स्वास्थ्य मन्त्री गिरी र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसबीच छलफल



स्विजरल्याड । विरामी सुरक्षा सम्बन्धी पाँचौ मन्त्री स्तरिय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा भेट गरेका छन् ।

भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको सहयोग लागि धन्यवाद दिएका छन् । विशेष गरी खोप कार्यक्रम पोलियोलगायत खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा गरेको सहयोगको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि मन्त्रीले उनलाई धन्यवाद दिएका हुन् ।

भेटमा २०७२ सालको भुकम्प हैजा प्रकोप कोभिड महामारी र कोभिड खोप नेपालका लागि उपलब्ध पुर्याउन खेलेको भूमिकाको लागि समेत मन्त्री गिरीले धन्यवाद व्यक्त गरे ।

मन्त्री गिरीले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रति जैविक औषधीको प्रतिरक्षा प्रणालीलगायतका हाल भईरहेका गतिविधिहरू विस्तार र आपसी सहकार्य समन्वय गर्ने कुरा राखेका थिए ।

विश्व स्वास्थ्य संगठनका समन्वय केन्द्ररहरू निर्माण र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वनका लागि मूल क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोगका कुराहरूका विषयमा भेटमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्