भारतद्वारा २ सय थान डायलासिस मेसिन प्रदान



काठमाडौं । भारतले नेपाललाई २ सय थान मिर्गौला डायलासिस मेसिन उपलब्ध गराएको छ ।

स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित एक समारोहमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई २ सयमध्ये २० थान उपकरण हस्तान्तरण गर्नुभयो । बाँकी १ सय ८० थान मेसिन छिट्टै नेपाल भित्रिने दूतावासले जनाएको छ ।

धेरै मानिसले समयमै डायलासिस सेवा नपाइरहेको अवस्थामा भारत सरकारबाट प्राप्त २ सय थान डायलासिस मेसिनले धेरै हदसम्म समस्या समाधान हुने भन्दै मन्त्री गिरीले भन्नुभयो– ‘हामीले आवश्यक ठाउँमा यी मेसिन पु¥याउन सकेमा डायलासिसका लागि समय पर्खिनुपर्ने समस्या हट्ने छ ।’

उहाँले नेपालको स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा भारतले गरेको सहयोग स्मरणीय रहेको उल्लेख गर्दै भन्नुभयो– ‘भारतले छिमेकीलाई प्राथमिकता दिने नीति लिएको छ । यो हाम्रो लागि खुसीको कुरा हो । भारतबाट स्वास्थ्य क्षेत्रमा जुन सहयोग आएको छ, त्यो हाम्रो लागि अमूल्य छ ।’

कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले अहिले उपलब्ध गराइएको मेसिन नेपाल सरकारले एक वर्षअघि माग गरेको बताउनुभयो । यो मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो– ‘यी मेसिनले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने दूतावासको विश्वास छ । नेपाल र भारत सरकारको सहकार्यमा विकासका काम भइरहेका छन्, सोही क्रममा नेपाल भारत मैत्री ट्रमा अस्पताल, बीपी कोइराला अस्पताल र विभिन्न परियोजनाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगको काम भइरहेको छ ।’

उहाँले सन् २००३ देखि भारत सरकारले साना परियोजनामार्फत नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको बताउनुभयो । भारतले विभिन्न समयमा गरी नौ सय ५० एम्बुलेन्स उपलब्ध गराइसकेको जानकारी दिँदै राजदूत श्रीवास्तवले छिट्टै एम्बुलेन्सको संख्या १ हजार पु¥याइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्