सिन्धुलीमा सुख्खा पहिरोले थिच्दा एकको मृत्यु

दुई सवारी दुर्घटनामा तीन जना घाइते

0
Shares

सिन्धुली ।

सिन्धुली फिक्कल गाउँपालिकामा आज ढुङ्गा निकाल्ने क्रममा माथिबाट सुख्खा पहिरो खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका ३ खुरहरीका ३५ वर्षका तेज बहादुर परियारको मृत्यु भएको हो ।

आफ्नै बारीमा रहेको ढुङ्गा निकाल्ने क्रममा माथिबाट पहिरो खस्दा पुरिएर गम्भीर घाइते भएका परियारलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी बाहुनतिल्पुङ पुर्‍याए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो ।

त्यस्तै सिन्धुलीको छुट्टा छुट्टै ठाउँमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । तीन पाटन गाउँपालिका–२ गैरीमा भएको दुर्घटनामा एक जना र बिपी राजमार्गअन्तर्गत रहेको कमलामाई नगरपालिका–२ मा रहेको पौवागढी नजिकै भएको दुर्घटनामा दुई जना घाइते भएका हुन् ।

तिनपाटन गाउँपालिका २ गैरीमा भएको सवारी दुर्घटनाका सख्त घाइते मोटरसाइकल चालक कमलामाई नगरपालिका–७ रामपुरका २५ वर्षीय तेजबहादुर सिंजालीलार्ई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक (डिएसपी) तथा प्रहरी प्रवक्ता चिरञ्जीवी दाहालले बताउनुभयो । सिंजालीलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो ।

सिन्धुलीमाडी–चकमके सडक अन्तर्गत आम्बोटबाट सदरमुकाम सिन्धुलीमाढी तर्फ आउँदै गरेको जिप र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल बिहीबार एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । दुर्घटनापछि फरार रहेका जिपका चालकको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो । उता बिपी राजमार्गअन्तर्गत रहेको कमलामाई नगरपालिका–२ पौवागढी नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।

काठमाडौँबाट सिराहातर्फ जाँदै गरेको स ५ प ७६९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । उत्त दुर्घटनाबाट चालक सिरहा कर्जन्हा नगरपालिका–१० का ३६ वर्षीय खलिल मन्सुर र सोही ठाउँका २३ वर्षीय एजाद खान घाइते भएका डिएसपी दाहालले जानकारी दिनुभयो । दुर्घटना हुँदा पछाडि बसेका खान भीरबाट एक सय ५० मिटर तल खसेकाले गहिरो चोट लागेको छ । चालक मन्सुरको दुवै खुट्टा र हातमा चोट लागेको छ । उहाँहरूलाई पनि सिन्धुली अस्पतालमा प्राथमिक उपचार गराएर थप उपचारको लागि काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।