अवैध लागूऔषधसहित २ जना पक्राउ, १ जना फरार

0
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एक जना फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

झापाको बिर्तामोड नगरपालिका–३ पुण्डरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका–४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै पर्साको कालिकामाई गाउँपालिका–१ तीनदुवियाँ गाउँ बस्ने ३८ वर्षीय बृजेश प्रसाद कुर्मीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु करिब १० केजीसहित गएराति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी मकवानपुरको मनहरी गाउँपालिका– ९ खरङ्गास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी ८ सय ग्राम आइतबार साँझ प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ भाबरबाट हेटौंडातर्फ जाँदै गरेको प्रदेश ३(०३ प ३४५६ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल र झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त लागूऔषध फेला परेको हो ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।