हावाहुरीको मौसममा स्किन र कपालको स्याहार



सुष्मा महरा

अबको मौसम जाडोको अन्त्य र गर्मी यामको शुरुवातको मौसम हो । यो जाडो र गर्मी छुट्टिने समय भएकाले यस्तो बेला हावाहुरी लाग्ने हुन्छ । हुन त हावाहुरी लाग्ने महिना भनेको चैत्र–वैशाख हो । तर यसपालि माघ अन्तिमबाट नै हावा लाग्न शुरु भएको छ । हावा चल्न थालिसकेकोले हामीले आफ्नो शरीरदेखि कपालसम्मको विशेष केयर गर्न जरुरी छ ।

हामीले दैनिक गर्ने शारीरिक स्याहारमा केही मात्रामा ध्यान दिन सक्यौं भने हावाले शरीरमा पार्ने असरबाट बच्न सकिन्छ । हावा चल्ने मौसममा हावाको प्रभावले शरीर, अनुहार र कपाल एकदमै ड्राइ भइरहेको हुन्छ । जसले गर्दा शारीर तन्दुरुस्त भए पनि बिरामीजस्तो देखिन्छ । यो मौसममा हामीले नियमित प्रयोग गरिरहेको हेयर प्रोडक्ट तथा बडी प्रोडक्ट सुट नभएको हो कि जस्तो लाग्न थाल्छ ।

यो मौसममा शरीर तथा हातखुट्टामा मोश्चराइजर लगाए पनि एकैछिन्मा फुस्रो भइसकेको हुन्छ । यस्तो बेला पटक–पटक मोश्चरइजर लगाउँदा झन्झटिलो पनि हुने गर्छ । कतिपय अवस्थामा हामी मोश्चराइजरजस्ता स्किन मुलायम बनाउने लोसन लगाउन पनि बिर्सन्छौं । यस्तो बेलामा हाम्रो हातखुट्टा सुख्खा र फुस्रो देखिन्छ । अझ सुख्खा किसिमको छाला हुनेका लागि त हावाले झनै बढी असर गरेको देखिन्छ । यस्तो अवस्थामा हाम्रो स्किन तथा कपाललाई कसरी हावाबाट बचाउने भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ ।

जाडो र गर्मी छुट्टिने अधकल्चो मौसममा समेत हामी तातो पानी नै प्रयोग गरिरहेका हुन्छौँ । जाडोमा तातोपानी प्रयोग गर्ने बानी बसेकाले यस्तो मौसममा पनि तातो पानी नै चलाइरहेका हुन्छाैं । हुन त धेरै जनाले अनुहारको लागि चाहिँ चिसो पानी नै चलाउँछु पनि भन्नुहुन्छ ।

तर उहाँहरुको पनि नुहाउँदाचाहिँ तातो पानी नै प्रयोग गर्ने बानी हुन्छ । यसरी तातो पानीले नुहाउँदा हाम्रो स्किन डल र ड्राइ भइरहेको हुन्छ, त्यसैले नुहाउँदा मोश्चर भएको साबुन तथा स्याम्पु प्रयोग गर्ने बानी गर्नुपर्छ । यसका साथै नुहाउँदा अन्तिमपटक पखाल्ने पानीमा अलिकति गिल्सिरिन मिसाएर त्यसलाई राम्रोसँंग घोली शरीरमा प्रयोग गर्नुपर्छ ।

त्यस्तै होलबडी मोश्चर गर्नका लागि बजारमा सजिलै पाइने बडी लोसनको मजाले प्रयोग गर्नुपर्छ । घरमा बस्दा पञ्जा–मोजा लगाएर बस्ने बानी ग¥र्यौं भने पनि शरीरका देखिने ठाउँ जस्तै– हातखुट्टाको ड्राइनेसमा धेरै कम हुन्छ । अनुहारका लागि भने पञ्जा–मोजाजस्ता वस्तु लगाउने भन्ने हुँदैन । त्यसमाथि पनि नेपालमा केही समुदायबाहेकका महिलाले बुर्का लगाउँदैनौं । केही देशमा बुर्का लगाउने चलन छ । यसको राम्रो पक्ष भनेको चाहिँ जाडो मौसममा हातखुट्टालाई मोजा र पञ्जाले बचाएजस्तै अनुहारलाई हावाबाट बचाउनु हो । तर हाम्रो लागि भने बुर्का भनेकै उपयुक्त स्याहार र मेकअप हो ।

कतिपय अवस्थामा हाम्रो मेकअपले पनि अनुहारलाई हावाबाट बचाउने हुन्छ । शुरुमा मेकअप गर्दा मोश्चराइजर लगाउनुपर्छ । मोश्चराइजिङ गर्दा कतिपय मोश्चराइजर एकदमै चिल्लो हुने भएकाले सिजन र स्किन अनुसारको उपयुक्त मोश्चराइजर छान्नुपर्छ । सुख्खा खालको स्किनमा भने बढी चिल्लो खालको मोश्चराइजर लगाउनुपर्ने हुन्छ ।

राति स्किनलाई नरिसिङ गर्नका लागि उपयुक्त फेसवास र त्यसपछि क्लिन्जिङ गरेर सिरम लगाउनुपर्छ । अनुहार नरम बनाइसकेपछि मात्र त्यसमाथिबाट आफ्नो स्किन अनुसारको सनब्लक तथा फाउन्डेसन लगाउनुपर्छ । ओठलाई पनि हावाको प्रभावबाट फुट्न नदिनका लागि बेलुका पेट्रोलिया जेलीको प्रयोग गरेर मेकअप गर्दा राम्रो खालको ग्लस, लिपस्टिक तथा लिप बामको प्रयोग गर्नुपर्छ । यसरी मेकअप गर्दा स्किनलाई दिउँसो सनट्यानबाट बचाउनुका साथै हावाले हाम्रो अनुहार तथा हात सजिलै फुट्न दिँदैन । यसरी स्किनलाई जोगायौँ भने हाम्रो स्किन नरम तथा आकर्षक देखिन्छ ।

हावा चल्ने मौसममा कपालमा पनि विभिन्न खालका समस्या देखिन्छन् । हावा लाग्ने मौसममा कपाल खुल्ला राख्नु हुँदैन । किनकि हावाले कपाल फरर उडाएपछि कपाल सुख्खा हुने, फुस्रो हुने, अस्वस्थ हुने समस्या देखिन्छ । स्वस्थ र चिटिक्क परेको कपालले व्यक्तित्वमा निखार ल्याउँछ तर अस्वस्थ र फुङ्ग उडेको कपालले हाम्रो व्यक्तित्वमा पनि फरक प्रभाव पार्छ । हुन त अहिले क्याराटिन स्मुथिङ बजारमा आइसकेको छ । यसको माध्यमबाट कपाललाई प्रोटिन दिएर मुलायम बनाउन सकिन्छ तर सधैँ स्मुथिङ गर्न सकिंँदैन र भ्याइँदैन पनि ।

हामीले सामान्य कुरामा ध्यान दिएर पनि हाम्रो कपाल नरम, मुलायम र आकर्षक राख्न सक्छौँ । यस्तो बेला हामीले हिँड्दा पातलो खाले स्कार्फ बोक्नुपर्छ र हावा लाग्ने समयमा कपाल ढाकेर हिँड्नुपर्छ । कपाल यत्तिकै छोडेर हिंँड्दा हावा र धूलोका कारण कपाल फङ्ग उड्ने, सुख्खा हुने गर्छ अनि कपडा र कपाल एक–अर्कामा टाँसिँदा करेन्ट लागेको जस्तो सिर्र तानिएर आएको अनुभव हामी धेरैले याद गरेको पनि हौँला ।

नुहाउनुअघि कपालमा भिटामिन ‘ई’ र त्यसमा कोकोनट अयल तथा क्यास्टर अयल मिसाएर मसाज गर्ने गर्नु राम्रो हुन्छ । साथै नुहाउँदा मोश्चर भएको स्याम्पु तथा ट्रिट्मेन्ट प्रयोग गर्ने बानी गर्नुपर्छ ।आजकल हामी धेरैजसो महिला कामकाजी नै हुन्छौं । त्यसकारण बाहिर ननिस्कने भन्ने पनि हुँदैन । सधैँ पार्लर मात्र गएर राम्री बन्ने भन्दा पनि घरमै ध्यान दिन सके पैसा र समय दुवैको बचत हुन्छ । हावा आउने समयमा अल्छी नमानी आफ्नो शरीर तथा कपालका लागि उपयुक्त स्याहार गर्दा व्यस्त जीवनमा धेरै समय खर्चिनु पनि पर्दैन । यसरी दैनिक रुटिन फलो गरेर आफ्नो लुक सुन्दर तथा स्मार्ट बनाउन सकिन्छ ।

लेखिका महरा फेसियल हाउसकी सञ्चालक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्