सरुवाको हल्लाले देशभरका प्रमुख प्रशासकीय अधिकृतहरु आतंकित



काठमाडौं ।

सरकार विस्तार हुनै लाग्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा ठूलो संख्यामा प्रशासकीय अधिकृतहरुको सरुवा गर्ने हल्ला फिँजाएपछि उनीहरु आतंकित भएका छन् ।

सरकार विस्तार हुनै लाग्दा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हेरफेर हुन सक्ने भन्दै मन्त्री अमनलाल मोदीले ठूलो संख्यामा प्रशासकीय अधिकृत सरुवा गर्न लागेको भन्दै उनकै सचिवालयबाट हल्ला गएपछि स्थानीय तहमा कार्यरत प्रशासकीय अधिकृतहरु आतंकित भएका हुन् । केही प्रशासकीय अधिकृतले मन्त्रीको सचिवालयमा रहेका केही व्यक्तिले सरुवाको हल्ला फिँजाएर रकमको लेनदेन गर्न खोजेको आरोप लगाएका छन् । सरुवाको हल्ला फैलिएपछि विभिन्न स्थानीय तहमा रहेका दर्जनौं प्रशासकीय अधिकृतहरु आफ्नो सरुवा रोक्न तथा थप आकर्षक ठाउँमा सरुवा गराउन काठमाडौं आएका छन् । उनीहरुका अनुसार सरुवाका लागि मन्त्रालयबाटै आर्थिक मोलमोलाइ भइरहेको छ ।

कतिपय जिल्लामा रहेका प्रशासकीय अधिकृतहरु पनि सरुवामा परिने हो कि भन्ने डरले आतंकित भइरहेका छन् । ‘सरुवा गर्ने हल्लाले हामीले राम्ररी काम गर्न सकेका छैनौं, मन्त्रालयबाटै सरुवाको हल्ला फिँजाइएको छ, जुन दुःखद हो’ –पूर्वी नेपालको एक नगरपालिकामा रहेका प्रमुख प्रशासकीय अधिकृतले नेपाल समाचारपत्रसँग भने । स्रोतका अनुसार मन्त्रालायले केही प्रशासकीय अधिकृतको भने सरुवा गरेको छ । रिक्त स्थानमा सरुवा गरिएको र केही ठाउँमा नियमअनुसार नै सरुवा गरिएको दाबी मन्त्रालयको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आवश्यकताअनुसार नै सरुवा गरिएको र त्यस्तो कुनै हल्ला नभएको बताउनुभयो । ‘सरुवाको हल्ला फिँजाइएको भन्ने गलत हो, रिक्त ठाउँमा प्रशासकीय अधिकृतलाई पठाइएको छ, त्यस्तो व्यापक सरुवा गरिएको भन्ने हल्ला निराधार हो’ –मन्त्री मोदीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्