वैदेशिक रोजगारबाट फर्किएका महिलाहरूको भोगाई ‘विदेश जान्नौँ, स्वदेशमै अवसर पाउँ

0
Shares

काभ्रे  । 

वैदेशिक रोजगारमा गएर फर्किएका महिलाहरूले पुनः रोजगारकै लागि विदेशिन मन नभएकाले क्षमता अनुसारको अवसर पाउन राज्यसँग माग गरेका छन् । ‘महिला भएकै कारण बेहोर्नु पर्ने थुप्रै समस्या छन् तर पनि विदेशिनुको बाध्यता र पीडा फरक छ’– श्रमजीवी महिला सञ्जाल काभ्रेकी अध्यक्ष शान्ति श्रेष्ठले भन्नुभयो–‘बेरोजगार भएकै कारण विदेशिनु परेको पीडा बिर्सिएर स्वदेश फर्कँदा पनि परिवार र समाजले दिएको मानसिक दबाबले थप पीडा बेहोर्नु परिरहेको छ ।’

११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित वैदेशिक रोजगारबाट फर्किएका महिलाहरूको समस्या पहिचान सम्वन्धी सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएका महिलाहरूले विदेशिनुको कारण, विदेशमा रहँदाको अवस्था र भोगाई तथा फर्किए पछिको समस्या तथा बेरोजगारकै कारण पुनः विदेशिनु पर्ने बाध्यताका बारेमा अनुभव सुनाएका थिए ।

श्रमजीवी महिला सञ्जाल काभ्रे र तरंगिणी महिला फाउन्डेसनको आयोजनामा आयोजित कार्यक्रममा सहभागीहरूले विदेशबाट फर्किएका महिलाहरूलाई हेर्ने दृष्टिकोण बदलिन नसकेको धारणा राखेका थिए । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले ६ वटा प्रतिबद्धता व्यक्त गर्दै समाजको सोच मुख्य समस्या रहेको बताउनु भयो । ‘व्यक्तिको सोचलाई कुनै नीति र कानुनले बदल्न सक्दैन’–प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो–‘वैदेशिक रोजगार पछि दृष्टिकोण, रोजगार र पारिवारिक समस्या मुख्य समस्या छन् ।’

वैदेशिक रोजगारमा जान सिपमूलक औपचारिक शिक्षा प्रदान गरी व्यवसायी र प्राविधिक शिक्षा उपलब्ध गराउन, पीडितका समस्या र गुनासा तिनै तहका सरकार समक्ष पु¥याउन, मनोसामाजिक परामर्श उपलब्ध गराउन, वैदेशिक रोजगारमा जाँदा अपनाउनु पर्ने सुरक्षा तथा आवश्यक रणनीतिका बारेमा सचेत गराउन, घरेलु तथा महिला हिंसाका घटनामा कानुन अनुसार कारबाही गर्न र स्थानीय तहमा सुनुवाइको व्यवस्था मिलाउन पहल गर्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रहरी प्रमुख एसपी भागेन्द्रपुरुष ढकालले वैदेशिक रोजगारमा गएर फर्किँदा भोग्नु परेका महिलाहरूका समस्या समाधानका लागि प्रहरी कार्यालय तथा मातहतका निकायहरूले खेल्नु पर्ने भूमिकाका बारेमा आफू सचेत रहेको बताउनु भयो । सामाजिक रूपमा वैदेशिक रोजगारबाट फर्किएका समस्यामा प्रहरीले खेल्नु पर्ने भूमिका निर्वाह गर्ने प्रहरी प्रमुख एसपी ढकालले बताउनु भयो ।

बनेपा नयाँबस्ति घर भएकी ३३ बर्षीया अस्मिता परियार १२ वर्ष लेबनान बसेर फर्किएको केही वर्ष भयो । १२ वर्ष एउटै घरमा बिताएकी अस्मिताले कहिल्यै पुरुषको अनुहार देख्नु भएन । तर पनि नेपालमा फर्किँदा बेहोर्नु परेको लाञ्छनाले अझै सताइरहेको छ । विदेशमा कमाएको रकमले जमिन जोडेर पनि बस्ने बास नभए पछि फेरी विदेश जाने तयारीमा हुनुहुन्छ । आमा र भाइको रेखदेखका लागि स्वदेशमा केही गर्ने अवसर नभएकै कारण पुनः विदेशिन बाध्य भएको उहाँको भनाई छ ।

अस्मिता जस्तै कविता खत्री, शान्ति तामाङले स्वदेशमा केही गर्ने अवसर नभएकाले विदेश जाने तयारी गरेको बताउनु भयो । भाषा, सिप नहुँदा विदेशमा नेपालीहरूले पाएको दुखका बारेमा बताउँदै सहभागीहरूले विदेश जानै पर्ने अवस्थामा जुन देशमा जान खोजेको हो सोही देशको भाषा र सिप सिकेर जानु पर्ने उनीहरूले बताए । ‘हामीलाई नेपालमै केही गर्ने वातावरण बनाई दिनु प-यो’–शर्मिला परियारले भन्नुभयो–‘परिवारसँग बसेर केही गर्ने वातावरण तयार गरिदिनु प¥यो ।’

 बनेपा बस्दै आएकी भक्तपुर घर भएकी विना परियारको प्रेम विवाह हो । विदेश गएर फर्किए पछि उनका श्रीमानसँग सम्बन्ध राम्रो भएन । विदेशमा पनि राम्रो कमाई नभए पछि समयावधि अगावै फर्किएकी विनाका दुई छोरी छन् । सिप र अवसर दुवै नभएका कारण सन्तान हुर्काउन धौ धौ छ । श्रीमानसँग सम्बन्ध विच्छेद भइसक्दा पनि श्रीमानको नाम र उपस्थिति विना सहयोग गर्दिन भन्दै सहयोग प्राप्त नभएको उहाँले बताउनु भयो ।

‘श्रीमान् र परिवार छाडेर बिदेसिएका महिलाहरूले पठाएको रकम प्यारो हुन्छ’–शान्ति श्रेष्ठले भन्नुभयो –‘रकम प्यारो हुने परिवारलाई हामी खराब भयौँ । श्रीमानलाई सुधार गृहमा राखेर घर बनाउनु पर्ने परिस्थिति निर्माण भयो ।’ कार्यक्रममा श्रमजीवी महिला सञ्जाल काभ्रेकी अध्यक्ष शान्ति श्रेष्ठ, तरंगिणी फाउन्डेसनकी कार्यक्रम संयोजक रेनुका सूर्य, मनोसामाजिकर्ता निर्मला काफ्ले लगायतले विदेशबाट फर्किएका महिलाहरूले भोग्नु परेका समस्या र समाधानका लागि राज्यका निकायहरूले खेल्नु पर्ने भूमिकाका बारेमा सहजिकरण गर्ने बताएका थिए ।