विद्यालयको प्राथमिकतामा शौचालय

0
Shares

काठमाडौँको मध्यभागमै रहेको एक उच्च माध्यमिक विद्यालयमा शौचालय गएका विद्यार्थीलाई कक्षाकोठामा ढिला फर्किएको भन्दै एक विषय शिक्षकले प्रवेश नदिएपछि उनीहरु अफिस कोठामा पंक्तिकारसँग शौचालयको समस्या बताउन आइपुगे । विद्यालयमा शौचालय थोरै भएकाले पालो कुर्दा कहिलेकाहीँ पाँच–दश मिनेट पढाइ छुट्ने गरेको गुनासोसमेत तिनले गरे । साँघुरो र फोहोर शौचालयमा एकैपटक धेरै विद्यार्थी छिर्ने र जथाभावी शौच गर्नाले फोहोर र दुर्गन्ध आफ्नै कक्षासम्म आइपुग्नाले दैनिक पठनपाठनमा असर पुगेको गुनासो पनि तिनले गरे । पर्याप्त शौचालय नहँुदा पालो नपाएर फर्कनुपर्ने र लामो समय शौच नगरी बस्नुपर्ने विवशता तिनले एक स्वरमा ओकले ।

शौचालय जाँदा सधैँ धकेलाधकेल हुने र पालो पर्खनुपर्ने भन्दै विद्यार्थीहरु पढाइको घन्टी नसकिँदै शौचालय जान हतारिने प्रवृत्ति अधिकांश विद्यालयहरुको साझा समस्या बनेको छ । छात्रभन्दा छात्राहरुलाई शौचालयको समस्या अझ बढी देखिन्छ । विशेषतः महिनावारीका समयमा शौचालयभित्र शौचको उचित व्यवस्था, प्याडको व्यवस्थापन र सरसफाइका लागि पर्याप्त पानी नहुँदा किशोरीहरु तनावमा देखिन्छन् । शौचालयको राम्रो व्यवस्था नहुँदा महिनावारीका समयमा विद्यालय जान हच्कने वा विद्यालय समय नसकिँदै सन्चो नभएको बहाना बनाई घरतर्फ कुद्छन् कतिपय छात्राहरु । त्यसैले महिनावारी भएका छात्राका लागि व्यवस्थित शौचालय अझ जरुरी हुन्छ भन्ने कुरा प्रत्येक विद्यालयले मनन गर्नै पर्छ । प्याड फेर्ने, सरसफाइ गर्ने तथा फेरेको प्याडको व्यवस्थापन गर्ने सुविधा शौचालयमा हुनै पर्छ ।

हाम्रा कतिपय विद्यालयका भवनहरु देख्दा भव्य देखिए पनि शौचालयको समस्या सबैजसो विद्यालयमा उस्तै छ । ठूला हुन् वा साना सबैजसो विद्यालयमा शौचलायको राम्रो व्यवस्था नहुनाले विद्यार्थीमा यौन तथा पिसाबसम्बन्धी रोगको जोखिम उत्तिकै छ । तर यसप्रति विद्यालय प्रमुखको उति चासो देखिँदैन । शौचालयमा चुकुल नभएर, धारो बिग्रिएर र ढोका राम्रोसँग नलागेर शौच गर्नै समस्या पर्ने गरेको कुरा विद्यार्थीले बारम्बार बताइरहे पनि विद्यालयले बेवास्ता गर्दै आएको गुनासो छात्रछात्राबाट आइरहन्छ । अझ कैयौँ विद्यालयमा त लामै समय शौचालय जाम भएर शौच गर्न समस्या भइरहेको तथ्य विद्यार्थीले ओकल्ने गरेका छन् । आफ्ना अभिभावकलाई समेत बताए पनि अभिभावक विद्यालयमा गएर यससम्बन्धी बोल्न चाहँदैनन् । काठमाडौँकै एक नाम चलेको निजी विद्यालयमा साँघुरो र अँध्यारो शौचालयको धारामा ठोक्किएर लड्दा एक विद्यार्थी घाइते भई १५ दिन अस्पताल भर्ना हुनुपरेको समाचार केही वर्षअघि बाहिरिएको थियो । नबाहिरिएका यस्ता घटना गुपचुप अवस्थामा थुप्रै होलान् । विद्यार्थी अनुपातमा आवश्यक शौचालय निर्माण नगरिँदा र भएका शौचालय पनि पानी, चुकुल र सरसफाइको उचित व्यवस्था नहुँदा दिनको सात–आठ घन्टा विद्यालयमा बिताउने विद्यार्थीले ठूलो सास्ती झेल्नुपरेको छ ।

शौचालय भन्नेबित्तिकै साँघुरो, अँध्यारो र फोहोर हुन्छ भन्ने हाम्रो मानसिकता छ । यस्ता शौचालयका कारण विद्यालयका स–साना बालबालिका अझ समस्यामा पर्ने गर्छन् । शौचालयको समस्याप्रति गम्भीर भएर विद्यालयहरुले तत्काल सुधार नगरिदिँदा विद्यार्थीमा शारीरिकका साथै मानसिक स्वास्थ्य समस्यासमेत थपिन सक्छ । नागरिकका घर–घरदेखि सार्वजनिक शौचालयको सरसफाइ र व्यवस्थाबारे सिकाउने हाम्रा विद्यालयमै शौचालयको अवस्था नाजुक हुनु विडम्बना हो । शहरबजारकै विद्यालयहरुमा यतिसम्म शौचालयको समस्या छ भने ग्रामीण क्षेत्रका विद्यालयमा शौचालयको अवस्था कस्तो होला ? ग्रामीण क्षेत्रका कैयौँ विद्यालय शौचालयविहीन छन् भने केही विद्यालयमा भएका शौचालय पनि प्रयोगविहीन छन् ।

विद्यालयका भवन निर्माणसँगै विद्यार्थी संख्याका आधारमा आवश्यक सुविधायुक्त शौचालय निर्माणमा प्रधानाध्यापकको ध्यान किन नगएको होला ? शौचालयको समस्याबारे पटक–पटक बताउँदा पनि प्रधानाध्यापकले बेवास्ता गरेको गुनासो विद्यार्थीबाट बाहिरिइरहन्छ । शौचालयमा सरसफाइ नभएको, पानीको उचित प्रबन्ध नभएको र चुकुल नभएको बारे प्रधानाध्यापकलाई बताउँदा बनाइदिने आश्वासन दिँदै शैक्षिक सत्र नै बित्ने गरेको गुनासो विद्यार्थीबाट आउने गरेको छ । कक्षाकोठासम्म बेलाबेलामा शौचालयको दुर्गन्ध आइपुग्दा शिक्षकहरु ढोका थुनेर पठनपाठन गराउँछन् तर यो समस्या प्रधानाध्यापकसमक्ष राखेर तत्काल समस्या निराकरण गर्न दबाब दिन सक्दैनन् । विद्यार्थीहरु हुर्रर पाँच–सातजना एकैपटक साँघुरा शौचालय छिर्छन् र हात नधोई खुर्र कक्षाकोठातिर दौडन्छन् । झाडापखाला, हैजा, पिसाब संक्रमणलगायतका अनेक रोग रोक्नका लागि सफा शौचालयको अवधारणा र निर्माण विश्वव्यापी आवश्यकता नै हो । अझ विद्यालय तहमा पढ्ने स–साना बालबालिकाका लागि त बेग्लै शौचालयसहित विशेष सुविधा र सरसफाइको जरुरी हुन्छ । शैक्षिक गुणस्तरमा आफ्ना विद्यालयको बखान गरेर नथाक्ने ती प्रधानाध्यापकहरुको ध्यान यतातर्फ कहिले खिचिएला ?

विद्यार्थीले गृहकार्य नगरे शौचालयमा लगेर थुनिदिन्छु भनेर त्रास देखाउने शिक्षक–शिक्षिकाहरु तिनले प्रयोग गर्ने शौचालय के–कस्तो छ भनेर हेर्नसम्म चाहँदैनन् । तीन वर्ष नपुग्दै नर्सरी कक्षामा बालबालिका भर्ना गर्न हतारो गर्ने विद्यालयहरुमा ती साना नानीहरुलाई शौचालयको व्यवस्था के–कस्तो छ भनेर अभिभावकहरु पनि चासो राख्दैनन् । साना बालबालिकाहरुका लागि सफा, सजिला र सुरक्षित शौचालय चाहिन्छ भन्ने हेक्का शुल्कका नाउँमा मासिक लाखौँ उठाउने निजी विद्यालय हुन् कि विद्यालय सञ्चालनका नाउँमा राष्ट्रिय ढुकुटीबाट वार्षिक करोडाँै खर्चने सरकारी विद्यालय हुन्, कसैमा देखिँदैन । शौचालयबाटै पिसाब संक्रमण र यौनरोगको समेत डर हुने भएकाले हाम्रा घर, विद्यालय, अस्पताल, मठमन्दिर, सार्वजनिक स्थल जहाँसुकै सफा, सुरक्षित र व्यवस्थित शौचालय निर्माणमा सबैको चासो र चिन्तन जरुरी छ । विद्यालयको शौचालय उज्यालो, फराकिलो हुनुका साथै पानी, सरसफाइ र डस्टबिनको समेत व्यवस्था हुनु आवश्यक छ । हाम्रो स्वास्थ्य सरोकारसँग जोडिएको शौचालयको सुविधा र सरसफाइका विषयमा प्रत्येक शैक्षिक संस्थाहरु संवेदनशील बन्नै पर्छ । स्वास्थ्य र सरसफाइबारे कक्षामा पढाउने तर शौचालयको उचित प्रबन्ध नगर्ने शिक्षालयहरुको निगरानी अब स्थानीय सरकारले गर्नै पर्छ । प्रत्येक गाउँपालिका तथा नगरपालिकामा आ–आफ्नो क्षेत्रका शैक्षिक संस्थाको अवलोकन, मूल्यांकन र परामर्श दिने शिक्षा समितिको व्यवस्था हुँदाहुँदै राजधानीकै मुटुमा रहेका विद्यालयका विद्यार्थीहरु शौचालयको चरम समस्याबारे गुनासो गर्छन् भने अन्य विद्यालयहरुको हालत के होला ?

हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउँदै आइएको छ । सोही दिवसका अवसर पारी हामीले पनि सार्वजनिक स्थल र शैक्षिक संस्थाहरुमा शौचालय निर्माण र व्यवस्थापनको सम्बन्धमा कार्ययोजना अघि बढाउन सकिन्थ्यो । तर यसतर्फ कसैको ध्यान खिचिएको देखिएन । अझ विडम्बना त शौचालय भन्नेबित्तिकै हामी फोहोर ठाउँ भन्ने सम्झन्छौँ र त्यसलाई फोहोर नै छाडिदिन्छौँ । हाम्रा मठमन्दिर, अस्पताल, सिनेमा हल र सार्वजनिक स्थानका शौचालयहरु शौचका लागि भित्र पस्नै नसकिने फोहोर र दुर्गन्धित छन् । दिनभरि शहरबजार घुम्ने र व्यापार व्यवसाय गर्नेहरुका लागि ठाउँ–ठाउँमा शौचालय निर्माण गरी सरसफाइ र पानीको उचित प्रबन्ध गर्न कुनै सरकारको ध्यान पुगेको देखिएन । मठमन्दिरमा भएका शौचालयको अवस्था त झन् नाजुक नै छ । विश्व स्वास्थ्य संगठनको सन् २०१५ को तथ्यांक अनुसार विश्वभर अढाइ करोड मानिसले अझै पनि शौचालय प्रयोग नगरेको देखिएको छ । हाल विश्वका करिब १० जनामध्ये एकजनाले शौचालयमा शौच गर्ने अवसर नपाएको तथ्यांक छ । शौचालयको महत्व बुझाऔँ भन्ने नारासहित गत नोभेम्बर १९ मा विश्वभर शौचालय दिवस मनाइए पनि हामीकहाँ स्वास्थ्य र सरसफाइको पाठ सिकाउने शैक्षिक संस्थाहरु नै यसप्रति गैरजिम्मेवार देखिएका छन् । सन् २०३० सम्म विश्वका सबैलाई शौचालयको सुविधा उपलब्ध गराउने विश्व स्वास्थ्य संघको लक्ष्य हासिल गर्न सर्वप्रथम हरेक देशले विद्यालयबाटै व्यवस्थित शौचालयको अवधारणा अनिवार्य लागू गराउनुपर्छ र यसलाई प्रत्येकका घरदेखि सार्वजनिक स्थल, मठमन्दिरलगायत हरेक क्षेत्रमा व्यवस्थित गर्दै लैजानुपर्छ ।

अघिल्लो वर्ष पारिवारिक भेटघाटका लागि अमेरिका जाँदा त्यहाँको शौचालयको सरसफाइ र सुव्यवस्था देख्दा नेपालका अधिकांश शौचालय सम्झेर ग्लानि भयो । त्यहाँ शौचालयमा शौच गर्ने, हात धुने र नुहाउने छुट्टाछुट्टै व्यवस्थाले शौचालयको सुन्दरता र सफाइ बेग्लै देखिन्थ्यो । ती सफासुग्घर र फराकिला शौचालयमा स–साना गलैँचा नै बिछ्याइएको देख्दा मन नै फुरुंग भएथ्यो । सरसफाइका लागि टिस्यु पेपरको अत्यधिक प्रयोग र नुहाउनका लागि छुट्टै बाथटबको प्रयोग गरी गलैँचा बिछ्याएर शौचालयको सौन्दर्य बढाएको देखेर ठूला देशका ठूलै चाला भन्ने उक्तिको स्मरण गरायो । शौचालयको सुप्रबन्ध र सरसफाइ हाम्रो सभ्य समाजको एउटा अभिन्न अंग पनि भएकाले अब हामीले पनि भावी पुस्तालाई समेत शौचालय सफा, स्वच्छ र सुव्यवस्थित बनाउन प्रोत्साहित गर्नुपर्छ ।

२०७२ सालको भूकम्पपछि विद्यालयको भौतिक पूर्वाधारमा ठूलो सुधार भएसँगै सुव्यवस्थित शौचालय निर्माण कार्यलाई पनि प्राथमिकता दिनुपर्ने हो । स्थानीय निकायको पहलमा हरेक शैक्षिक संस्थाहरुमा शौचालयको सुविधा के–कस्तो छ, निरीक्षण गरी आवश्यक परामर्श र दबाब दिने रणनीति कार्यान्वयन गर्न ढिलो भइसकेको छ । हाम्रो स्वास्थ्य सरोकारसँग जोडिएको शौचालयको सुविधा र सरसफाइका विषयमा प्रत्येक शैक्षिक संस्थाहरु संवेदनशील बन्नै पर्छ । स्वास्थ्य तथा शारीरिक शिक्षामा हाम्रो स्वास्थ्य र सरसफाइबारे कक्षामा पढाउने तर शौचालयको उचित प्रबन्ध नगर्ने शिक्षालयहरुको निगरानी अब स्थानीय निकायहरुले गर्नै पर्छ । सरकारी विद्यालयमा मात्र होइन, अब निजी तथा अर्धसरकारी विद्यालयहरुमा समेत न्यूनतम लगभग ३५ देखि ४० विद्यार्थी बराबर एक शौचालयको अवधारणा अनिवार्य लागू गराउन स्थानीय निकायहरु जुट्नुपर्छ । स्थानीय निकायले विद्यालयमा शौचालयसम्बन्धी न्यूनतम मापदण्ड बनाई सहज र सफा शौचालय निर्माणमा प्रत्येक विद्यालयलाई घचघच्याउन ढिलो भइसकेको छ । उत्तम विद्यालयका लागि व्यवस्थित शौचालय निर्माणमा जोड दिनै पर्छ । विद्यालय सुधार कार्यक्रम अन्तर्गत शैक्षिक गुणस्तर वृद्धि र भौतिक संरचनामा सुधारसँगै शौचालयको उचित प्रबन्ध गर्न अबको यो सरकारले प्रभावकारी योजना र रणनीतिका साथ अघि बढ्न जरुरी छ ।