सिँचाई आयोजना छनौट गर्न नदीको मुहान चाहार्दैै मुख्यमन्त्री यादव

0
Shares

बारा। 

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सोमवार सिँचाई डिभिजन कार्यालयका प्राविधिक टोली लिएर चुरे क्षत्रेमा पर्ने निजगढ नगरपालिकाको बकैया र शक्ति खोलामा पुग्नुभयो ।

नगरपालिकाले प्रदेश सरकारसँग नगरमा सिँचाई सुविधा विस्तारको लागि माग गरेपछि मुख्यमन्त्री आफै मुहान चाहर्दै नदीको माथिल्लो भेगमा पुग्नुभएको हो । सो अवसरमा मुख्यमन्त्री यादवले निजगढ ४ को बकैया र निजगढ १३ को शक्ति खोलामा चालू सिँचाई आयोजनाको निरीक्षण गर्नुभएको थियो ।
मुख्यमन्त्री यादवले नगर प्रमुख सुरथ पुरी र स्थानीय किसानबाट सिँचाइको समस्या बारे जानकारी लिएपछि दुवै खोलामा सञ्चालित आयोजनाको क्षमता विस्तार गरेर कमाण्ड एरिया बढाउने गरी योजना संचालन गर्न डिभिजन सिँचाई कार्यालयका निमित्त प्रमुख हसमद अन्सारीलाई निर्देशन पनि दिनुभएको थियो ।
मुख्यमन्त्री यादवले निजगढमा सिँचाई सुविधा विस्तारको लागि प्रदेश सरकारले सहयोग गर्ने बताउँदै कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर आफूले काम गरिरहेको पनि बताउनुभयो ।

‘प्रदेश सरकारले किसानको जीवनस्तर उकास्न सिँचाइलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको छ, मुख्यमन्त्री यादवले भन्नुभयो, विद्यमान स्रोतको अधिकतम प्रयोग गरेर बढीभन्दा बढी क्षेत्रमा सिँचाई पु¥याउने गरी आयोजना संचालन गर्नुपर्छ ।’ उहाँले सिँचाई कार्यालयका कर्मचारीहरुलाई बारा जिल्लाका सबै नदीहरुको अध्ययन गरेर यसको सम्भावनाको बारेमा अध्ययन गरेर प्रतिवेदन पेस गर्न पनि निर्देशन दिनुभएको थियो ।

कृषिको विकासको लागि सिँचाई पहिलो सर्त भएको पनि उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा प्रदेशका सबै पालिकामा एउटा÷एउटा नमुना काम गरेर देखाउने बताउँदै निजगढमा भने सिँचाइको क्षेत्रमा नै लगानी गर्ने बताउनुभयो ।

नेपालमा जलस्रोतको दृष्टिले विश्वकै दोस्रो धनी देश भएपनि यसको सही प्रयोग गर्न नसक्दा अपेक्षित विकास हुन नसकेको मुख्यमन्त्री यादवको भनाइ थियो । मुख्यमन्त्री बनेपछि आफूले प्रदेशमा रहेको जलस्रोतको अवस्था अध्ययन गरेर अधिकतम प्रयोग गर्ने लक्ष्य राखेको पनि जानकारी दिनुभयो ।

सो अवसरमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले बकैया र शक्ति खोला हाल संचालनमा रहेको बाघभैरव लाल गाउँ र रतनपुरी सिँचाई आयोजनाबाट निजगढमा पर्याप्त सिँचाई सुविधा पुग्न नसकेकोको जानकारी गराउँदै बढी क्षमताको नयाँ आयोजना संचालन गर्न मुख्यमन्त्री यादव समक्ष माग गर्नुभएको थियो । नगर प्रमुख पुरीले सिंगौलको धन्सार सिँचाई र वडा नम्बर १२ मा रहेका साना खोलाहरुको पानीलाई पनि सिँचाईमा प्रयोग गर्ने गरी आयोजना संचलन गर्न मधेस प्रदेश सरकारसँग आग्रह गर्नुभएको थियो । ‘निजगढमा सम्बृद्धिको आधार भनेको नै सिँचाई सुविधाको विस्तार हो, नगर प्रमुख पुरीले भन्नुभयो, विद्यमान स्रोतको सही उपयोग गरेर सिँचाई विस्तार गर्न सकियो भने कृषि उत्पादन दोब्बरले वृद्धि हुन्छ र नगरबासीको जीवनमा सम्बृद्धि पनि आउँछ ।’

निजगढको बकैया, शक्ति र धन्सार खोलामा बाह्ै महिना पानी बग्ने गर्छ भने नगरभित्र अन्य १ दर्जनभन्दा बढी साना खोल्छीहरु पनि रहेका छन । तर व्यवस्थित सिँचाई सुविधा नहुँदा निजगढको करिव ५ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुग्न  सकेको छैन । हाल संचालनमा रहेको निजगढ ४ को बकैया र वडा नम्बर १३ को शक्ति खोलाको सिँचाई आयोजनाबाट पनि सो क्षेत्रको सबै जमिनमा सिँचाई सुविधा उपलब्ध हुन सकेको छैन ।

निरीक्षण टोलीमा मुख्यमन्त्री यादवसहित बारा क्षेत्र नम्बर १(१) का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, निजगढ नगरपालिकाका नगर प्रमुख पुरी, उपप्रमुख सोममाया थिङ्ग, निजगढ वडा नम्बर १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौला, निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेवी खनाल लामिछाने, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुदर्शन कोइरालालगायतको सहभागिता रहको थियो ।