प्रत्यारोपण ऐनको कार्यान्वयनमा समन्वय र सहकार्यको खाँचो



काठमाडौं । मस्तिष्क मृत्युपछि अंगदान गर्ने कानुन २०७२ सालमा बन्यो तर अहिलेसम्म मस्तिष्क मृत्यु भएका ५ जनाबाट १० जनालाई अंग प्रत्यारोपण गर्न सफल भइयो तर यसमा सोचेजस्तो प्रतिफल आउन सकेन ।

यो भनाइ हो, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठकोे । आइतबार स्वास्थ्य पत्रकार मञ्चको आयोजना तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा आयोजित मस्तिष्क मृत्युपश्चात् अंगदानमा देखिएका कानुन तथा व्यावहारिक जटिलताका विषयमा सरोकारवाला निकायहरूसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले उक्त भनाइ राख्नुभएको हो । उहाँले मस्तिष्क मरेपछि फर्केर नआउने तर भेन्टिलेटर, औषधि, अक्सिजनको सहायताले अन्य अंगलाई जोगाउन सकिने भएकोले ती अंगहरू निकालेर अरूलाई बचाउन सकिने बताउनुभयो । भेन्टिलेटर प्रविधिसँगै मस्तिष्क मृत्यु भएकाको अंगदानको प्रावधान विश्वमा भित्रिएको हो । अस्पतालबाहिर मृत्यु भएकाको आँखाबाहेक अन्य अंग अहिलेसम्म दान लिने गरेको पाइन्न ।

डा. श्रेष्ठले नेपालमा वर्षेनी ६ हजार जनाको मस्तिष्क मृत्यु हुने भए तापनि कानुन बनेको यतिका वर्षसम्म पनि नेपालकै जेठो वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायतका अस्पतालबाट ब्रेन डेथको खबर कमै मात्र आउने बताउनुभयो । उहाँका अनुसार ७ वर्षको अवधिमा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूबाट ३५ वटा बे्रन डेथका घटनाका बारेमा जानकारी आए तापनि सबै लिन र दिन सक्ने अवस्था रहेन । प्रत्यारोपण ऐनमा नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिम मस्तिष्क मृत्युको खबर हुनपर्छ भन्ने शब्द उल्लेख गरिएको छ । मस्तिष्क मृत्यु भन्नाले मस्तिष्क स्टेमको मृत्यु सम्झनुपर्छ र सो शब्दले मस्तिष्कको ग्रहण गर्ने र प्रतिक्रिया दिने क्रियाकलापमा अप्रत्यावर्तनीय क्षति भएको अवस्थालाई बुझ्नुपर्छ । अप्रत्यावर्तनीय क्षति भन्नाले मस्तिष्कको क्रियाकलाप पुनः काममा आउन नसक्ने गरी पूर्ण रूपमा क्षति भएको अवस्था सम्झनुपर्छ भन्ने ऐनमा उल्लेख छ ।

ब्रेन डेथ घोषणा गर्नका लागि उपचारमा संलग्न नभएको छुट्टै टीम हुने कानुनी व्यवस्था छ । तोकिएको समितिले अंग निकाल्नु पहिला दान लिनेको प्राथमिकताको सूची बनाउनुपर्ने र त्यसपछि स्वास्थ्य संस्थाले मस्तिष्क मृत्यु भएकाको परिवार स्पष्ट जानकारी गराई अंगदान गर्ने स्वीकृति लिनुपर्ने कानुनमा उल्लेख छ । त्यसपछि ब्रेन डेथका बारेमा नेपाल सरकारले तोकेबमोजिम समन्वय इकाई नतोकिएसम्म मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको समन्वय समितिले सरोकारवाला निकाय र तोकिएको मापदण्ड पालना गरि मष्तिष्क मृत्यु भएका व्यक्तिको शरीरबाट अंग निकाल्न सक्छन् । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी समन्वय इकाई तोक्ने बताइएको छ । अंग निकालिएपछि प्रत्यारोपण गर्ने प्रयोजनको लागि अंग ग्रहण गर्ने व्यक्तिको तोकिएबामोजिम प्राथमिकता क्रमको सूची बनाई त्यसैअनुसार अंगदान गर्नुपर्ने पनि ऐनमा उल्लेख छ ।

मस्तिष्क मृत्यु घोषणा गर्न जाँचबुझ समिति बनाई प्रक्रिया पूरा गरिसकेपछि दुर्घटनाबाट मस्तिष्क मृत्यु भएको पुष्टि भएपछि पोस्टमार्टम गर्नु पहिले अंग झिक्ने स्वीकृति दिने प्रयोजनका लागि सम्बन्धित अस्पतालले तोकेको अधिकृत स्तरको कर्मचारी संयोजकत्वमा एक जाँचबुझ समिति गठन हुनेछ ।

त्यसै गरी प्रत्यारोपणका लागि स्वीकृत समिति स्वास्थ्यमा संस्थाले तोकेको चिकित्सक संयोजक, अधिकृत प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय सदस्य, स्वास्थ्य संस्थाका प्रशासन शाखा प्रमुख सदस्य र स्वास्थ्य संस्थाका कानुनी सल्लाहकार सदस्य रहने व्यवस्था रहेको छ ।

कार्यक्रममा मस्तिष्क मृत्युका कानुन बनाउने पहिलो चरणदेखि संलग्न फरेन्सिक मेडिकल विशेषज्ञ प्राडा हरिहर वस्तीले अंगदाताको परिवारको स्वीकृति र ओटी नोट सम्बन्धित अस्पताल र पोस्टमार्टम विभागमा समेत पठाउँदा स्पष्ट रिपोर्ट बन्ने र अनावश्यक कानुनी झमेला कसैले पनि व्यहोर्नुनपर्ने बताउनुभयो ।

वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्तले मस्तिष्क मृत्युसम्बन्धी ऐनको कार्यान्वयनमा समन्वय र सहकार्यको खाँचो रहेको बताउनुभयो । मस्तिष्क मृत्यु भएपछि विस्तारै मुटु, कलेजो, मिर्गौला हुँदै सबै अंग मर्दै जाने भएकोले यसरी सबै अंग मर्नअघि नै अंग निकाले मात्र अर्को बिरामीमा प्रत्यारोपण गर्न मिल्ने जानकारी दिँदै उहाँले भन्नुभयो– ‘यो विषयमा मस्तिष्क मृत्यु हुनेका आफन्तलाई बुझाउन सक्नुपर्छ ।’ कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पना श्रेष्ठले सन् २०१४ सम्म नसर्ने रोगबाट मृत्यु हुनेको संख्या ६० प्रतिशत रहेकोमा सन् २०२२ मा ७२ प्रतिशत पुगेको र प्रत्येक १० जनामध्ये १ जनामा मिर्गौलाको समस्या रहेको पाइएको बताउनुभयो । उहाँले नेपालमा सन् २००८ देखि मिर्गाैला प्रत्यारोपण शुरू भएको र हाल वर्षमा २ सय जनाको हाराहारीमा नेपालमा मिर्गौला प्रत्यारोपण हुने गरेकोमा ९८ प्रतिशत सफलता प्राप्त भएको बताउनुभयो ।

नेपालमा प्रत्येक वर्ष १ हजार जनामा कलेजोको समस्या र ३ हजार जनामा मिर्गाैलाको समस्या हुने गरेको जिकिर गर्दै उहाँले यसको निराकरणका मस्तिष्क मृत्यु भएकाहरूको अंग प्रत्यारोपण गर्न सक्ने वातावरण बनाउन सबै सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्