‘ह्विलचियर र्‍याम्प’ पहुँचका लागि संघर्ष

0
Shares

भैसेपाटी, काभ्रे। 

ह्विलचियर प्रयोगकर्ताहरुका विभिन्न अधिकारहरुका सन्दर्भमा आवाज उठिरहेको भए पनि मनोरञ्जन मार्फत खुसी प्रदान गर्न उनीहरूले प्रयोग गर्ने पहुँच मार्ग तथा पर्यटकीय स्थलको सम्भावनाका बारेमा सरोकारवाला निकायहरुले चासो नदिएको निष्कर्ष निकालिएको छ ।

छैटौँ पहुँचयुक्त पर्यटन दिवसको अवसर पारी काभ्रेको भैसेपाटीस्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा आज आयोजित अन्तर्क्रिया कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले सरकारी निकायले ह्विलचियर प्रयोगकर्ताहरुका लागि पहुँच मार्ग निर्माणमा ध्यान दिन नसकेको बताउनुभयो । ‘नीति र अवसर दुवै आवश्यक छ’–सांसद घिमिरेले भन्नुभयो –‘अपाङ्गता भएका ब्यक्तिहरुका लागि निर्माण गरिने पहुँच मार्ग जेष्ठनागरिक, सुत्केरी तथा गर्भवती महिला र बालबालिकाहरुका लागि पनि उपयुक्त हुनेछ ।’

सरकारका तीन वटै निकायमा बन्ने नीतिहरु अपाङ्गतामैत्रीका अलावा ह्विलचियरको पहुँचमा हुनु पर्ने सहभागीहरूले बताएका थिए । अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर राजु ढकालले ह्विलचियर प्रयोगकर्ताका लागि शिक्षा, स्वास्थ्य, रोजगारका अलावा मनोरञ्जनका लागि पर्यटन महत्त्वपूर्ण रहेको बताउनुभयो । ‘स्पाइनल इन्जुरी अर्थात् शारीरिक रुपमा अशक्त भएका ब्यक्तिहरुले पहुँच मार्गमा सहज प्रवेश पाउँदा शारीरिक तथा मानसिक दुवै रुपले स्वस्थ बन्ने छन्’–डा. राजु ढकालले भन्नुभयो–‘आफू शारीरिक रुपमा अशक्त हुँदा हुँदै पहुँच मार्गमा पुगेर प्राकृतिक मनोरमसँग खेल्न पाउनु र देख्नु महत्त्वपूर्ण हो । जसका कारण व्यक्ति थप स्वस्थ बन्न सक्छ ।’

भैसेपाटीमा निर्माण भएको पहुँच मार्गलाई राज्यका निकायले निर्माण गर्ने संरचनामा सहज रुपले ह्विलचियरको पहुँच पुर्‍याउन नमुना हुने जिल्ला समन्वय समिति काभ्रेका निवर्तमान प्रमुख उद्धव केसीले बताउनुभयो । बागमती प्रदेश सरकारको डिपिआर सहितको १ करोड रुपैयाँमा ८ सय मिटर ‘ह्विलचियर र्‍याम्प’, ४ हजार मिटर ढुङ्गा स्वलिङ्ग, २ करोड रुपैयाँको सडक निर्माण लगायतका पूर्वाधार निर्माण भएको स्थानीय समेत रहनु भएका समन्वय समिति काभ्रेका निवर्तमान प्रमुख केसीले बताउनुभयो।

धार्मिक पर्यटकीय हिसाबले असाध्यै महत्त्वपूर्ण मानिएको बासुकी थुम्कामा तीन वटा गुफा छन् भने चार वटा थुम्का छन् । १० वटा गाउँबाट सोही थुम्कामा सहज प्रवेशका लागि चार वटा नाकाबाट चार सय मिटरका दरले चार हजार मिटर सडकमा ढुङ्गा स्वलिङ्ग गरिएको हो । चारवटै थुम्काबाट उपत्यकाका अलावा १४ वटा हिमाल सहजै देख्न सकिन्छ । करिब १८ करोड रुपैयाँको लागतमा खर्च गर्ने गरी केही योजनाहरु निर्माण भएको केसीले बताउनुभयो । उपत्यकाबाट नजिक र नेपालकै नमुना ‘ह्विलचियर र्‍याम्प’ निर्माणका लागि सरोकारवाला निकायको चासो रहनु पर्ने सहभागीहरूले बताए ।

अस्पतालका संस्थापक कनकमणि दीक्षितले बासुकी थुम्कासम्मको सहज पहुँच पुर्‍याउन सक्दा सामाजिक, आर्थिक र धार्मिक रुपले पनि पर्यटकीय क्षेत्रको विकास गर्न सहज हुने बताउनुभयो । ह्विलचियर प्रयोगकर्तहरुको मनको खुसीका लागि पहुँच मार्गको निर्माण र त्यसको व्यवस्थापन चुनौती बनेकाले त्यसलाई सहज बनाउन स्थानीय स्तरको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।

पर्यटन बोर्डका प्रतिनिधि सुमन घिमिरेले राज्यका निकायहरुले पहुँच मार्ग निर्माण तथा पहुँचमागको सहजताका लागि नीति र योजना निर्माण भइरहेको बताउनुभयो । पूर्णतः नागरिक भएको महसुस गराउन र आम्दानीको श्रोत वृद्धि गर्न पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाले पहुँच मार्ग निर्माण गरिएको अस्पतालका अध्यक्ष डा. शान्ता दीक्षितले बताउनुभयो ।

त्यस्तै आईडिआईका प्रतिनिधि सुमनराज तिम्सिनाले अमेरिका तथा विकसित मुलुकमा समेत यसको समस्या सहज बन्दै गएकाले नेपालमा पनि शारीरिक अशक्तता भएका ब्यक्तिहरुको सहज पहुँच र उनीहरूको खुसीका लागि पर्यटकीय क्षेत्रसम्मको पहुँचलाई विस्तार गर्न आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभयो ।

निजी क्षेत्रबाट पहुँच मार्ग तथा ह्विलचियर प्रयोगकर्ताहरुको पक्षमा वकालत गरिरहनु भएका पंकज प्रधानाङ्गले सरकारले बनाउने नीति महत्त्वपूर्ण हुने बताउनुभयो । नीति र नियत प्रस्ट हुन सकेको अवस्थामा पहुँच मार्ग निर्माण मात्रै होइन व्यक्तिका जीवनमा समेत सहजता ल्याउन सकिने बताउनुभयो । स्पाइनल इन्जुरी अस्पतालले २१ वर्षको अवधिमा ३ हजार ७ सयलाई सेवा प्रदान गरिसकेको छ ।