के हामी नेपाली साँच्चै अभागी हौं त ?

0
Shares

कुकुरको पुच्छर बाङ्गो हुनु र लंगुरको पुच्छर मोटो–लामो हुनु अनि खराब–अट्टेरी मानिसले आफ्नो स्वभाव बदल्न नसक्नु प्रकृतिको देन नै मान्न सकिन्छ । उदाहरणका लागि माथि लेखिएका कुकुर र लंगुर बाँदरका दुई कुरा कदापि परिवर्तन हुन सक्दैनन् । तर मानिसको खराब स्वभाव र अल्लडपनलाई राम्रो मानिसले चाह्यो भने बदल्न सक्छ ।

देशमा अझै चित्त नबुझ्ने कुरा :

सर्वप्रथम एकले अरुलाई औंला ठड्याउनुभन्दा यो देशको संस्कार र कानुन नै ठीक छैन याने कि फितलो छ । यदि देशको भविष्य राम्रो तथा उज्वल चाहने हो भने सर्वप्रथम कानुनविद्हरु नै तात्तिनुपर्दछ । यसको लागि देश चलाउनेहरुलाई नै घचघच्याउने हो र संविधानलाई नै सच्याउने हो । त्यो गर्नबाट कानुनविद्हरु पछि हट्नुहुँदैन । तर यसमा जुनसुकै प्रधानमन्त्रीले देश चलाए पनि कानुनविद्हरुलाई धाप दिनुपर्दछ, याने कि इमानदार र कडा भएर अघि बढ्नुपर्दछ । यदि यसो नगर्ने हो भने राजनीतिमा अनुशासनहीन हुने त छँदै छ, त्यसमाथि भ्रष्टाचार मौलाउने तथा देशको हालत सधैँ भाँडभैलो भइरहने हुन्छ । यस्तो बेलामा प्रधानमन्त्री तथा मन्त्रीहरुले चाहेर पनि केही गर्न सक्ने अवस्था हुँदैन । जब देशको हालत बिग्रँदै जान्छ तब हामी नेपाली पछुताएर बस्नुबाहेक अरु कुनै विकल्प हुनेछैन । त्यसकारण बेलामा नै हामी सच्चिने हो ।

वास्तवमा अहिलेसम्मको देशको परिस्थितिलाई हेर्ने हो भने, देशमा रहेका प्रधानमन्त्री, मन्त्री, सांसद, सचिव आदि पदीय दायित्व बोकेकाहरु नै देश नसप्रनुुका भागीदार मान्न सकिन्छ । कारण हाम्रो देशमा कैयौं अपराधका काण्डहरु घटेका छन्, घटिरहेका छन्, यिनीहरु मुकदर्शक बनेर बसिराखेका हुन्छन् । अहिलेसम्मको परिदृश्यले यही देखाएको छ ।

देशमा नेताहरुले अति संघर्षपश्चात् लोकतन्त्र ल्याए तर लंगडो लोकतन्त्रजस्तो भएको छ, जसको उद्देश्य परिवार, पार्टी, कार्यकर्ता आदिको पोषण मात्र भइराखेको छ । अर्को महत्वपूर्ण कुरा के हो भने, यिनीहरुको कुरा एउटा हुन्छ तर काम अर्कै भइराखेको हुन्छ ।

यो देशको विडम्बना भन्नु नै एकातिर शिक्षाको कमीले गर्दा धेरै अल्लड मानिसहरु हुनु र अर्कोतिर फितलो शासन अनि त्यसमाथि अनुशासनहीन प्रशासन हुनु । एउटा सानो उदाहरण दिने हो भने एयरपोर्टको मोबाइल कहानीलाई लिन सकिन्छ । यसमा प्रधानमन्त्री तथा सम्बन्धित निकायमार्फत कस्तो प्रतिक्रिया आयो ? त्यो भने थाहा हुन सकेन ।

वास्तवमा भन्ने हो भने आजको युगमा विदेशीहरुले यत्रो तरक्की गरे पनि हामी अझै कमिसन, भागवण्डा, आफ्नो मान्छेमा नै अल्झिराखेका छौं । अरु नभए पनि मन राम्रो र सोच ठूलो गरेर लगानीको वातावरण मात्र सरकारहरुले बनाइदिने हो भने यो देश अघि बढ्न समय लाग्ने छैन ।

थाहा छैन, यो कस्तो मुलुक हो ? एकपल्ट फेरि भन्नुपर्दा सरकारका नुन खाएका ठूला ओहदाका कर्मचारीहरु पनि चिप्लेकिराजस्तो नभई सच्चिनु जरुरी छ । सधैँ गन्हाउने चम्चाजस्तो भएर बस्नुहुँदैन । यति बेला देशमा रहेका जनता पनि सधैँ एकनासको नभई चनाखो हुनु जरुरी छ । यसको लागि हामीले सधैँ देखावटी तडकभडक, भोजभतेर, अल्लड संस्कारलाई त्यागी पत्रिका पढ्ने पढाउने तथा राम्रो कर्म गर्न एकले अर्कोलाई सिकाउने हो । अन्यथा सधैँ यो देशमा राजनीतिक जमातको मात्र मनोमानी भइराख्नेछ । यसको असर हाम्रो आउने पुस्तालाई नै पर्ने हो ।

अहिलेको परिस्थितिलाई हेर्दा यो देशमा मानिसहरुले पाउनुपर्ने सेवा, सुविधा, सहुलियतहरु पूरारुपमा पाउन सकिराखेका छैनन् । यस्तो अवस्थामा कसको मुख ताक्ने ? सरकारी हाकिम, पत्रकार, अखबार, अन्य मिडिया आदिको ! यिनीहरुको पनि आफ्नो ठाउँमा देश र समाजको लागि केही योगदान होला । तर केही अखबार वा अन्य मिडिया, पत्रकार आदिको जीउबाट पनि चम्चाको गन्ध आउने भएकाले यस्ताहरु बदलिनु पनि उत्तिकै जरुरी छ ।

हाम्रो देशको दुर्भाग्य भनेकै अनुशासनहीन राजनीति हो । साथै भूकम्प, कोभिड रोग पनि हो । यसबाहेक परिवार छोडेर विदेशमा दुःख भोग्न जानुपर्ने, पेट्रोल छर्केर आत्मदाह गर्नुपर्ने, सवारी दुर्घटनामा बारम्बार मानिसहरु मर्नुपर्ने, व्यापारमा घाटा भएर आत्महत्या गर्नुपर्ने आदिले गर्दा लाग्छ– के हामी नेपाली साँच्चै अभागी हौं त ? यदि यो कुरा साँचो हो भने अब राजनीतिज्ञहरु बदल्न जरुरी छ । सधैँ ल्वापुखिचा, बुँख्याचा र धुर्तमानचाहरु जस्तो भएर बस्नुहुँदैन ।

हामीले माथिका उदाहरण देश सप्रनुको लागि किन दिनुपरेको हो भने, यो देशमा मान्छेको सेटिङ, गलत भिजन, कलह, राष्ट्रिय धन चुहावटले गर्दा मुलुक अघि बढ्न सकेन । अर्कोतिर एकपल्ट फेरि समाजको कुरा गर्ने हो भने हामी अल्लड त छँदै छौं, त्यसमाथि पनि हरेक बहानामा खानपान गरिराख्ने र सन्तानको मात्र कुरालाई लिएर चिन्तित भइराख्ने गर्दछौं । यी कुराहरु एक हिसाबले ठीक पनि होलान् तर फुर्सदको समय अलिकति राम्रो कर्म गर्नु पनि जान्नुपर्दछ, जसले गर्दा मुलुक अवश्य नै अघि बढ्नेछ र नेपालीको भविष्य राम्रो हुनेछ ।