नेपाल समाचारपत्रकर्मी बानियाँ जनकल्याण मावि अक्षयकोषद्वारा सम्मानित

0
Shares

म्याग्दी ।

नेपाल समाचारपत्र राष्ट्रिय दैनिक म्याग्दीका संवाददाता प्रताप बानियाँ आज (शुक्रवार) सम्मानित हुनुभएको छ । बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको अवसरमा संवाददाता बानियाँ सम्मानित हुनुभएको हो ।

संवाददाता बानियाँलाई जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ सञ्चालन गर्नको लागि अक्षयकोष स्थापनामा पत्रकारिताको माध्यमबाट पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मूल्याङ्कन गर्दै जनकल्याण मावि अक्षयकोषद्वारा उत्कृष्ट पत्रकारको रुपमा सम्मान गरिएको विद्यालयले जनाएको छ ।

म्याग्दीको क्रियाशील पत्रकार समेत रहनुभएका संवाददाता बानियाँलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँ र जनकल्याण मावि अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीले अबिरको टिका तथा फुलको माला लगाएर सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

बेनी नगरपालिका–५, चिप्लेटीका बानियाँ म्याग्दीको बेनीमा बसेर विगत एक दशकदेखि पत्रकारिता गर्दै आउनुभएको छ । उहाँ राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा आबद्ध हुनुहुन्छ ।

यसैगरी विद्यालयको अक्षयकोष स्थापनामा सहयोग पुर्‍याउने विभिन्न व्यक्ति र संस्थालाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा सर्वोत्कृष्ट चन्दादाता गोपाल बानियाँ, ज्येष्ठनागरिकद्वय दधिलाल पौडेल, पुतली किसान, सहयोगदाता बलराम बानियाँ, सक्रिय सदस्यहरु यामकुमारी श्रेष्ठ र भगवती पौडेल रहनुभएको छ ।

त्यस्तै संस्थागततर्फ पानीपँधेरा सामुदायिक वन उपभोक्ता समिति र शिवालय आमा समूह पुलाचौरलाई पनि सम्मानपत्रले सम्मान गरिएको थियो ।

२०७५ सालमा स्थापना भएको जनकल्याण मावि अक्षयकोषमा हाल मानार्थ, यशस्कर, विशिष्ट र आजीवन सदस्यसहित कुल १ सय ३ जना सदस्यहरु आबद्ध छन् । हालसम्म अक्षयकोषमा कुल रकम ४७ लाख ६३ हजार पाँचसय ११ रुपैयाँ बचत रहेको छ ।