गाउँमै उपचार पाउँदा दंग छन् फलेबासी, एकै दिन १२ सयको स्वास्थ्य परीक्षण 



पर्वत।

जैमुनी नगरपालिका–६ जैदीकी रिता थापा हात खुट्टा तथा ढाड दुख्ने समस्याले ग्रसित हुनुहुन्थ्यो । उहाँलाई हिँड्न डुल्न तथा उठ्न बस्न समेत गाह्रो हुँदै गएको थियो । विगत ३ बर्षदेखि उक्त समस्याले ग्रसित थापाको आर्थिक अभाव र घरायसी समस्या कारण रोगलाई दबाएर बस्नु बाध्यता थियो ।  उपचारका लागि गाउँका स्वास्थ्य क्लिनिकहरूले पोखरा वा काठमाडौँ जान सुझाव दिँदै आएका थिए । छिमेकी जिल्ला पर्वत फलेवासमा काठमाडौँका विशेषज्ञ डाक्टर सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने सूचना पाएर आएकी थापाले चेकजाँच सहित निःशुल्क औषधी उपचार पाएपछि आधा रोग अहिले नै ठिक भएजस्तो महसुस भएको उहाँको भनाई छ ।

फलेवास नगरपालिका–६ देविस्थानका ८१ वर्षीय देवीप्रसाद भुषाल पनि थापा जस्तै रोगले ग्रसित भएको ६ वर्ष भयो । हात खुट्टा भतभती पोल्ने र दुख्ने समस्याबाट पीडित बनेका भुषाल डाक्टरहरुबाट पाएको परामर्श र निःशुल्क औषधी उपचारले ठिक हुनेमा आशावादी हुनुहुन्छ । उहाँ  भन्नुहुन्छ  ‘काठमाडौं जान दुई तीन दिन लाग्थ्यो, यहीँ डाक्टर आए राम्रो भयो ।’

थापा र भुषाल जस्तै फलेवास नगरपालिका–७ की लिमिठानाकी पुतली वि.क दाँत दुखेर रातभरि नसुतेको हप्ता दश दिन भयो । दाँत दुख्ने समस्याले हैरान परेकी पुतलीले स्वास्थ्य शिविरबाट राम्रो उपचार पाएको बताउनुभयो ।  ‘दाँत दुखेर सुतेकी थिइन, शिविरमा आउँदा पनि दाँत दुखेको थियो, डाक्टरहरुले आधा घण्टा लगाएर उपचार गरेपछि सन्चो भएको छ र औषधी पनि दिनुभएको छ ।’ उहाँले भन्नुभयो ।

उमेरले ४६ नाघेकी लिमिठानाकी सावित्री रेग्मी पनि गाउँ नजिकै उपचार पाउँदा दङ्ग हुनुहुन्छ । गाउँमै पुगेका डाक्टरले ग्याष्टिकको नि:शुल्क औषधी दिँदै घरेलु उपचारको सल्लाह पाएकी उहाँलाई आफ्नो समस्या समाधान हुने आशा पलाएको छ ।

पर्वत र बागलुङ जिल्लालाई लक्षित गरेर लायन्स क्लब अफ काठमाडौँ देउराली दियालोले फलेवास नगरपालिका–५ खानीगाउँमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरको पहिलो दिन  १ हजार दुई सय ५० जना भन्दा बढिले सेवा लिएका छन् । दुर्गम भेगमा बसोबास गरिरहेका र स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थासम्म जान नसक्ने अवस्थाका बिरामीलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रम संयोजक कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै खालका बिरामीलाई नि:शुल्क औषधि उपलब्ध गराइएको छ ।उपचारको लागि गुणस्तरीय स्वास्थ्य संस्थाको पहुँच पुग्न नसकेर लामो समयदेखि रोगले थलिएर बसेका गरिब विपन्न वर्गलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रम संयोजक सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्