बुटवलका व्यावसायिक सटरको भाडा महँगो भएको भन्दै मापदण्ड बनाउन माग 

0
Shares

बुटवल। 

बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न शुक्रबार सहकारी, व्यावसायिक संघसंस्था, यातायात व्यवसायी, निर्माण व्यवसायी, हाटबजार व्यवसायी क्षेत्रका अगुवाहरुसँग छलफल गरेको छ ।

छलफल कार्यक्रममा बोल्दै सहभागीहरुले बुटवलमा व्यावसायिक सटरहरुको भाडादर अचाक्ली महँगो भएकोले भाडादर सम्बन्धी मापदण्ड बनाउन सुझाव दिएका छन् ।

उनीहरुले महँगो भाडादरका कारण बुटवलका मुख्य व्यापारिक क्षेत्रबाट व्यापार व्यवसाय विस्थापित हुने र त्यसको मार व्यवसायीमा पर्ने भन्दै सबै क्षेत्रलाई चित्त बुझ्ने गरी भाडादरको मापदण्ड बनाउन सुझाव दिएका हुन् ।

प्रदेशको राजधानी दाङ तोकिएपछि बुटवलको व्यापार व्यवसायमा संकट आएको भन्दै लगानी गरेका व्यवसायीहरु मर्कामा परेको उनीहरुले बताएका छन् ।
सहभागीहरुले बुटवलभित्र निर्माणाधीन योजनाहरु समयमै सम्पन्न गर्नका लागि बुटवल उपमहानगरपालिकाले संघ र प्रदेशलाई निरन्तर दबाब दिनुपर्ने र आवश्यक परेमा बुटवल उपमहानगरपालिकाको अगुवाइमा सडकमा आउन समेत तयार रहेको भन्दै संघ र प्रदेशका योजना समयमै सम्पन्न गर्नका लागि दबाबमूलक कार्यक्रम जरुरी रहेको बताए ।

यस्तै, सहकारी क्षेत्रमा बुटवल उपमहानगरपालिकामा दर्ता नभएका सहकारीहरुका कारण सहकारीमा बेथिति देखिएको र त्यसको दोष सबै सहकारीकर्मीहरुले खेप्नुपरेको सहकारी क्षेत्रका व्यक्तिहरुले बताएका छन् ।

उनीहरुले बुटवलभित्रका सहकारीहरुलाई एउटै मापदण्डमा ल्याउन र एकरुपता गर्नका लागि समान ब्याजदर कायम गर्ने र त्यसको नियमन, अनुगमन बुटवल उपमहानगरपालिकाले गर्नुपर्ने सुझाव दिए ।

बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उद्देश्यले आयोजित छलफलमा सहभागी वक्ताहरुले बुटवल उपमहानगरलाई देशकै अग्रणी शहरका रुपमा स्थापित गर्नका लागि आफूहरूको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई साझा सहरका रुपमा स्थापित गर्दै देशकै अगुवा सहर बनाउने अभियानमा साथ दिन आग्रह गर्नुभयो ।

उहाँले सहकारी क्षेत्रका समस्याहरु समाधानका लागि विज्ञहरुसमेतको सहभागितामा आवश्यक ऐनकानून बनाउने बताउनुभयो ।

उहाँले सहकारीहरुले आफ्ना सदस्यहरुको लगानी सुरक्षित गर्दै सामाजिक क्षेत्रमा समेत लगानी गर्न र सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह गर्नुभयो । सहकारीहरुले सहकारीका सदस्यहरुभन्दा बाहिरका उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै बुटवललाई समृद्ध बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले बुटवलको व्यावसायिक क्षेत्रका समस्याका बारेमा बुटवल उपमहानगरपालिकाले अध्ययन गरिरहेको र छिटै नै यसबारे आवश्यक निर्णय गर्ने बताउनुभयो ।
बुटवलको बजार विस्थापित हुन नदिन र थप चलायमान बनाउनका लागि नीतिगत तहमा र संघ तथा प्रदेशस्तरमा समेत छलफल गरेर आवश्यक कदम चाल्ने नगरप्रमुख पाण्डेयले बताउनुभयो ।

उहाँले बुटवललाई देशकै अगुवा शहर बनाउने उदेश्यका साथ आफुहरु अगाडि बढेको बताउँदै हरेक क्षेत्रको साथ र सहयोगले मात्रै बुटवल समृद्ध बन्नसक्ने बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाले बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।

सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताउनुभयो ।

यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।