सन्दर्भ : राष्ट्रिय सहकारी दिवस- सहकारीमा समस्या आउनुको कारण र सुधारको बाटो

0
Shares

प्रायजसो सहकारीमा तलरताको समस्या विकरालरुपमा आइरहेको अवस्थामा नै राष्ट्रिय सहकारी दिवस २०७९ आएको छ, मनाउँदै पनि छौं । सरसर्ती हेर्दा सहकारीहरुमा समस्या अहिले मात्र आएको जस्तो देखिन्छ । त्यसमाथि पनि सतहीरुपमा हेर्दा काठमाडौं उपत्यकामा कारोबार गरिरहेका नाम कहलिएका (कहलाइएका) ठूला–ठूला सहकारी संस्थाहरुले उनीहरुका सदस्यहरुले जम्मा गरिराखेको रकम समयमा नै फिर्ता दिन नसकेपछि मात्र यो समस्या सतहमा आएको देखिन्छ । नेपालीमा एक उखान छ, ‘लहरोले पहरो तान्छ ।’ यसरी नै नाम कहलिएका (कहलाइएका ?) ठूला–ठूला सहकारी संस्थाहरुमा तरलता समस्या आएसँगै यस कुराको प्रचार पनि व्यापकरुपमा भयो नै । स्वभावतः यस सँगसँगै सहकारी संस्थाका सदस्यहरुले सहकारीमा जम्मा गरिराखेको रकम धमाधम निकाल्न शुरु गरे । तत्पश्चात् तलरता समस्या नभएका सहकारीहरुमा पनि समस्या आउन शुरु भयो । यो क्रम अहिलेसम्म पनि निरन्तररुपमा चली नै रहेको छ । यो त सतही रुपमा देखिएको तथ्यमात्र भयो । के सहकारी क्षेत्रमा अहिले मात्रै समस्या आएको हो त ? पहिले–पहिले समस्या नै नभएको थियो त ? होइन, पहिले–पहिले पनि सहकारी क्षेत्रमा विविध समस्या आएकै थिए । हामी नेपालीको बानी नै छ, तत्कालीन समस्या समाधान भयो कि पुग्यो । अहिलेलाई भइहाल्यो, ठिक्कै छ नि भन्ने हाम्रो बानी नै भयो । समस्याको मूल जड पनि यही नै हो ।

सहकारी क्षेत्रमा समस्या आउनुको मूल जड नै सहकारी भनेको के हो ? यो कसरी अगाडि बढाउनुपर्दछ भन्ने कुरा सर्वसाधारणले जान्न नचाहेर नै हो । मेरो विचारमा सहकारी भनेको एक किसिमको गुठी परम्पराको आधुनिक रुप हो । जस्तो कि, गुठीका विविध कार्यक्रमहरुमा गुठीका सदस्यहरु (गुठियारहरु) को मात्र संलग्नता हुन्छ, त्यसरी नै सहकारीका विविध कार्यक्रमहरुमा सहभागी हुन पनि सबभन्दा पहिले सहकारीको सदस्य हुनु जरुरी छ । तत्पश्चात् मात्र खाता खोल्ने, ऋण लिनेलगायत सहकारीका अन्य कार्यक्रमहरुमा सहभागी हुन पाइन्छ । मतलब, कुनै पनि व्यक्ति सहकारीमा सदस्य हुनासाथ सहकारी निजको पनि भयो । यो कुरा नै आम सर्वसाधारणले नबुझेको देखिन्छ ।

सहकारीका अध्यक्ष वा अन्य कुनै पदाधिकारीको नाम लिई फलानाको सहकारीले त आजकाल मुद्दती खातामा यति ब्याज दिइरहेको छ है वा अग्रिमरुपमा नै ब्याज दिन्छ वा सुनको चक्का उपहार दिन्छ आदिको पछाडि दौडेर नेपाली समाजमा पहिलेदेखि नै जता बढी ब्याज आयो त्यतै दौडिने प्रचलन रहेको देखिन्छ । यति मात्रै कहाँ हो र ? फलानाको एक सहकारी छ, त्यहाँ मेरो सबै रकम जम्मा गरेको छु, आवश्यक परेको बेला फोन ग¥यो कि पैसा उसैले ल्याइदिन्छ, ब्याज पनि घरमा नै ल्याइदिन्छ, केही पनि फाराम भर्नुपर्दैन, नागरिकता, फोटो आदि पनि माग्दैन, केही पनि झन्झट छैन आदि । यसरी रकम जम्मा गर्नेहरु उपभोक्तावादी हुन् वा सुविधाभोगी, एक किसिमले जायज नै देखिन्छ । तर कुन हदसम्म उपभोक्तावादी वा सुविधाभोगी हुने त ? यो मुख्य विचार गर्नुपर्ने पक्ष हो । आफ्नो रगत–पसिनाको हजारौंदेखि लाखौंसम्मको कमाइमात्र होइन घरखेत बेचेर आएको करोडौं रकमसमेत सहकारीमा जम्मा गर्दा सहकारी कस्तो छ, सहकारी कसरी चलिराखेको छ, सहकारी नियम–कानुन अनुसार चलेको छ कि छैन, प्रचलित पद्धति र सिद्धान्तको परिपालना भइराखेको छ कि छैन, भगवान् भरोसाको भरमा चलिराखेको छ कि अध्यक्ष वा अन्य कुनै पदाधिकारीको हुकुमवादमा ? आदि बुझ्नै पर्दछ ।

सहकारीको सिद्धान्त अनुसार भन्ने हो भने, सहकारीको सदस्य बन्नु भनेको एक किसिमले चिनजान भएको (एकले अर्को, अर्कोले अर्को गरी तहगत पनि हुन सक्छ) वा निश्चित पेसा गर्नेहरु वा निश्चित उद्देश्य भएकाहरु वा निश्चित इलाकाका व्यक्तिहरु मिलेर आपसी उद्देश्य प्राप्तिको माध्यममात्र सहकारीलाई बनाउने हो । जसरी प्रजातन्त्र वा लोकतन्त्र ‘टु द पिपल, बाई द पिपल, फर द पिपल’ हो, त्यसरी नै सहकारी पनि ‘टु द मेम्बर, बाई द मेम्बर, फर द मेम्बर’ हो । मतलब सहकारी सदस्यहरुको लागि नै, सदस्यहरुले नै, सदस्यहरुमार्फत नै परिचालन हुने एक संस्था हो, पद्धति हो । सञ्चालक समिति, लेखा समित, उपसमितिहरु र कर्मचारीहरु त एक माध्यममात्र हुन् । यो कुरा धेरैजसो सदस्यले नबुझेको अवस्था छ । सहकारी कस्तो छ भन्ने बुझ्नको लागि सहकारीका विविध गतिविधिहरुमा संलग्न हुनु जरुरी छ ।

सकेसम्म सहकारीको साधारणसभामा उपस्थित हुनु जरुरी छ । साधारणसभा कसरी सञ्चालन हुन्छ ? हेर्नुपर्दछ । नबुझेको कुरामा सोधपुछ गर्नुपर्दछ । जानकारी लिनुपर्दछ । साधारणसभामा भोज खानको लागि मात्र पुग्ने बानी त्याग्नुपर्दछ । आर्थिक विवरण अनिवार्यरुपमा लिनुपर्दछ । अध्ययन पनि गर्नुपर्दछ । आर्थिक विवरणले नै सहकारीका विविध पक्षहरुको बारेमा जानकारी दिइराखेको हुन्छ । सहकारीको नाफा–घाटामात्र होइन, सहकारीको जगेडा कोष कति तगडा छ ? सहकारीले पल्र्स पद्धति अपनाएको छ कि छैन ? आदि बुझ्नु नै पर्दछ । यति मात्र होइन, आफ्नो फुर्सदको समयमा सकेसम्म आफैँ सहकारीमा उपस्थित भएर रकम दाखिला गर्ने वा सहकारीबाट रकम निकाल्न जाने गर्नुपर्दछ । यस क्रममा पनि सहकारीको परिचालन पद्धतिका सम्बन्धमा आफैँले मूल्यांकन गर्ने अवसर मिल्छ । अन्य सहकारी वा बैंकले अलिकति बढी ब्याज दियो भन्दैमा त्यतै दौडिने बानी छोड्नु पनि त्यत्तिकै जरुरी छ । अस्वाभाविक ब्याजको लोभ गर्नु भनेको त आफ्नो खुट्टामा आफैँले बन्चरो हान्नुजस्तै हुन्छ । सदस्यहरुले सहकार्यको भावनाको विकास गर्नु नै पर्दछ । हामीले समय, परिस्थिति अनुसार मेरो देश नेपाल पनि भन्छौं, हाम्रो देश नेपाल पनि । त्यसै गरी सहकारीमा सदस्य भइसकेपछि मेरो सहकारी वा हाम्रो सहकारी भन्ने भावनाको विकास गर्नु अत्यावश्यक छ । जब मेरो सहकारी वा हाम्रो सहकारी भन्ने भावनाको विकास हुन्छ त्यसपछि मात्र हामी सदस्यहरुले आ–आफ्नो सहकारीको उत्थानको लागि कोशिश गर्नेछौं ।

व्यापक बजारीकरण पनि सहकारी क्षेत्रमा समस्या आउनुको एक कारण भएको देखिन्छ । सहकारी क्षेत्रको अवस्था सामान्य भएको समयमा व्यापक बजारीकरणले केही हदसम्म सरकारीको कारोबार विस्तारमा टेवा पु¥याएको देखिन्छ । तर अहिले आएर यसको नकारात्मक परिणाम पनि सतहमा आएको देखिन्छ । आजकाल सहकारीबाट रकम निकाल्ने सदस्यहरुले भन्ने नै यो हो कि ‘हामीले तिमीहरुलाई चिनेकै छैन, तिमीहरुको सञ्चालक पनि चिनेको छैन, अन्य पदाधिकारी पनि चिनेको छैन । लगातार सहकारीहरु भागिरहेको अवस्था छ, डुबिरहेको अवस्था छ, कसरी तिमीहरुलाई विश्वास गर्ने ? विश्वासको आधार नै छैन ।’ यसकारण सहकारी क्षेत्रमा बजारीकरणमा पनि केही हदसम्म लगाम लगाउनु आवश्यक नै देखिन्छ ।

मैले १० वर्षभन्दा बढी सहकारी क्षेत्रमा काम गरिसकेपछि, विविध सहकारीका पदाधिकारीलगायत कर्मचारीहरुसँग राख्न पाएको सम्बन्धको आधारमा भन्ने हो भने यस अवधिमा मैले राम्रो, नराम्रो, राम्ररी चलेको, घिटिघिटी हुँदै चलेको, डुबेको, डुब्ने अवस्थामा पुगेको, नजानीकन सहकारी क्षेत्रमा हात हालिसकेपछि पश्चात्तापमा परेको आदि विभिन्न सहकारीहरुका विभिन्न पदाधिकारीहरुसँग संगत गर्न पाएँ वा ती सहकारीहरुको सञ्चालन पद्धति हेर्ने, बुझ्ने अवसर प्राप्त गरें । मेरो यस अनुभवको आधारमा भन्नुपर्दा, सहकारीका प्रचलित सिद्धान्त, ऐन, कानुन आदिको ५० प्रतिशतमात्र राम्ररी पालना भएका सहकारीहरु पनि आजको अवस्थामा औसतरुपमा सु–सञ्चालन भइराखेको अवस्था छ ।

(लेखक डंगोल काठमाडौं–२३ स्थित कदर बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्धक हुनुहुन्छ ।)