काभ्रेका १३ पालिकामा प्रतिस्पर्धा उन्मुख ‘आत्महत्या’

तीस महिनामा २ सय ८१ ले गरे आत्महत्या



काभ्रेका १३ पालिकामा तीस महिनाको अवधीमा महाभारतमा सबै भन्दा कम एक जनाले आत्महत्या गरेका छन् भने सबै भन्दा धेरै धुलिखेल नगरपालिकामा ४७ जनाले आत्महत्या गरेका छन् । खानिखोलामा पाँच र तेमालमा दश जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक हुँदा बनेपा नगरपालिकामा ४६ जनाले आत्महत्या गरेका छन् । बाँकी पालिकामा उस्तै तथ्याङ्क देखिएको छ ।

काभ्रे  । 

काभ्रेपलाञ्चोक जिल्लामा तीस महिनाको अवधीमा आत्महत्याबाट २ सय ८१ जनाले ज्यान गुमाएका छन् । झुण्डिएर आत्महत्या गर्नेहरुको संख्या अधिक छ । जेष्ठ नागरिक र बालबालिका आत्महत्याको सूचीमा बढ्न थालेका छन् ।

जिल्लाको महाभारत गाउँपालिकामा तीस महिनाको अवधीमा एक जनाले मात्रै आत्महत्या गरेका छन् । महाभारत पछि आत्महत्या कम गर्नेमा खानिखोला गाउँपालिका देखिएको छ । यो अवधीमा ५ जनाले आत्महत्या गरेका छन् । तेमाल तेश्रो नम्वरमा परेको छ । तेमालमा १० जनाले मात्रै आत्महत्या गरेका छन् । तेमाल पछि चौरीदेउराली, भुम्लु र बेथान्चोक उस्तै उस्तै पालिकाका रुपमा चिनिएका छन् ।

पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा रोशी गाउँपालिकाको तथ्याङ्क पनि उस्तै छ । आत्महत्या धेरै गर्ने पालिका मध्ये धुलिखेल र बनेपा अग्रस्थानमा छन् । धुलिखेलमा ४७ जना र बनेपामा ४६ जनाले आत्महत्या गरेका छन् । यो अवधीमा जिल्लामा १ हजार ३६ वटा घटना दर्ता भएकोमा ५ सय ७५ जनाको निधन भएको छ । विभिन्न घटनामा संलग्न मध्ये आत्महत्याको संख्या ठुलो छ ।

आत्महत्या गर्नेहरु २ सय ८१ जना मध्ये १ सय ७ जना महिला, १ सय ६० जना पुरुष, ५ जना बालक र ९ जना बालिका छन् । महिला, पुरुष, बालक र जेष्ठ नागरिकको आत्महत्या कारण फरक फरक भए पनि नेपालको कानूनी ब्यवस्था र कार्यान्वयनको पाटो, अवसर तथा ब्यवस्थापन र राजनीतिक अस्थिरताका कारण देखिएको आर्थिक संकट प्रमुख कारण देखिन थालेको छ । युवाअवस्थामा केहि केहि घटना मात्रै प्रेमसँग जोडिएका छन् । विवाह इत्तरका सम्वन्ध, बैदेशिक रोजगारको प्रभाव तथा प्रविधिको चरम दुरुपयोग आत्महत्याको प्रमुख कारण बन्न पुगेको छ ।

बनेपा नगरपालिकामा साढे २ वर्षको अवधीमा ४६ जनाले आत्महत्या गरेका छन् । जसमध्ये १७ जना महिला छन् । १ जना बालिका छन् । आर्थिक वर्ष २०७७-२०७८ मा १६ जना, २०७८-२०७९ मा २४ जना र चालु वर्षको पौष मसान्तसम्म ६ जनाले आत्महत्या गरेका छन् । पाँचखाल नगरपालिकामा साढे २ वर्षको अवधीमा २५ जनाले आत्महत्या गरेका छन् ।

जसमा १० पुरुष, १४ महिला र एक बालक छन् । पाँचखालमा पुरुष भन्दा धेरै महिलाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७७-२०७८ मा १० जना, २०७८-२०७९ मा ७ जना र चालु वर्षको पौष मसान्तसम्म ८ जनाले आत्महत्या गरेका छन् । खानीखोला गाउँपालिकामा दुई वर्ष देखि आत्महत्याका घटना भएका छैनन । यो मानेमा शहर भन्दा गाउँ धेरै शान्त र आनन्द देखिएको छ । आर्थिक वर्ष २०७७-२०७८ मा खानीखोलामा ५ जनाले आत्महत्या मार्फत ज्यान गुमाए । जसमा ३ पुरुष र २ महिला छन् ।

महाभारत गाउँपालिकामा तीन वर्षको अवधीमा १ जना पुरुषले मात्रै आत्महत्या गरेका छन् । यो जिल्लाकै कम संख्या हो । आर्थिक वर्ष २०७७-२०७८ मा एक जना पुरुषले आत्महत्या गरेका थिए । त्यस यता महाभारत गाउँपालिकामा आत्महत्याका घटना भएका छैनन । भुम्लु गाउँपालिकामा भने यो अवधीमा १७ जनाले आत्महत्या गरेका छन् । जसमा महिला ४ जना छन् भने पुरुष १३ जना छन् । आर्थिक वर्ष २०७७-२०७८ मा १० जनाले आत्महत्या गरेका थिए ।

त्यो क्रम भुम्लुमा पछिल्ला वर्षमा कम भएको तथ्याङ्कले देखाएको छ । नमोबुद्ध नगरपालिकामा जिल्लाकै सबै भन्दा धेरै बालिकाहरुले आत्महत्या गरेका छन् । यो अवधीमा २५ जनाले आत्महत्या गरेकोमा ३ जना बालिका र १ जना बालक छन् । महिला १० र पुरुष ११ जना छन् ।

हरेक वर्ष महिला, पुरुषसँगै बालबालिकाहरुले आत्महत्या गरिरहेको तथ्याङ्कले देखाउँछ । धुलिखेल नगरपालिका सदरमुकाम भएको पालिका हो । यहाँ विभिन्न क्षेत्र तथा जिल्लाका नागरिकहरुको बसोबास रहेको छ । सरकारी कार्यालयहरु भएकाले यहाँ कार्यालय प्रमुखले समेत आत्महत्या गरेका छन् । धुलिखेलको कुल तथ्याङ्क यो अवधीमा ४७ रहेको छ । जसमा पुरुष २९, महिला १६, बालक र बालिका १-१ जना रहेका छन् ।

मण्डनदेउपुर नगरपालिकामा यो अवधीमा २३ जनाले आत्महत्या गरेका छन् । १५ जना पुरुष, ६ जना महिला र २ जना बालिका छन् । यो पालिकामा पनि आत्महत्या दर बढिरहेको छ । रोशी गाउँपालिकामा यो अवधीमा २४ जनाले आत्महत्या गरेका छन् । पछिल्लो ६ महिनामा ५ जनाले आत्महत्या गरेका छन् ।

जसमा तीन जना पुरुष, एक जना महिला र एक जना बालक छन् । कुल संख्यामा ८ जना महिला, १४ जना पुरुष, एक जना बालक र एक जना बालिकाले आत्महत्या गरेका छन् । चाैंरीदेउराली गाउँपालिकामा यो अवधीको आत्महत्याको संख्या १५ रहेको छ ।

चालु वर्षको ६ महिनामा उक्त पालिकामा कसैले पनि आत्महत्या गरेका छैनन । अघिल्ला दुई वर्षको तथ्याङ्कमा पुरुष ९ र महिला ६ जना छन् । तेमाल गाउँपालिकामा आत्महत्या दुरुत्साहन सम्वन्धी मुद्दा एउटा मुद्दा दर्ता भएको छ । साढे २ वर्षको अवधीमा तेमालमा १० जनाले आत्महत्या गरेका छन् ।

४ पुरुष, ५ महिला र १ बालिका रहेका छन् । पनौती नगरपालिकामा चालु वर्षको ६ महिनामा कसैले पनि आत्महत्या गरेका छैनन । दुई आर्थिक वर्षमा २६ जनाले आत्महत्या गरेकोमा १७ पुरुष र ९ महिला छन् । विभिन्न कारणबाट ६१ जनाले यो दुई वर्षमा ज्यान गुमाएका छन् । पनौती नगरपालिकामा तथ्याङ्कको हिसावले आत्महत्या दर घट्दो क्रममा छ ।

बेथान्चोक गाउँपालिकामा चालु वर्षको ६ महिनाको तथ्याङ्कमा कसैले पनि आत्महत्या गरेका छैनन । दुई वर्षको तथ्याङ्कका आधारमा १७ जनाले आत्महत्या गरेका छन् । जसमा पुरुष ६ र महिला १० जना छन् भने एक जना बालक छन् । तथ्याङ्कले बेथान्चोकको आत्महत्या दर अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्ष घटेको छ ।

काभ्रेमा ३० महिनाको अवधीमा १३ वटा पालिकामा भएका घटनाको पूर्ण विवरण: आर्थिक वर्ष २०७७-२०७८, २०७८-२०७९ र २०७९-२०८० को पौष मसान्तसम्म)

 

श्रोतः जिल्ला प्रहरी कार्यालय काभ्रे

प्रतिक्रिया दिनुहोस्