ओली बोलेर चिप्लिए भने देउवाले नबोली चिप्ल्याए

0
Shares

आठ दलीय गठबन्धनका उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वयोवृद्ध नेता रामचन्द्र पौडेल नेपालको चौथो राष्ट्रपतिका रूपमा निर्वाचित भएसँगै ‘नेपालको राजनीतिको एउटा कोर्स सकिएको’ कुरा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन् । यो भनाइमा न कुनै भिजन, न कुनै उत्साह र न कुनै दूरदृष्टि नै छ । नेपाली राजनीतिमा यसै गरी गठबन्धन तोडमोड भैरहने, एकातिरबाट बनिरहने र अर्कोतिरबाट भत्किरहने हो भने नेपाली समाजले बडो उत्साहका साथ ल्याएको संघीयता, धर्म निरपेक्षता र समावेशिताले पनि हामीलाई कहीँ नपु¥याउने निश्चितजस्तै भइसक्यो ।

देशको आर्थिक अवस्था रसातलतर्फ पुगिसक्दासमेत केही समाधानका उपायहरू नसोचिनु, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, योजना आयोग र निजी क्षेत्रको व्यापारिक सेवाप्रदायक संस्था नेपाल उद्योग वाणिज्य महासंघसमेत यतिखेर कानमा तेल हालेर बसेका देख्दा सचेत नागरिक अचम्ममा पर्छन् । केही दिनअघि मन्त्रिपरिषद्ले निर्णय नै गरी भारतबाट पैठारी भएर देशमा आउने हरियो तरकारीको विषादी परीक्षण नहुने भनेछ । यो निर्णय स्वतन्त्र राष्ट्रको अस्मितामा निकै ठूलो प्रहार हो । छिमेकी खुशी पार्नैका लागि हामी कतिसम्म गिरेर आफ्ना विरुद्ध निर्णय गर्न सक्दा रहेछौं भन्ने कुराको यो एउटा दसी हो ।

दोस्रो चौमासिकसम्म आइपुग्दा विकास खर्च गर्न नसकेको डरलाग्दो तथ्याङ्कले जो यतिखेर कोहीलाई झस्काउँछ । नीतिनिर्माताहरू, शासक र प्रशासकहरू, कमिसनखोरहरू, ठेकेदारहरू तथा ठूला र मझौला बेपारीहरूलाई आफूअनुकूल हिसाब मिलाउनकै लागि भ्याइनभ्याइ छ । आर्थिकरूपले देश दलदलमा फँसिरहेको सबैलाई थाहा छ तर कसैलाई थाहा नभएको अभिनय गरिरहेका छन् ।

केही समयअघि सम्पत्ती शुद्धीकरणसम्बन्धी विधेयकको चर्चा निकै जोडतोडले चल्यो । त्यसमा भनियो कि अवैध भनिएको सम्पत्ती कर तिरेर सेतो बनाउन सकिने छ । आर्थिक क्षेत्रमा यसले निकै हलचल ल्यायो । धेरैले यसलाई विरोध गरे तर त्यो राष्ट्रपतिको चुनावताका छायामा परेर मत्थर भयो । अहिले भित्रभित्र के पाकिरहेछ, जनसामान्यलाई केही पत्तो छैन ।

संघीय संसद्मा केही आशलाग्दा र नयाँ तौरतरिकाले अघि जान खोज्ने युवाहरू छन् तर तिनीहरूलाई आ–आफ्ना पार्टीका पुराना, सामन्ती सोच र यथास्थितिवादी कार्यशैली भएका नेताहरूले चेपेका छन् । तिनीहरूको वाणी पनि स्वतन्त्ररूपमा बजारमा आउन नसक्नु भनेको नागरिक र मतदाताहरूका लागि चिन्ताको विषय हो । यो देशमा अहिले राजनीतिक रूपमा केही मात्रामै भए पनि आइस ब्रेक हुनु आवश्यक थियो तर सोचेजस्तो र खोजेजस्तो गरी भएको पाइएन ।

राजनीतिकरूपले चिन्तन गर्ने केही नेताहरू सबै खाले पार्टीमा छन् तर ती पछि परेका छन् वा बलात्रूपले पछि पारिएका छन् । यसो हुनुमा तिनीहरूको माथिसम्मै कनेक्सन नभएको वा गुटमा नपरेकाले हुन सक्छ । हामीले व्यवस्था चाँडो–चाँडो बदल्ने कोशिश गरी सफलतासमेत पायौं तर जनताको वास्तविक अवस्था कहिल्यै बदल्न सकेनौं । यसो हुनुमा राष्ट्रिय राजनीतिमा नेतृत्व गर्ने प्रमुख पार्टीका अध्यक्ष तथा सभापतिहरूकै दोष देखिन्छ ।

क्रियाशील राजनीतिक पार्टीहरूमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा नबोलेरै आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई चिप्ल्याउन माहिर छन् तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने धेर बोलेरै क्रमशः चिप्लिरहेका छन् । यी दुवैका बीचमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने कहिले कुन गठबन्धनमा जोडिएर त कहिले कुन गठबन्धनमा तोडिएर चर्चा र चासोको शिखरमा रहिरहन सफल छन् । राष्ट्रपति चुनावकै माहोल तातेका बेलामा पत्रकारहरूको एक समूहले संघीय संसद् भवनबाहिर निस्केका एमाले अध्यक्ष केपी ओलीलाई रमाइलो प्रश्न सोधे, जुन भाइरल भयो । पत्रकारले सोधे– ‘३२ सिटको माओवादीले ८७ सिटको कांग्रेस र ७९ सिटको एमालेलाई मज्जाले घुमाइरहेको यहाँलाई कस्तो लागिरहेको छ ?’ प्रत्युत्तरमा ओलीले एक सेकेन्ड नसोची प्याच्चै भने– ‘मजाक लागिरहेको छ ।’

बास्तवमा उनले भनेका कुराले बहुअर्थ दिन्छन् । अहिलेको राजनीति जनताको दृष्टिविन्दुबाट जनतालाई हेर्दा मजाक लागिरहेको अवस्थामा छ । देशका हितमा नगरिएको तर व्यक्ति वा समूहलाई फाइदा पुग्ने गरी आफ्ना लागि मात्र गरिएको राजनीतिले न देशको आर्थिक उन्नतिको कुनै उपलब्धि देखायो, न कुनै राजनीतिक असल चरित्रको द्योत नै ग¥यो । जबदेखि नेपाली राजनीतिमा गठबन्धन संस्कृतिले चुनावी घटनाहरूबाट पद हत्याउनका लागि भित्र पस्ने मौका पायो तब नेपाली राजनीतिमा विचारको शक्ति घट्न थालेको अनुभूति भयो । आफूलाई सेन्टर राइट राजनीतिक शक्तिको मसिहा मान्ने नेपाली कांग्रेस जो प्रजातान्त्रिक समाजवादको वकालत गरेर प्रायः कहिल्यै थाक्दैन उसले चुनाव जित्नैका लागि र सत्तामा बस्नैका लागि माओवादी, जसपा, नेकपा एकीकृत, लोसपा र जनमोर्चासँग गरेको चुनावी गठबन्धनले उसका मतदातालाई कुँड्याउने काम गरेको छ । मतदाताहरूले आफूखुशी मत खसाल्न नपाएर चुनावका बेलामा तीतो पोखे । त्यसै गरी चुनावी परिणाम हात नलाग्दै चुनावअघिझैँ कांग्रेसको आफू सत्तामा गएर ढलिमली गर्ने सोचलाई एमालेका चतुर नेता ओलीले प्रचण्ड र देउवाका असन्तुष्टिहरूमा खेल्दै, भटाभट सम्झौता गर्दै एकातिर सभामुख पद हत्याउन सफल भए भने अर्कोतिर आफू अनुकूलको मन्त्रिमण्डल गठन गरी आफ्ना नीति लागू गर्ने मौका पाए ।

जुटाउने पनि अदृश्य शक्ति र फुटाउने पनि अदृश्य शक्ति हाबी हुने बानी परेको नेपालको राजनीतिमा विश्लेषण गर्नु, लेख्नु र दलिल पेस गर्नु कुनै हिसाबले ठीक ठहरिन्न भनेझैँ देखियो । ‘माया एउटासँग, बिहे अर्कोसँग’ भन्ने नेपाली गीतको बोलझैँ सत्ता र शक्तिका लागि सदाबहार अस्थिर पात्रका रूपमा देखिएका प्रचण्डले गरेका राजनीतिक क्रियाकलापले न आफूलाई फाइदा भएको छ, न कांग्रेस र एमालेहरूलाई नै फाइदा हुन दिए । अस्थिरताको पोखरीमा माछा मार्ने दाउपेचमा उनले जुन–जुन तरिकाले पाइला चाले ती केही समयका लागि मात्र अस्थिर राजनीतिक हतियारका रूपमा देखिए । ती घटना स्थिरता, विकास, सुशासन र परिवर्तनलाई डो¥याउने खाले देखिएका छैनन् । यस्ता घटना नेपाली राजनीतिमा देखिएका करिब तीन दशक भइसक्यो । यस्तैमा विदेशीहरूले खेल्ने मौका पाए । पछिल्लो समयमा भारतीय विशेष दूत क्वात्राको भ्रमणबाट सो घटनाको विकसित रूप सतहमै देखियो । कुनै फाइदा नभए पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेसले उसको छँदाखाँदाको प्रतिपक्षी दलको मान्यतासमेत गुमाउनु ठीक थिएन भनेर आमजनमानसले भनिरहेका बेला क्वात्राको भ्रमण भएर क्रियाशील राजनीतिक पार्टीहरूका नेताहरूसँग भएको भेटघाटका समाचारहरू सञ्चारमाध्यममा आउन नपाउँदै केही हप्तामै नेपालको राजनीतिले तीन सय साठी डिग्रीको फन्को मा¥यो । फलतः एमाले र माओवादीको पिरतीमा अस्थिर नै भए पनि डिभोर्स देखियो र असम्भवझैँ लागेको पुरानो पाँच दलीय गठबन्धनमा सत्ता र शक्तिको रापमा लोभिनका लागि ३ दल जोडिएर अहिले आठ दलीय गठबन्धनको राग अलापिन थालिएको छ ।

राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्– ‘पुष्पकमल दाहाल, केपी ओली र शेरबहादुर देउवा स्वयम् धोका, षड्यन्त्र र झुटका पोका हुन् । उनीहरूले एक–अर्कालाई बाँड्ने भनेकै आफूसँग रहेका तिनै पोकाहरू मात्रै हुन् । हो, माथिका तिनै जनामध्ये समयले पालैपालो धोकाका पोका बाँड्ने पात्र भने बदलिरहन्छ ।’ यत्तिको गहिरो गरी मूल्याङ्कन गरेपछि बाद बाँकी नेपालको राजनीति कसरी चलेको छ भन्ने कुरा नागरिकहरू आफैँ बुझ्छन् ।

फेरि राष्ट्रपतिको निर्वाचनमा पाएको मतभार पछि कांग्रेस सत्तामा जान आतुर भैसकेको छ । प्रचण्डले उपराष्ट्रपतिको निर्वाचनपछि सरकारको पुनर्गठन हुने कुरा बोलिसके । उता संसद्मा भद्रगोल देखिने छ । प्रमुख प्रतिपक्षमा एमालेले दाबी गरेसँगै कांग्रेस राजनीतिक रूपले सङ्कटमा छ । हुन त उसले प्रचण्ड सरकारलाई विश्वासको मत दिँदैका स्थितिमा नेमकिपा र जनमोर्चाले आफूहरूमध्ये एक पार्टी प्रतिपक्ष हुनुपर्ने भन्ने व्यहोराको निवेदन नै गरेका थिए तर त्यो इस्युले धेरै ठूलो रूप लिएन । अब भने कांग्रेस र एमालेले आफूहरूमध्ये एक पार्टी प्रतिपक्ष हुनुपर्छ भनेर दाबी गरेको कुरालाई भने सभामुखले कसरी लिने हुन् भन्ने बाहिरबाट हेरिएको छ । कांग्रेसले अहिलेको माहौललाई कसरी लिएको छ, त्यो उसको सत्ता प्रवेशसँग बिस्तारै खुल्दै जानेछ ।

सत्ता गठबन्धनको कलब्रेक भने अहिले यस्तो देखिन्छ । नेपाली कांग्रेस ५५ र ३२ गरी ८७ सिटमा छ । माओवादी १७ र १५ गरी ३२ सिट लिएर बसेको छ । माधव नेपालसँग प्रत्यक्षतर्फका १० सिट मात्रै छन् भने त्यस्तै हालतमा लोसपा ४ र जनमोर्चा १ सिट लिएर बसेका छन् । उता जनमत पार्टी भने ५ सिटमा रहेको छ । यी सबै जोड्दा १३९ को अङ्कीय माल टाइट देखिन्छ । तासको कल ब्रेकको भाषामा गोलखाडी जाने खतरा देखिन्छ । रङ लाग्न सक्छ । खेलाडी किनबेचको सम्भावना प्रशस्त देखिन्छ । सुरत (अनुहार) जोगाएर खेलेमात्र प्रचण्ड र देउवा सत्तालाई अघि लैजान सफल हुनेछन् । यो सरकार चले पनि जनताका हितमा केही माखो नमार्ने कुरा चुनावअघिकै गठबन्धनका शासन शैलीबाटै जनताले भलिभाँती थाहा पाइसके ।

‘पुरानो सन्तुलन भत्केर नयाँ सन्तुलन निर्माण हुन यी दुईबीच थुपै्र क्रिया, प्रतिक्रिया, संघर्ष र द्वन्द्व हुनु आवश्यक छ । विद्यमान यथार्थले सम्भावित यथार्थलाई आमन्त्रण गरेको देखिन्छ । तरल सम्भावित यथार्थ जमेर निश्चित आकारप्रकारको बन्न, ठोस रूप ग्रहण गर्न अनेकौं केमिकल राख्ने त्यसको असर हेर्ने, विभिन्न भाँडाकुँडामा राख्ने, ल्याब टेस्ट गर्ने र प्रोग्रेस रिपोर्ट बनाउने कार्य भैरहेको छ । माल ल्याबमा परीक्षण गर्न राखेपछि त्यसले पूर्ववत् गुण र स्वभाव गुमाएर नयाँ गुण रूप लिनुपर्ने हुन्छ । वातानुकूलित हुने सामथ्र्य राख्नुपर्छ । रात रहँदा अग्राख पलाइसक्ने नीतिबारे पनि सुझबुझपूर्ण बुझाइ राख्नु जरुरी छ । स्मरणीय छ– राजनीतिमा ओली एकैपटक तीन प्लान ए, बी र सीसँग खेल्छन् र निदाउँदैनन् । अरू प्राणी प्लान ए बनाएर सुतेपछि अबेरसम्म ब्युँझिँदैनन् । ढुक्कले निदाउँछन् । प्रायः कांग्रेस ब्युँझिँदा उज्यालो हुँदा बासेको भाले कराहीमा फ्राइ भइसकेको हुन्छ ।’ विश्लेषक सञ्जीव कार्कीको वर्तमान राजनीतिबारे सटिक विश्लेषण जो छ । यसरी हेर्दा ओली बोलेर चिप्लिरहेका तर देउवा नबोलेरै राजनीतिमा टिकिरहेका देखिन्छन् । आगामी दिनहरू कसरी आउनेछन्, त्यो अहिल्यै आङ्कलन गर्न सकिँदैन ।

पेशल आचार्य