धुलिखेल नगरपालिकाको ३७ औं स्थापना दिवस

0
Shares

काभ्रे।

धुलिखेल नगरपालिकाको ३७ औ स्थापना दिवस काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति एवं धुलिखेल अस्पतालका संस्थापक प्रा.डा. रामकण्ठ माकजुको प्रमुख आतिथ्यता तथा नगर प्रमुख अशोक ब्याञ्जुको सभापतित्वमा सम्पन्न भएको छ ।

स्थापना दिवसको अवसर पारेर नगरपालिकाले सपिङ कम्प्लेक्स र साक्षरता स्तम्भ उद्घाटन गरेको थियो भने विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरेको थियो ।

नगर परिक्रमा सहित सभामा परिणत भएको उक्त कार्यक्रममा नगरपालिकाका गतिविधि समेटिएको पुस्तक विमोचन गरिएको छ । धुलिखेल रत्नबाट धुलिखेल अस्पतालका विशेष चिकित्सक डा.रामबहादुर गुरुङ, धुलिखेल नक्षत्रबाट पूर्व जनप्रतिनिधिहरुको तर्फबाट पूर्व नगर उपप्रमुख सुवासकाजी श्रेष्ठ, धुलिखेल प्रज्ञाश्रीबाट सामाजिक क्षेत्रमा कार्यरत व्यक्तित्व हरिभक्त खोँजु, धुलिखेल सेवाश्रीबाट धुलिखेलको होटल सारथी, धुलिखेल ताराबाट गौरीशंकर साना किसान कृषि सहकारी धुनपा १२, अरविन माकजु, रोटरी क्लब अफ धुलिखेल, ईलमचा छें, श्री नेपाल अटोमोवाईल एशोसियसन सम्मानित भएका छन् ।

जनसेवाश्रीबाट पञ्चकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक प्रकाश हुमागाईँ सम्मानित भए । त्यस्तै कर्मचारीको तर्फबाट श्रीविक्रम ब्याञ्जु सम्मानित भए । बाबुआमा विहीन नगर भित्रका २१ जना बालबालिकाहरुलाई प्रतिव्यक्ति ४ हजार ५ सय ७५ रुपैयाँका दरले सम्मान गरिएको छ । दीर्घ सेवा सम्मानबाट मन्दिलकृष्ण श्रेष्ठ, उद्धवप्रसाद हुमागाईँ, सूर्यबहादुर तामाङ र हरिचन्द्र बस्नेतलाई सम्मान गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने तर स्वेच्छीक रुपमा भत्ता नलिने घोषणा गर्ने धुलिखेल ५ का हरिमाया प्रधान, सानुकाजी प्रधान र भोजकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । विभिन्न विद्यालय तथा संघ संस्थाहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्मानित ब्यक्ति डा. राम गुरुङ, प्रमुख अतिथी डा. रामकण्ठ माकजु र नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेलको समग्र विकासमा नगरवासी र नगरपालिकाले गरेको गतिविधिका बारेमा मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा, पूर्व उपकुलपति प्रा.डा शुरेशराज शर्मा, विभिन्न पालिकाका जनप्रतिनिधिहरु सहभागी थिए ।