आठ पटक म्याद थप गर्दा पनि नगरकोट सडकको काम सम्पन्न भएन

ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो 

0
Shares

भक्तपुर ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागले आठ पटक म्याद थप गर्दा पनि काम सम्पन्न नभएपछि भक्तपुर–नगरकोट–सिपाघाट सडक ठेक्का खारेजीको प्रक्रिया अघि बढाएको छ ।

सडक सुधार तथा विकास आयोजना निर्देशनालयले भक्तपुर–नगरकोट–सिपाघाट र बालाजु–त्रिशुली, छाहरे–विदुर सडकको ठेक्का खारेजी सम्बन्धमा सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

सुचनामा आयोजना सम्पन्न गर्ने म्याद सकिसकेको भनिएको छ । यसअघि आयोजना कार्यालयले आयोजनाको कार्य तालिका र ठेकेदारले दिएको आयोजना सम्पन्न गर्ने आश्वासन दिएर मौखिक र लिखित सम्झौता अनुसार आयोजना सम्पन्न गर्न नियमित जानकारी गराएको जनाएको छ । धेरै पटक लिखित र मौखिक सूचना दिए पनि आयोजना सम्पन्न गर्नका लागि कुनै सहयोग लगायत निर्माण कार्यमा उल्लेखनीय प्रगति हुन सकेको छैन ।

आयोजनाले सडक सुधार र विकास आयोजना निर्देशनालय (पहिले सडक) बीच इम्प्रुभमेन्ट प्रोजेक्ट) र अरावली इन्फ्रापावर लिमिटेड (एआईपीएल) ( शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालीको नाममा सूचना प्रकाशित गरेको हो ।

भक्तपुर(कमलबिनायक)–नगरकोट–सिपाघाट सडक विस्तार आयोजनाले आठ पटक म्याद थप गर्दा पनि काममा प्रगति नभएपछि  १४ दिने सूचना निकाल्दै अब पनि प्रगति नभए ठेक्का तोडिने बताएको हो ।

यस सडकको ठेक्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटीका रूपमा परिचित शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्शनले भारतीय कम्पनी आरामाली इन्फ्रा पावरसँग संयुक्तरूपमा लिएको हो ।

२०७१ साल जेठ २२ मा पहिलो सम्झौता भएको सडकको निर्माण कार्य २०७३ असार ३ गते सक्नुपर्ने थियो । तर आठ पटक म्याद थप्दा पनि काम सकिएको छैन । १५ किलोमिटर छ सय ६० मिटर लामो सडक खण्डमध्ये झन्डै एक किलोमिटर कालोपत्र गर्न बाँकी छ ।

ठेकेदारले सडक अलपत्र पारेपछि भक्तपुर–नगरकोटका सर्वसाधारण, पालिकाका जनप्रतिनिधिलगायतले पटक–पटक जोडदार पहल गरेका थिए ।प्रधानमन्त्री प्रचण्डको घरबेटी भएकै कारण शारदाप्रसाद अधिकारीले थुप्रै ठेक्कामा उन्मुक्ति पाएको भन्दै आलोचना हुँदै आएको छ ।

सडक स्तरोन्नति सुरु भएको आठ वर्ष भइसकेको छ । दुई वर्षमा सक्ने भनिएको सडकको काम आठ वर्षमा ९२ प्रतिशत मात्र सम्पन्न भएको छ ।निर्माण ढिलाइ भएसँगै ठेक्काको बजेट बढिरहेको छ । सुरुमा ३१ करोड ५२ लाख रुपैयाँमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । अहिले संशोधन गरेर ३५ करोड ८७ लाख रुपैयाँ पुर्‍याइएको छ । ठेकेदार कम्पनीले २९ करोड ७७ लाख रुपैयाँ भुक्तानी लिईसकेको छ ।

आयोजना प्रमुख गौतम श्रेष्ठले काममा अझै प्रगति नदेखिएपछि ठेक्का अन्त्य किन नगर्ने भनेर निर्माण व्यवसायीका नाममा जरुरी सूचना निकालेको जानकारी दिँदै निर्धारित अवधिमा काम नसकिए ठेक्का तोडिने बताउनुभयो ।

गत फागुन १८ मा यो सडकको अनुगमन गर्न आई पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडक चाँडो सक्न ठेकेदारलाई निर्देशन दिनुभएको थियो । एक्जिम बैंकको ऋणमा सडक निर्माण भइरहेका कारण अनुगमनमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी हुनुभएको थियो ।