पूर्वराजा र राजनीतिक दलको सहकार्य

0
Shares

नेपालमा नेकपा माओवादीको युद्ध र अन्य राजनीतिक दलको प्रयासमा राजतन्त्र हटेको पनि झन्डै दुई दशक बित्न लागेछ । पूर्वराजा ज्ञानेन्द्र शाहले विनारक्तपात नारायणहिटी दरबार छोडेर नागार्जुन दरबार गएका थिए ।

राजा वीरेन्द्रको वंश विनाश हुने गरी भएको दरबार हत्याकाण्डको घटनापछि पूर्वराजा ज्ञानेन्द्र शाहप्रतिको जनआक्रोश बढेको देखिन्छ । झन्डै दुई दशक बित्दा पनि पूर्वराजालाई आफ्नो साबिकको स्थानमा विराजमान हुन नपाउँदा अवश्य पनि पीडाबोध भएको हुनुपर्छ ।

पूर्वराजाले नारायणहिटी छोडेपछिका दिनमा कुनै पनि राजनीतिक दलले सन्तुष्टिपूर्ण अवस्थाले शासन सञ्चालन गर्न सकेको पाइएन । यदि नेपाली जनता र देशप्रतिको माया केही मात्रामा थियो भने राजनीतिक दलको असफल शासन व्यवस्थाले पूर्वराजाको मन पनि अवश्य असन्तुष्ट भएको हुनुपर्छ । पूर्वराजा ज्ञानेन्द्रले आक्कलझुक्कल पत्रकारले अन्तर्वार्ता लिँदा कुनै न कुनै अभिव्यक्ति दिने गरेकै हुन् । अहिले भने उनी सडकमै उत्रिएर अब राजनीतिक क्षेत्रमा जनविश्वास बटुल्न सकिन्छ कि भनेर लागेका देखिन्छन् ।

मूलतः नेपाली काङ्गे्रस, नेकपा एमाले, माओवादी केन्द्रजस्ता ठूला राजनीतिक दलका कुनै पनि शासकले शासन गरे पनि कुनै नौलोपना दिन सकेका छैनन् । गणतन्त्रको दुहाइ दिएर हाम्रा नेता नथाके पनि उनीहरुले दिएको कुशासनको फोहोरले आमजनता हरेकजसो राजनीतिक दलसँग विश्वास राख्न त छोडेकै छन्, अब हरेकजसो राजनीतिक दललाई निकै घृणाका दृष्टिले हेर्न र तदनुसारकै व्यवहार गर्न थालेका छन् ।

हरेक राजनीतिक दलले देश विकासका नाममा पस्कने आश्वासन अनि फोस्रा भाषणले आमजनताको मानसिकता खलबलिएर दिक्क लाग्दो हुन पुगेको छ । यसरी असफल बन्दै गएका राजनीतिक दलप्रतिको भरोसा टुटेको हुनाले विकल्पको रुपमा पूर्वराजा ल्याउन पाए हुन्थ्यो भन्ने ध्येय राख्ने र तदनुसारका काम गर्ने मानिस पनि छन् । तथापि राजनीतिक दलको यो सिन्डिकेट कायम रहँदासम्म पूर्वराजाको पनि कुनै दया चल्लाजस्तो राजनीतिक परिदृश्य प्रस्टरुपमा देखा पर्न सकेको छैन ।

सम्भव छ त पूर्वराजा र विभिन्न राजनीतिक दलका बीचको सहकार्य ? भनेर विश्लेषण गर्ने हो भने, हाललाई यो कुरा कुनै असम्भव नदेखिए पनि कालान्तरमा घातकसिद्ध हुन पनि बेर लाग्दैन । यो अवस्था सिर्जना हुनका लागि अरु धेरै तत्वको भर पर्नुपर्ने हुन्छ । पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक दलसँग सहकार्य गर्नुुपर्ने कारण के होला ? राजनीतिक दलले खिचलो मात्र गरेका र कुनै पनि ठोस काम गर्न नसकेका हुनाले आफू राजनीतिक दलसँग सहकार्य गर्दै त्यस कमजोर पक्षमा सुधार ल्याउने स्वच्छ विचारले सहकार्य गरे भने सफल हुन पनि सकिन्छ ।

शायद विगतका तुलनामा आमजनताका सहानुभूतिका पात्र बन्न सक्ने क्षमताले यो कदम उठाएको पनि हुन सक्छ । या त आफूले झन्डै दुई दशकअगाडि जुन बेला नारायणहिटी दरबार छोडेर हिँडियो, त्यस बेलादेखि आयस्ताको कुनै बाटो बनाउन असफल रहेका र राजनीतिक दलका नेताले ब्रह्मलुट मच्चाएको देखेर लोभ लागेको हुनाले सहकार्यको विषय उठान गरेको हुनुपर्छ । यदि सहकार्य गर्न सकियो वा पाइयो भने नेताले मच्चाएको लुटतन्त्रको आफू पनि हिस्सेदार बन्न पाइने लोभले पनि सहकार्यको कुरो आएको हुनुपर्छ ।

अर्को कोणले हेर्दा विगतमा आफ्ना बाउबाजेले अनेक युद्ध गरेर जोगाएको देश आज को–को जातिका हातमा परेको हुनाले ती को–को जातिलाई छेउ लगाएरै भए पनि आफू सत्ताको साझेदार बनौँला कि भन्ने कूटनीतिक विचारबाट हौसिएर पूर्वराजाले राजनीतिक दलसँगको सहकार्य खोजिरहेका होलान् भन्ने तर्क पनि आफ्ना ठाउँमा एउटा सम्भावना बनेर आएको देखिन्छ । उनको अन्तष्करणले सोचेको हुनसक्छ– अब कति पर्दाभित्र मात्र बसिरहनु ? पर्दामुक्त बनेरै राजनीतिमा लाग्छु भन्ने एउटा कुनै न कुनै आधारमा सम्झौता नभई उनी राजनीतिक दलसँग सहकार्य गर्ने मुडमा भएको कुरो पनि सम्भावनाको एउटा हाँगो हुनसक्छ ।

यदि हामीले नसोचेको विषय भएर पनि पूर्वराजा र राजनीतिक दलका बीचमा सहकार्य भएछ नै भने कत्तिको दीर्घकालीन वा स्थायी सम्बन्ध रहला ? भन्ने कुरो पनि एउटा चासोको कुरो हुन्छ । राजनीतिक दलसँगको सहकार्यपछिका दिनमा पूर्वराजाको स्थान कहाँनेर रहला ? उनले हाल पाउँदै आएका विभिन्न सुविधामा कटौती होला कि नहोला ? कुनै राजनीतिक दलका धुर्त नेताले पूर्वराजालाई पाखा लगाएर तहमा राख्न खोज्लान् कि पूर्वराजाले चाहिँ हाम्रा नेतालाई तहमा राख्न खोज्लान् ? अहिले हुँदै रहेका भ्रष्टाचारका विरुद्धमा उभिएलान् कि समर्थनमा उभिएलान् ? भन्ने कुरा पनि अहं भूमिका खेल्ने कुरा नै हुन् । खुल्ला राजनीतिमा आएर संसद्को चुनावमार्फत राजनीतिमा प्रवेश गरेका पूर्वराजाले चुनाव जितेरै गए पनि एउटा सांसद मात्र बन्न पुग्छन् ।

यसरी चुनाव जितेर भर्खर संसद्मा प्रवेश गरेका पूर्वराजाको स्थान भनेको एउटा सामान्य माननीयको मात्र हुन्छ । पूर्वराजाहरुले पहिलेका मन्त्री, सांसदहरुलाई तिमी भनेर सम्बोधन गर्ने चलन थियो, के अबका दिनमा पनि पूर्वराजाले त्यसै गरी सम्बोधन गर्लान् अनि सुहाउने खालको होला कि नहोला भन्ने कुरा पनि अड्कल र अन्दाजका विषय हुनेछन् ।

अहिले मात्र होइन कि विगत धेरै वर्षअगाडिदेखि देशले एउटा सबल, सक्षम, दूरदर्शी नेतृत्वको खोजी गरिरहेको छ । यदि त्यस्तो क्षमतावान् मान्छे सत्ताको तालाचाबी लिएर देश हाँक्न थालेको खण्डमा हाम्रो देश पनि धेरै हदसम्म विकसित भएर जान सक्छ ।

यदि पूर्वराजा खुल्ला राजनीतिक परिवेशमा आएर अपार जनमतका साथ विजयी बनी संसद् भवनमा गएपछिका दिनमा नेपाल देश र आम नेपाली जनताले साँच्चैको सक्षम नेतृत्व पायौँ भनेर भित्री मनैदेखि खुशीको अनुभूति गर्न पाऊलान् त ? त्यसपछिका दिनमा एउटा दृष्टिकोणका साथ नेपाल देश विकाश र समृद्धिको बाटोमा दौडन थाल्ने अवस्था बन्ला त ? हो पूर्वराजा ज्ञानेन्द्र शाहले संसदीय दलको चुनावमा जितेर संसद् भवनभित्र छिर्दै गर्दाको अवस्थामा यी तमाम अपेक्षा पूरा हुँदै जाने लक्षण देखा परेको खण्डमा मात्र आमजनताले राहतको अनुभव गरेर उनको जयगान गाउने छन् ।

होइन पहिलेकै तरिकाले वा यथास्थितिबाटै चल्ने हो भने राजनीतिक दलसँग सहकार्य गर्नु कति पनि उत्तम होइन । यदि म एक्लै पनि केही गरेर देखाउन सक्छु भन्ने सानोतिनो अहंकारी भावना मनभित्र बोकेर संसद् भवनभित्र छिरेका रहेछन्, एउटा विकल्प र सानोतिनो भए पनि आशाको केन्द्रको रुपमा रहेको राजतन्त्र र त्यसका सञ्चालकको समेत हबिगत पातलो भएर जान बेर लगाउँदैन । आफूलाई यति धेरै वर्षसम्म कैदीको रुपमा राख्ने राजनीतिक दललाई म स्वयंले तहसनहस बनाइदिन्छु भन्ने मानसिकताको उपजको रुपमा रहेको सानो रिसले पनि विनाशको बाटो तय गर्न सक्छ ।

नेपालको कूटनीतिक खेलमा अहिलेका भासेभुसे राजनीतिक दलभन्दा शताब्दीयौँदेखि जरा गाडेर बसेको र संसारका विभिन्न देशसँग कूटनीतिक सम्बन्ध बलियो बनाउँदै आएको राजतन्त्रले धेरै देशसँग बलियो कूटनीतिक सम्बन्ध बनाएको पाइन्छ । पूर्वराजा र राजनीतिक दलका बीचमा यस विषयमा पनि सङ्घर्ष हुन बेर लाग्दैन । विदेशीले तिमीहरुलाई अधिक मात्रमा माने कि हामीलाई माने ? भनेर राजनीतिक दल र पूर्वराजाका बीचमा टकराव पैदा नहोला भन्न पनि सकिँदैन ।

आमजनताका लागि हितका काम गर्न भनेर माथि पुगेकाहरुका बीच सहकार्य गरेर आ–आफ्ना तर्फबाट देशोन्नतिका काममा लाग्नुपर्ने बेलामा किचलो हुन थाल्यो भने पूर्वराजाले राजनीतिक दलसँग आ–आफ्ना कुन–कुन स्वार्थ पूरा गर्नुपर्ने थियो, ती–ती पूरा गर्न सकियो भनेर खुशी हुनुपर्ने दिन पनि आउन सक्नेछ ।

अहिलेका राजनीतिक दलसँग सहकार्य गरेर राजनीतिक धरातलमा उदाएका पूर्वराजालाई कुनै पनि राजनीतिक दलले नटेरेर वा हेपाहापूर्ण व्यवहार गरे अथवा उपेक्षा गरेर एउटा निरीह व्यक्तिका रुपमा परिणत गरिदिए भने उनी राजनीतिमा आउनुको औचित्य कति प्रमाणित होला ? आफू राजनीतिमा आएपछि पनि देश र जनताको अवस्थामा सुधार नआउँदा खिन्न मानसिकता बोकेर बाँच्नुपरेको खण्डमा राजनीतिमा प्रवेश गरेको कुरा कति सुहाउने खालको होला ? आज पूर्वराजाको रुपमा र तदनुसारको सम्मानित अवस्थाका पूर्वराजा खुला राजनीतिमा प्रवेश गरेपछि पनि आमजनताले आज भौग्दै गरेका दुःख र पीडालाई यथास्थितिमै भोग्नुपरेको कुरा आफू निरीह बनेर हेर्नुसिवाय अरु कुनै विकल्प खोज्न सकिएन भने मानसिक पश्चात्तापको भारीले कतिको थिचिनुपर्ला ? पूर्वराजा ज्ञानेन्द्र शाहले आजका दिनमा राजनीतिक दलसँगको सहकार्यको विषय उठान गरिरहँदा यी सबै विषयको राम्ररी विश्लेषण नगरी हतार गर्नुको साटो दश वा बीसपटक सोचविचार गरेर मात्र सहकार्य गर्नु उचित हुनेछ ।

नेपालको विकास कुनै पनि राजनीतिक दल वा कुनै व्यक्ति वा संस्था आदिले एक्लाएक्लै गरेर सम्भव भएको होइन र अब पनि सम्भव हुने कुरो छैन । यसको मतलब हामीले हाम्रो देशको विकास नगरी भएन भन्ने पवित्र मानसिक सोचाइ राखी धेरैसँग सहकार्य गरेर जान सक्दा काम चाँडो सम्पन्न हुन्छ । त्यसै गरी पूर्वराजाको सहकार्यको विचार ज्यादै समय सान्दर्भिक र सही छ तापनि कुन उद्देश्यले, किन–कसरी सहकार्य गरिन्छ, त्यो सबै कुराचाहिँ सबैभन्दा महत्वको विषय हुनेछ ।

त्यसपछिको विषय भनेको पूर्वराजा ज्ञानेन्द्र शाहका सल्लाहकारहरु कुन खालका छन्, देशघातक छन् कि देशभक्त छन् भन्ने कुरामा पनि पूर्वराजाको दलसँगको सहकार्यको औचित्य हुन्छ । यदि उनका सल्लाहकार देशभक्त रहेछन् भने उनी देशको मायाले, देशलाई उन्नतिशील बनाएर लैजानको लागि हृदयदेखि नै समर्पित भएर उपायको खोजीमा लागेका छन् भन्ने हुन्छ । यदि होइन भने मुलुक झन् अधोगतिमा जान बेर लाग्दैन ।