पुर्णागिरी मन्दिरमा काम गरेर जीविकोपार्जन 

0
Shares

डडेल्धुरा ।

सीमावर्ती भारतको चम्पावत जिल्लामा अवस्थित प्रसिद्ध पुर्णागिरी माताको मन्दिरमा मेला सुरु भएको छ । मेला अवधिभर पटके रोजगारीका लागि पुर्णागिरी मन्दिर धाउने नेपालीहरुको संख्या बढ्दो छ ।

फागु पूर्णिमादेखि निरन्तर तीन महिना पुर्णागिरी मन्दिरमा मेला लाग्ने गर्दछ । बुद्ध जयन्तीसम्म निरन्तर मेला लाग्ने गरेकाले मेला अवधिभर प्रसाद बेच्ने, भारी बोक्ने र यात्रुहरुका लागि खाना र नास्ता बनाउने लगायतका काम गरेर नेपाली मजदुरहरुले जीविकोपार्जन गर्ने गरेका छन् ।

डडेल्धुराको भित्रिमधेस क्षेत्रका सयौं नागरिकहरु मेला अवधिभर पुर्णागिरी मन्दिरमा काम गर्छन् । डडेल्धुरासँगै सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाका सर्वसधारणहरुका लागि पटके रोजगारीको अवसर पुर्णागिरी मेलाले प्रदान गरिरहेको छ । मेला अवधिभर करोडौँ हिन्दु धर्मावलम्वीहरु दर्शनका लागि पुर्णागिरी मन्दिर पुग्छन् ।

सीमावर्ती महाकाली नदीबाट पानी बोक्ने, पहाड चढ्न नसक्ने श्रद्धालुहरुलाई डोकामा बोकेर मन्दिर पुर्‍याउने र यात्रुहरुको भारी बोक्ने काम नेपाली मजदुरहरुले गर्दै आएकोमा पछिल्ला बर्षहरुमा पुर्णागिरी मन्दिर क्षेत्रमा लिफ्टमार्फत खानेपानी पुगाइएको छ । पुर्णागिरी मन्दिर रहेको अन्नपूर्ण पहाडसम्मै सवारी साधनहरु पुग्ने भएकाले पछिल्ला बर्षहरुमा नेपाली मजदुरहरुलाई काम पाउन मुस्किल रहेको परशुराम नगरपालिका–७ साँदनीका आँसु भण्डारीले बताउनु भयो ।

‘मेलामा करोडौँ श्रद्धालुहरू पुर्णागिरी मन्दिर पुग्ने भएकाले अझै पनि नेपाली मजदुरहरुले मेला अविधीभर काम पाउने गरेका छन्,’ भण्डारीले भन्नुभयो,‘तर, पहिला जस्तो पर्याप्त काम नपाइने भएकाले नेपाली मजदुरहरुको कमाई पनि घटेको छ ।’ पहिला महाकाली नदीबाट पानी बोकेर यात्रुहरुलाई बेच्दै मनग्गे कमाउने गरेको स्मरण गर्दै परशुराम–५ परिगाउँका केशवराज भट्टले भन्नुभयो, ‘अचेल पुर्णागिरी मन्दिर क्षेत्रमा सबै सुविधा पुगेपछि मजदुरहरुले काम पाउनै समस्या छ ।’
पुर्णागिरी मन्दिरमा मेला अवधिभर कृषिजन्य उपज बिक्री गरेर सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरुले आयआर्जन गर्ने गरेका छन् । ‘टाढाटाढाबाट आएका श्रद्धालुहरुले अर्गानिक कृषि उत्पादन खोज्ने भएकाले दाल, घिउ, बेसार, लसुन, अदुवा जस्ता उत्पादनहरु मेलामा बिक्री गर्दै आएका थियौ,’ परशुराम–६ करालीका भपेन्द्र धामीले भन्नुभयो,‘यसबर्ष नेपाली प्रशासनले महाकाली नदीमा तार उतारका लागि प्रयोग गरिने डुंगा बन्द गरेर नाकाबन्दी गरेपछि मेला पुगेर कृषिजन्य उत्पादन बिक्री गर्न कठिनाइ भइरहेको छ ।’

फागुन पहिलो सातादेखि डडेल्धुराको भित्रिमधेस क्षेत्रमा पर्ने दुई वटा नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले परशुराम नगरपालिका–५ परिगाउँस्थित बाङघाट नाका र वडा नम्बर–६ स्थित सिसमझाला सीमा नाका बन्द गराएको हो । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले असुरक्षित तरिकाले नाका चलाउन नमिल्ने भन्दै बन्द गरिएको बताउनु भयो ।
‘भन्सार नभएकाले असुरक्षित किसिमले नाका चलाउन मिल्दैन,’ उहाँले भन्नुभयो । प्रजिअ न्यौपानेले अनौपचारिक हिसाबले चलेको भए पनि असुरक्षाका हिसाबले दुवै सीमा नाकाहरु बन्द गरिएको जानकारी दिनुभयो । परशुराम नगरपालिकाले ठेक्का लगाएर दुवै नाकामा डुंगा चलाएको थियो । असार मसान्तसम्मका लागि ठेक्का सम्झौता गरिएको भए पनि स्थानीय प्रशासनले नाका बन्द गरेकाले ठेक्का रुद्ध गर्नुपरेको परशुराम नगरपालिकाका प्रवक्ता खगेन्द्रबहादुर सिंहले बताउनु भयो ।
पुर्णागिरी मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुले अनिवार्य रुपमा नेपाल पुगेर सिद्धनाथ बाबाको दर्शन गर्नुपर्ने धार्मिक मान्यता छ । महाकाली पारी पुर्णागिरी मन्दिरको सामुन्नेमा वारीपट्टी कागवेनी पर्वतमा प्राचीन शिद्धनाथ मन्दिर छ । सो स्थानसम्म पुग्ने बाटोघाटो नहुँदा हाल कञ्चनपुरको ब्रह्मदेव र महेन्द्रनगरस्थित सिद्धनाथ मन्दिरसम्म श्रद्धालुहरू पुग्ने गरेका छन् ।

पुर्णागिरी मेला अवधिभर ब्रह्मदेव बजार र महेन्द्रनगर बजारसम्म दिनहुँ हजारौं धर्मावलम्वीहरु पुग्ने गरेका छन् । सीमावर्ती ब्रह्मदेव बजारमा पुर्णागिरी मेला अवधिभर चहलपहल हुने गरेको छ । अन्यबेला ब्रह्मदेव बजार सुनसान रहने गरेको स्थानीय बताउछन । कागबेनी पर्वतस्थित प्राचीन शिद्धनाथ मन्दिरको जिर्णोद्धार गरेर महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गर्न सकिएमा पुर्णागिरी मन्दिरसम्म पुग्ने श्रद्धालुहरुलाई सिद्धनाथ मन्दिर हुँदै प्रसिद्ध परशुराम धामसम्म पुगाउन सकिने परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायरले बताउनु भयो ।

तर, महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गर्न भारतीय सरकारसँग भएको सहमति कार्यान्वयन हुन नसक्दा आवतजावतमा कठिनाइ छ । भित्रिमधेस क्षेत्रका बासिन्दाहरु आफूले उत्पादन गरेका कृषि उपजहरु बिक्री गर्न र दैनिक उपभोग्य समान ल्याउनका साथै सामान्य उपचारका लागि पनि सीमावर्ती भारतीय बजार टनकपुर पुग्ने गर्छन् । हाल सीमा नाका बन्द हुँदा निकै समस्या भइरहेको स्थानीय अगुवा केशवबहादुर बोहराले बताउनु भयो ।