खुँदी स्वास्थ्य चौकीलाई अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण



लमजुङ। 

लमजुङको मर्स्याङ्दी गाउँपालिका स्थित खुँदी स्वास्थ्य चौकीलाई गाउँपालिकाले  ग्रामीण अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । गर्भवती आमाहरुलाई निशुल्क सेवाका लागि गाउँपालिकाले उपलब्ध गराएको ग्रामीण अल्ट्रासाउन्ड मेसिन आइतबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष गुरुङले खुँदी स्वास्थ्य चौकीका सिनियर अनमी सिता घले गुरुङलाई मेसिन हस्तान्तरण गर्नुभएको हो । अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले उपलब्ध प्रविधिबाट स्वास्थ्य सुरक्षाको बारेमा जानकारी लिन सजिलो हुने र परीक्षणको आधारमा उपचार प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।अल्ट्रासाउण्ड सेवाले ग्रामीण क्षेत्रमा गर्भवती, सुत्केरी आमा र नवजात शिशुको मृत्यु कम गर्न तथा जोखिमको अवस्थामा समयमै उपचार सेवा लिन सहज हुने अध्यक्ष गुरुङको भनाई छ ।

पहिलो दिन खुँदी स्वास्थय चौकीबाट पाँच जना गर्भवती महिलाले अल्ट्रासाउन्ड सेवा लिएको गाउँपालिका अध्यक्ष गुरुङको स्वकिय सचिव सरोज गुरुङले जानकारी दिनुभयो ।

एक ठाउँबाट अर्को स्थानमा सजिलै लानल्याउन मिल्ने प्रोटेवल अल्ट्रासाउन्ड मेसिन भएकाले गाउँ गाउँका गर्भवती महिलाहरूले सहजै सेवा लिन सक्ने गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख लुल बहादुर घलेले बताउनुभयो ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष बविता मजा कोटीको अध्यक्षतामा भएको अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण एवं शुभारम्भ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत तारा बहादुर तामाङ, र स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्