बेथान्चोकमा ‘सुरङ्ग’ निर्माणका लागि विश्वविद्यालयसँग सम्झौता 

0
Shares

काभ्रे । 

काठमाडौं विश्वविद्यालय र बेथान्चोक गाउँपालिकाबिच बेथान्चोक गाउँपालिका वडा नम्बर २ र १ जोड्ने सडकमा भइरहेको अवरोध हटाउन तथा विकासको नयाँ मोडल स्थापित गर्ने उद्देश्यले दुर्लुङ्गखोला च्याम्ब्राङ्गबेशी सम्मको करिब एक किलोमिटर लम्बाइको सुरुङ मार्ग निर्माण सम्बन्धी अध्ययन गर्ने लगायतका तीन बुँदै सम्झौता भएको छ ।

‘स्थानीय समस्यामा आधारित भएर संयुक्त अनुसन्धान र प्रकाशनका लागि कार्य गर्ने, समसामयिक विषयमा संयुक्त आयोजना, सेमिनार, सम्मेलन, गोष्ठी सञ्चालन गर्ने र दुर्लुङ्गखोला बाईसे ढुंगा च्याम्राङ्गबेशी चौतारा सुरुङ्गमार्गको काठमाडौँ विश्वविद्यालय प्राविधिक तथा प्राज्ञिक सहयोगमा प्रारम्भिक प्राविधिक अध्ययन गर्ने तथा त्यसका लागि बेथान्चोक गाउँपालिकाले काठमाडौँ विश्वविद्यालयलाई १० लाख उपलब्ध गराउने सम्झौता भएको छ’–गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले भन्नुभयो–‘यो सम्झौताले बेथान्चोक गाउँपालिकामा सम्भावना र थप समृद्धिका लागि नयाँ मार्ग खुलेको छ ।’ सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष भगवान् अधिकारी र विश्वविद्यालयका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डिन प्रा.डा मनिष पोखरेलले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता पछि आयोजित कार्यक्रममा बोल्दै काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेपालको श्रम र जनशक्ति नेपालमै रोक्न काठमाडौँ विश्वविद्यालयले शुरु गरेको अभियानमा तीन तहकै सरकारको समन्वय आवश्यक रहेको बताउनु भयो । ‘दक्ष जनशक्ति बाहिरिने क्रम नरोकिँदा गाउँ र विश्वविद्यालय सबै रित्तिने परिस्थिति बन्दै गएको छ’–विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले भन्नुभयो–‘बेथान्चोक गाउँपालिकाले शुरु गरेको योजना सम्पन्न गर्ने र त्यस्तै योजना निर्माणका लागि विश्वविद्यालयको दक्ष जनशक्ति प्रयोग गर्न सकिने तर्फ ध्यान दिनेछौं ।’

सुरुङ्गमार्ग र अन्य विषयमा भएको सम्झौताले बेथान्चोक गाउँपालिकामा पर्यटन, कृषि तथा जडीबुटी लगायतका अन्य क्षेत्रमा समेत सम्भावना बढेको उपकुलपति थापाले बताउनु भयो । हरेक योजना सपना नभएर सम्भावना तथा योजना भएकाले त्यसलाई सम्पन्न गर्न सबै क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले विकासको नयाँ मोडल तथा थप समृद्धिका लागि आधार तयार गरिएको बताउनु भयो । कहिले सम्पन्न होला फरक कुरा हो तर सुरुङ्गमार्गको निर्माणले थप विकासका सम्भावना र आयामहरू थपिएको उहाँले बताउनु भयो । बेथन्चोक गाउँपालिकामा सुरुङ निर्माण हुँदा राष्ट्रिय राजमार्गका रुपमा अघि बढेको पनौती खोपासी बेथान्चोक भोर्लेनी सडक निर्माण थप प्रभावकारी हुनेछ ।

कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. अच्युत वाग्लेले विश्वविद्यालयले दक्ष जनशक्ति तयार गरी स्थानीय स्तरमा समेत अध्ययन अनुसन्धान गर्ने गरी कार्य प्रारम्भ गरेको बताउनु भयो । बेथान्चोकमा उक्त निर्माण कार्य हुँदा विद्यार्थीहरूले अध्ययन गर्ने प्रमुख माध्यम बन्न सक्ने भएकाले विश्वविद्यालयले समेत प्राथमिकतामा राखेको उहाँले बताउनु भयो । कार्यक्रममा विश्वविद्यालयका डिन, सहायक डिन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा अध्यक्षहरु, अन्य कर्मचारीहरू तथा विभिन्न क्षेत्रका नागरिकहरूको सहभागिता रहेको थियो ।