श्रृखंलाबद्ध चोरीका घटना, सुरक्षामा चुनौती

0
Shares

स्याङ्जा ।

दुईबर्ष अगाडी जिल्लको भीर कोट ६ सुन्दर बजारकी अनिषा थापाको कोठामा चोरी भयो । भाडाको घरमा बस्नुभएकी थापाको कोठाबाट ६ तोला बराबरको सुनका गरगहना चोरी भएको थियो ।

दुईवर्ष बितिसक्दा पनि प्रहरीले सुन चोर्ने व्यक्ति पक्राउ गर्न सकेको छैन । अहिलेसम्म पनि यो घटना अनुसन्धान मै रहेको प्रहरी बताउँछ । चोरबाट पीडित थापा धेरै पटक शङ्कास्पद व्यक्तिको नाम सहित प्रहरीकोमा पुग्नुभयो । तर प्रहरीले ठोस प्रमाण फेला नपरेको भन्दै सामान्य केरकार गरी ती व्याक्तिहरुलाई छाडिदिएपछि अहिले उहाँ प्रहरी कार्यालयमा धाउन छाड्नुभयो ।

शङ्कास्पद व्यक्तिको नाम अनुसन्धानका लागि प्रहरीलाई दिँदा उल्टो आफैलाई असुरक्षा महसुस गरेपछि उहाँको चोर पक्राउ पर्ने आशा हराएको बताउनुहुन्छ । थापाजस्तै दर्जनौँ चोर पीडितहरू अहिले सम्म प्रहरीको कार्यालयमा चोरी भएको नगद तथा सामग्री पाइन्छ की भन्दै धाउने गरेका छन् । तर प्रहरीले अनुसन्धान भइरहेको छ भन्दै फर्किदिने गरेको उनीहरू बत्ताउँछन् । चोरी भएका सामाग्री र चोर पक्राउमा प्रहरी अत्यन्तै चनाखो भएर लागेको पनि देखिन्छ ।

चोरी गर्ने केही व्याक्तिहरु पक्राउ पनि परेका छन् । तर स्याङ्जामा चोरीका घटनाहरुमा भने न्यूनीकरण भएको छैन । चोरीका घटना श्रृखंलाबद्ध हुन थालेपछि जिल्लावासीमा त्रास फैलिएको छ । चोरीका घटना बढ्न थालेपछि प्रहरीलाई थप सुरक्षा चुनौती पनि थपिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको तथ्याङ्क अनुसार यस वर्षको साउन देखि हालसम्म १५ वटा चोरीका घटना सम्बन्धी मुद्दा दर्ता भएका छन् । १५ वटा घटनामध्ये ११ वटा घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ भने अन्यको अनुसन्धान जारी रहेको बताएको छ ।

स्याङ्जामा ८ महिनाको अवधिमा ३० तोला सुन, ३ लाख ८० हजार २ सय नगद, विभिन्न इलेकट्रोनिक्स सामान, मोबाइल तथा कम्प्युटर चोरी भएको उजुरी परेको देखिन्छ । पछिल्लो समय जिल्लाको आँधी खोला गाउँपालिकाको पञ्चमूलकमा र भीर कोट नगरपालिकाको बयर घारीका दर्जनौँ ठाउँमा चोरी भएको छ । हालै मात्र भीर कोट नगरपालिकाको दहथुम स्थित हरी पौडेलको घरबाट करिब १२ तोला सुन र केही नगद चोरी भएको प्रहरीकोमा निवेदन परेको छ ।

यसरी जिल्लामा चोरीका घटना बढ्न थालेपछि स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले सबै नागरिकहरु सचेत रहन आग्रह गर्नुभएको छ । आफ्नो घरको साँचो बलियो गरी लगाउन जिल्लाबासीसँग अनुरोध गर्दै यस्ता घटनाहरु हुन नदिन सबैको सहयोग आवश्यक रहेको प्रजिअको भनाई छ ।  अहिलेसम्म भएका चोरीका घट्नाको प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको र अबका दिनमा यस्ता घटना दोहोरिन नदिन प्रहरी चौबिसै घण्टा खटेर लागेको जानकारी दिनुभयो ।

प्रहरीले मात्रै यस्ता घट्नालाई न्यूनीकरण गर्न कठिन हुन्छ प्रजिअ घिमिरेले भन्नुभयो, ‘समुदाय र प्रहरी मिलेर यस्ता घटनाहरु निरुत्साहित गर्नुपर्छ ।’ त्यसैले यस्ता घटना हुन नदिन सबै चनाखो हुनुपर्ने प्रजिअले बताउनुभयो । प्रहरीलाई सघाउन सबै जिल्लावासीलाई प्रजिअको अनुरोध छ । प्रहरी समुदाय साझेदारी कार्यक्रमलाई अझ प्रभावकारी बनाई समाजमा घट्ने विकृति र बिसंगतिलाई न्यूनीकरण गर्ने जिम्मेवारी सबैमा आएको उहाँले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

अहिलेसम्म शङ्कास्पद व्यक्तिलाई सोधपुछ गर्ने र नागरिकलाई सचेत बनाउने अभियान अगाडी सारिएको प्रजिअले बताउनुभयो । घटेका घटनालाई तीव्र अनुसन्धान र थप घटना हुन नदिन प्रहरीलाई निर्देशन समेत दिइसकेको उहाँको भनाई छ । हरेक घटनामा अनुसन्धान गर्न सहज बनाइदिन सबै जिल्लावासीलाई प्रजिअले आग्रह समेत गर्नुभएको छ ।

श्रृखंलाबद्ध हुन थालेका चोरीका घट्नामा जिल्ला प्रशासनको गम्भीर ध्यानाकर्षण भएको र थप रणनीति तयार गरी चोरीका घटना देखी अन्य गतिविधिलाई नियन्त्रण गर्न अगाडी बढेको प्रजिअको दाबी छ । तपाईंहरु पनि सचेत बन्नुहोस् उहाँले भन्नुभयो, ‘प्रहरी लगायत अन्य सुरक्षा समिति तपाईँहरूको सुरक्षामा खटिइरहेको छ ।’ तपाईँको सहयोगले यस्ता गतिविधिहरू आगामी दिनमा न्यूनीकरणमा सहजता हुनेछ ।