प्रतिस्पर्धी उम्मेदवार हत्या आरोपी पूर्व गाविस अध्यक्ष १३ वर्षपछि पक्राउ


पर्वत  । 

चुनावमा आफ्नै प्रतिस्पर्धीको हत्या मुद्दामा दोषी ठहर भएका तत्कालीन गाउँ विकास समितिका अध्यक्ष  १३वर्ष पक्राउ परेका छन् ।

ज्यान मुद्दामा दोषी ठहर भएका पर्वतको साबिक भोर्ले गाउँ विकास समितिका अध्यक्ष डबिन गुरुङ पक्राउ परेका हुन । गुरुङलाई सर्वोच्च अदालतले २०६६ फागुन ३ गते कर्तव्य ज्यान “सम्बन्धी कसुरमा ८ वर्ष २ महिना २३ दिन कैद सजाय तोकेको थियो ।

सर्वोच्चको फैसलापछि  हाल सम्म फरार रहेका गुरुङलाई घरमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय हुवासले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  पर्वतको  साबिक पैयुँ गा.वि.स.वडा न.७ भोर्ले घर भएका गुरुङ नेपाली कांग्रेसबाट भोर्ले गाविसको अध्यक्ष थिए ।

गाविसको अध्यक्ष भएका बखत गुरुङले सोही गाविसमा आफैँ सँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका  नेकपा(एमाले)का बिर्खबहादुर गुरुङको हत्या गरेका थिए । गुरुङलाई फागुन १६ गते पक्राउ गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

 २०५४ को स्थानीय चुनावमा अध्यक्ष पदमा  सँगै प्रतिस्पर्धा गरेका एमालेका अध्यक्ष पदका उम्मेदवार बिर्खबहादुरको हत्या अभियोगमा जेल सजाय पाइरहेका गुरुङलाई नेपाली कांग्रेस नेतृत्वको सरकारले आममाफी दिएको थियो तर सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि उनी फरार रहँदै आएका थिए ।