसन्स कपमा डेब्यु गर्दै देशको नाममा खेल्ने सपना अहिले आएर पुरा हुदैछ । आगामी दिनमा थप राम्रो गर्न चुनौती पनि छ त्यसका लागि म शुभकामना व्यक्त गर्दछु ।’ गुरुङले राष्ट्रिय टिममा स्थान रहिरहनका लागि कडा मेहनत गर्नुपर्ने धारणा राखे । ‘सुमितको लागि यो अवसर निकै महत्वपूर्ण छ । र त्यतिकै चुनौती पनि छ । किनभने खेलाडीहरु निकै जन्मिरहेका छन् त्यसैले कडा मेहनत र परिश्रमी बन्नु आवश्यक छ’ उनले भने ।

सम्मान ग्रहण गर्दै फुटबलर सुमित श्रेष्ठले आगामी दिनमा थप राम्रो गर्ने हौसला मिलेको बताए । उनले आफु एउटा सपना नजिक पुगेको बताउदै थप मेहनत गर्ने सुनाए । ‘म तपाइहरुकै मायाले यहाँसम्म पुगेको छु । यो सम्मानले मलाई थप जिम्मेवार बनाएको छ, श्रेष्ठले भने, ‘म बोक्न मात्रै तयार छैन । गन्तव्यमा सकुशल अवतरण गराउन पनि तत्पर छु । त्यसैले झन कडा मेहनत गर्ने प्रण गर्दछु ।’

उनले आगामी दिनमासमेत आफुलाई साथ र सहगोग गर्न आग्रह गरे । ‘तपाइहरुको माया मेरो एउटा पावर हो जसले गर्दा म सधै छलाङ मार्न सकिरहन्छु, उनले भने ‘त्यसैले साथ र माया दिइरहनु होला ।’

सो अवसरमा श्रेष्ठलाई केल्मीको आधिकारिक विक्रेता शोरुमको तर्फबाट राज रम्तेलले आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठ जारी शहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबबाट खेलीरहेका छन् ।