अस्पताल निर्माणमा अनियमितताको आशंका

0
Shares

वीरगन्ज।

पर्साको धोबिनी गाउँपालिकामा अस्पताल निर्माणको कार्यमा अनियमितता भएको भन्दै अख्तियारको टोलीले छापा हानेको छ। धोबिनी गाउँपालिका वडा नम्बर २ भिखमपुरमा निर्माणाधीन १५ बेडको अस्पतालमा कमसल किसिमको गिटी, बालुवा, छडलगायत निर्माण सामाग्री प्रयोग गरिएको उजुरीको आधारमा निर्माण स्थलमा अख्तियारले छापा हानेको हो।

उजुरीको आधारमा सोमबार अख्तियारको हेटौँडास्थित कार्यालयबाट आएको टोलीले निर्माण सामाग्रीको नमुना संकलन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिनुभयो । उहाँले अस्पताल निर्माणमा प्रयोग गरिएको गिटी, बालुवा, छडलगायतका निर्माण सामाग्रीको नमुना संकलन गरी अनुसन्धान अघि बढाइएको बताउनुभयो ।

उजुरीको आधारमा टोलीले त्यहाँबाट सामाग्रीको नमुना संकलन गरेर फर्केको र अस्पताल निर्माणको क्रममा गाुणस्तरहीन सामाग्रीको प्रयोग भएको भन्ने उजुरी परेको उहाँले बताउनुभयो । ठेकेदार कम्पनीले गुणस्तरहीन सामाग्री प्रयोग गरेर अस्पताल निर्माण गरिरहेको भन्दै स्थानीयवासीले लागातार विरोध गर्दै आएका थिए।

अस्पताल निर्माणको ठेक्का बुद्ध, ड्रेगन, बस्नेत जेभीले पाएको छ तर निर्माणको काम भने पप्पु कन्स्ट्रकसनले गरिरहेको स्थानीय सन्तोष पटेलले दाबी गर्नुभयो ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले १५ मंसिर २०७७ मा देशभरका ७५३ स्थानीय तहमा अस्पताल पु¥याउने भन्दै योजनाको भर्चुअल उद्घाटन गरेका थिए।

उक्त अस्पताल पनि सोही योजनाअन्तर्गत बनिरहेको छ।