यात्रुसँग बढी भाडा असुल्ने पाँच जना पक्राउ

0
Shares

काठमाडौं ।

तोकिएको भन्दा बढी गाडी भाडा असुल्ने पाँच जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान बल्खुबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले अनुगमनका क्रममा बढी भाडा असुल्ने उनीहरुलाई पक्राउ गरेका हुन् ।

पक्राउ पर्नेमा कीर्तिपुर बस्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईं, सुविधा काउण्टरमा कार्यरत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी, शिखरापुर काउण्टरमा काम गर्ने काठमाडौंको चन्द्रागिरि नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्णबहादुर योञ्जन रहेका छन् ।

होली पर्व आउँदै गर्दा काठमाडौं बाहिर जाने यात्रुको संख्या बढ्दा त्यसैको मौका छोपी यात्रुसँग बढी भाडा असुल्न थालिएको छ । तोकिएको भन्दा बढी भाडा असुल्ने काम भइरहेको गुनासो आएपश्चात ट्राफिक प्रहरीले सादा पोशाकमा प्रहरी खटाएको थियो ।

पक्राउ गरिएका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।